पूर्वी नवलपरासीमा कांग्रेस क्षेत्रीय समितिको मतगणना रोकियो

नारायण शर्मा

पूर्वी नवलपरासी — जिल्लाको क्षेत्र नम्बर २ मा क्षेत्रीय समितिको मतगणना रोकिएको छ । क्षेत्रीय सभापतिका २ उम्मेदवारको मत बराबर भएपछि पुन:मत गणना गर्ने सहमति भएको थियो । मतगणना सकिएको ३६ घण्टा बितिसक्दा पनि उम्मेदवार र प्रतिनिधि मतगणनास्थल (कांग्रेस पार्टी कार्यालय कावासोती) मा नआएका कारण निर्वाचन समितिका प्रतिनिधिले गणना सुरु गर्न सकेका छैन । 

बुधबार बिहान ५ बजे क्षेत्रीय सभापतिका उम्मेदवार सूर्य गुरुङको ३९४ र जगत कार्कीको पनि ३९४ मत भएपछि उम्मेदवारकै सहमतिमा पुन: मतगणना गर्ने निधो भएको थियो । कार्की कांग्रेस सभापति शेरबहादुर देउवा खेमाबाट र गुरुङ वरिष्ठ नेता पौडेल पक्षबाट उम्मेदवार बनेका थिए । मतपेटिका जिल्ला प्रहरी कार्यालय कावासोतीमा राखिएको छ । त्यो (क्षेत्र नम्बर २ ) क्षेत्रको मतदान चोरमाराको स्कुलमा भएको थियो ।

मतदान अधिकृत हरिप्रसाद देवकोटाले दुवै उम्मेदवारले पुन: मतगणना गर्ने लिखित सहमति गरेका कारण गन्न रोकिएको हो । मतगणनाका लागि उम्मेदवार वा निजका प्रतिनिधिको रोहवरमा गन्न पर्ने प्रावधान छ । देवकोटाले भने, 'हामी पार्टी कार्यालयमा गणनाका लागि आएका छौं, उम्मेदवारलाई चासो छैन ।'

अधिवक्ता गणेश अधिकारीले सहमति कायम गरेर नतिजा सार्वजनिक गर्न खोज्दा ढिलाई भएको प्रतिक्रिया दिए । 'कांग्रेसको विधानमा उम्मेदवारको बराबरी मत हुँदा गोला प्रथाबाट निर्णय लिन पर्ने प्रस्ट व्यवस्था छ । गोला प्रथाबाटै निर्णय लिन पर्ने हो । गोलाप्रथाबाट काम सक्नु पर्थ्यो,' अधिवक्ता अधिकारीले भने, 'निर्वाचन समितिले गल्ती गर्‍यो ।'

'शुक्रबार जिल्ला समिति नेतृत्वका लागि मनोनयन भएकोले हाम्रो दौडधुप त्यतै छ,' उम्मेदवार सूर्य गुरुङले भने, 'अरु धेरै नबोलम् त्यो गनिँदै गर्छ ।'


प्रकाशित : मंसिर ९, २०७८ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?