१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

कांग्रेस महाधिवेशन : देउवा पक्षकै दुई प्यानल

अगन्धर तिवारी

पर्वत — कांग्रेसको चौधौं अधिवेशनअन्तर्गत पर्वतको जिल्ला अधिवेशन एकै समूहका दुई प्यानलको प्रतिस्पर्धा हुने देखिएको छ । केन्द्रमा संस्थापन (देउवा) पक्षमा देखिएका जिल्ला नेताकै दुई प्यानल जिल्ला सभापतिको चुनावी मैदानमा होमिएका छन् । जिल्लामा पुराना देउवा र नयाँ देउवा समूहबीच प्रतिस्पर्धाको चर्चा छ ।

कांग्रेस महाधिवेशन : देउवा पक्षकै दुई प्यानल

पौडेल समूहको कमजोर उपस्थिति रहेको भए पनि उक्त समूहले नयाँ देउवा समूहका उम्मेदवारलाई सघाएको छ । १३ औं महाधिवेशनअघि कोइराला समूहमा सक्रिय अर्जुन जोशी एकाएक देउवा समूहमा लागेका थिए ।

देउवा समूहमै लागेका कारण केन्द्रीय सदस्यमा मनोनीत भएका जोशीकै भाइ युवराज जोशी चुनावी प्रतिस्पर्धामा छन् । उनको प्रतिस्पर्धी बन्न लामो समयदेखि देउवा समूहमा सक्रिय नवराज गुरुङ, खगेन्द्रप्रसाद तिवारी, राम शर्मा पौडेललगायत समूहले हालका जिल्ला कोषाध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) लाई प्रतिस्पर्धामा उतारेको छ । मल्ल यसअघि लामो समयसम्म अर्जुन जोशीकै समूहमा थिए ।

सभापतिका लागि फरकफरक प्यानलबाट जोशी, मल्ल र एकल रूपमा मिलन सुवेदीले उम्मेदवारी दिएका छन । तीनैजना यसअघि देउवा समूहका थिए । मल्लले अर्जुनप्रसाद जोशीका साथ छाडेर देउवा समर्थक जोशीकै विरुद्धमा टक्कर गर्दैआएका नवराज गुरुङ, खगेन्द्रप्रसाद तिवारी, राम शर्मा पौडेललगायत समूहको समर्थनमा उम्मेदवारी दिएका हुन । नेबिसंघका जिल्ला अध्यक्ष मिलन सुवेदीले युवाको प्रतिनिधित्व गरेको भन्दै स्वतन्त्र रूपमा चुनावी मैदानमा उभिएको बताए ।

उपसभापतिमा युवराज जोशीको प्यानलबाट डा. चूडामणि शर्मा र शिवप्रसाद सुवेदी तथा मल्लको प्यानलबाट कमलराज शर्मा पौडेल र गोविन्दप्रसाद पाध्याले उम्मेदवारी दिएका छन् । सचिवमा जोशीको प्यानलबाट गुप्तनिधि शर्मा र अशोकउचै ठकुरी र मल्लको प्यानलबाट कमल अधिकारी र पानबहादुर हमाल (सन्तोष) उमेदवार छन् । स्थानीय पत्रकार ओमप्रसाद घायल र सामाजिक कार्यकर्ता मोहन आचार्यले सचिवमै स्वतन्त्र उम्मेदवारी दिएका छन् । सहसचिवमा अच्युत तिवारी, परशुराम पुरी, पंकज क्षेत्री र तिलकप्रसाद भुसालको उम्मेदवारी छ ।

यसैगरी कांग्रेसको चौधौं महाधिवेशनअन्तर्गत कास्कीका तीन प्रतिनिधिसभा क्षेत्रमध्ये २ वटामा पौडेल र एउटामा देउवा पक्षधर सभापतिमा निर्वाचित भएका छन् । कास्की क्षेत्र नम्बर १ को सभापतिमा राजेन्द्रमणि लामिछाने निर्वाचित भए । सचिवमा सरोज केसी र ओमप्रकाश गुरुङ विजयी भए । सहसचिवमा सुजाता गुरुङ र मोती गिरी निर्वाचित भए ।

क्षेत्र नम्बर २ को सभापतिमा पौडेल पक्षकै केशरप्रसाद निर्दोषी निर्वाचित भए् । सचिवमा देवकृष्ण पराजुली र महेन्द्र अधिकारी, सहसचिवमा भावना श्रेष्ठ र विश्वराज आचार्य विजयी भए । क्षेत्र नम्बर ३ मा संस्थापन (देउवा) पक्षका मनोज गुरुङ निर्वाचित भए । उनले प्रतिस्पर्धी पौडेल पक्षका खिमलाल बाँस्तोलालाई हराएका हुन् । सचिवमा लेखबहादुर तामाङ र लक्ष्मीप्रसाद पौडेल, सहसचिवमा शीतल अधिकारी र आइन्दल गुरुङ निर्वाचित भए ।

तनहुँ १ मा मौराती र २ मा खनाल

कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि भएको अधिवेशनबाट जिल्लाका दुईवटै निर्वाचन क्षेत्रमा पदाधिकारी तथा महाधिवेशन प्रतिनिधिहरू निर्वाचित भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पौडेलनिकट रहेर जिल्ला सभापति वैकुण्ठ न्यौपाने र केन्द्रीय सदस्य प्रदीप पौडेल पक्षको एउटा प्यानल र संस्थापन निकटका केन्द्रीय सदस्यहरू शंकर भण्डारी, गोविन्द भट्टराई र ध्रुव वाग्ले पक्षको प्यानलबीच चुनावी प्रतिस्पर्धा भएको थियो ।

क्षेत्र नम्बर १ मा पौडेल निकट समूहको प्यानलका उम्मेदवार श्याम मैराती सभापतिमा निर्वाचित भए । उनको प्यानलै विजयी भएको हो । यस्तै, क्षेत्र नम्बर २ को सभापतिमा संस्थापन पक्षका उम्मेदवार चूडामणि खनाल निर्वाचित भएका छन् ।

प्रकाशित : मंसिर ८, २०७८ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?