यातायातका फाइल ‘डिजिटलाइज’ गरिँदै- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यातायातका फाइल ‘डिजिटलाइज’ गरिँदै

कान्तिपुर संवाददाता

कास्की — यातायात व्यवस्था कार्यालय कास्कीमा रहेका सबै फाइल र ढड्डा विस्थापित गरी डिजिटलाइज गरिने भएको छ । लाखौंको संख्यामा रहेका ढड्डा र फाइलका कारण भनेको बेलामा फेला पार्न नसकिने, हराउने र कतिपय नष्टसमेत हुँदै गएपछि कार्यालयले विस्थापितको योजना बनाएको हो ।


कार्यालयका अनुसार ढड्डा र फाइलका सबै पानाहरू स्क्यानिङ गरी डाटा बेसमा राखिनेछ र तीनमा भएका सबै विवरण सफ्टवेयरमा इन्ट्री गरिनेछ । इन्ट्री गरिएका विवरण र स्क्यानिङ इमेजलाई सर्भरमा राखेर प्रत्येक कर्मचारीको कम्प्युटरमा आवश्यक परेका बेला हेर्न मिल्ने बनाइनेछ । ‘यसले फाइल, ढड्डा खोज्ने झन्झटको अन्त्यसँगै हराउने, नासिने, कुहिनेबाट जोगिनेछ,’ कार्यालय प्रमुख डिल्लीराम रिजालले भने, ‘कार्यालयबाट प्रवाह हुने सेवा पनि चुस्त हुनेछ । सबै प्रकारको व्यवस्थापनमा सहज हुनेछ ।

साथै सबै प्रकारका बिचौलियाको अनावश्यक प्रवेश रोकिने र सेवाग्राही ठगिने वातावरणको अन्त्य हुनेछ ।’ उनका अनुसार यसरी डिजिटलाइज गर्न लागिएको देशभरिमै पहिलो हो । यो कामका लागि गण्डकी प्रदेश सरकारले साढे ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

कार्यालयका अनुसार डिजिटलाइजका लागि आशयपत्र माग गरिएकामा ७ वटाको आवेदन परेको र मूल्यांकन गरी ४ वटाको संक्षिप्त सूची सार्वजनिक गरिएको छ । संक्षिप्त सूचीमा परेका संस्थालाई मंसिर ८ भित्र आर्थिक र प्राविधिक प्रस्ताव पेस गर्न आह्वानसमेत गरिएको छ । प्रस्ताव आएपछि एउटालाई छनोट गरी चालु आर्थिक वर्षभित्रै काम फत्ते गर्ने रिजालले बताए ।

यसै गरी सेवा प्रवाहमा सरलीकरण र प्रविधिको प्रयोगका लागि भौतिक पूर्वाधार आकर्षक र सेवाग्राहीमैत्री बनाउन पनि कार्यालय लागेको उनको भनाइ छ । यसका लागि पनि प्रदेश सरकारले डेढ करोड रुपैयाँ विनियोजन गरेको छ । सेवालाई एकद्वार प्रणालीमा ल्याउने तयारी रहेको उनले सुनाए । यसले अहिलेजस्तो २/३ ठाउँमा लाइन बस्नुपर्ने अवस्थाको अन्त्य हुने दाबी उनको छ ।

प्रकाशित : मंसिर १०, २०७८ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्

काठमाडौंबाट रक्तचन्दनको ३३ लिटर तेलसहित १० जना पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रहरीले रक्तचन्दनको ३३ लिटर तेलसहित १० जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको तिलगंगाबाट उनीहरूलाई पक्राउ गरेको हो ।

महाशाखा प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार पक्राउ पर्नेहरूमा खोटाङका घनश्याम आलेमगर र जीवन थापा, तनहुँका सुदीप ठडराई, काठमाडौंका अनिलचरण श्रेष्ठ, अनुपकुमार श्रेष्ठ, यिक्रम श्रेष्ठ र मदन पोडे, सिन्धुलीका हेमकुमार श्रेष्ठ, मकवानपुरका मंगलसिंह लो र काभ्रेका कर्साङ लामा रहेका छन् ।

तस्करबाट संकलन गरिएको उक्त तेल प्रतिलिटर ५ लाख रुपैयाँका दरले बिक्री गर्न लागिएको प्रहरीले बताएको छ । रक्तचन्दन र यसबाट बनेका सामग्रीको ओसारपसार नेपालमा प्रतिबन्धित छ ।

पछिल्लो समय रक्तचन्दनको काठ नियन्त्रणमा प्रहरीको सक्रियता बढेपछि तस्करले यसबाट बनेका अन्य सामग्रीको कारोबार बढाएका छन् । महाशाखाले पक्राउ परेका १० जनाविरुद्ध अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ ।

प्रकाशित : मंसिर १०, २०७८ १०:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×