सवारी दुर्घटनामा युवकको मृत्यु- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सवारी दुर्घटनामा युवकको मृत्यु

कान्तिपुर संवाददाता

गोरखा — तनहुँको भन्सारमा मंगलबार भएको सवारी दुर्घटनामा गोरखाको पालुङटार नगरपालिका–४ का २४ वर्षीय सुवर्ण देवकोटाको मृत्यु भएको छ।

पालुङटारबाट तनहुँको डुम्रेतर्फ जाँदै गरेका देवकोटाको वा ४५ प २३८३ नम्बरको स्कुटीलाई सोही दिशाबाट आउँदै गरेको ना ६ ख ९१३४ नम्बरको बसले तनहुँको भन्सारमा उछिन्ने क्रममा ठक्कर दिएको इलाका प्रहरी कार्यालय भानु डुम्रेका सई डम्बर क्षेत्रीले बताए ।

पछाडिको चक्कामा ठोक्किएर घाइते भएका देवकोटालाई डुम्रेस्थित मोति अस्पतालमा उपचारपछि थप उपचारको लागि तनहुँको दमौली अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको उनले बताए ।

२४ वर्षीय देवकोटा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी पालुङटार नगर कमिटीका संयोजक समेत थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर ७, २०७८ २१:३४
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेसको मतगणना स्थलमा गोली चल्यो, दुई प्रहरीसहित ७ घाइते

शमशेरविक्रम जीसी

प्यूठान — नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्युठान जिल्ला अधिवेशनको मतगणना स्थलमा गोली चलेको छ । मतगणनाको क्रममा पौडेल–सिटौला पक्षका उम्मेदवार विष्णुकुमार गिरीले अग्रता लिएपछि युवाहरुको समूहले मतगणनास्थल स्वर्गद्वारी क्याम्पसमा ढुंगा प्रहार गरेका थिए ।

मतपरिणममा असन्तुष्टि जनाउँदै युवाहरुले मतगणनास्थलमा आक्रमण गर्न थालेपछि प्रहरीले गोली चलाएको थियो । प्रदर्शनले उग्र रुप लिएको भन्दै स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ७ सेल अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी देविप्रसाद गैरेले जानकारी दिए । झडपका क्रममा प्रहरीसहित ७ जना घाइते भएका छन । घाईतेहरुलाई उपचारका लागि प्युठान जिल्ला अस्पताल बिजुवार ल्याइएको छ ।

आक्रमणपछि अहिले मतगणना कार्य स्थगित भएको छ । स्थिती समान्य रहेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए । ६५ मत गणना गर्न बाँकी हुँदा उक्त घटना भएको उनले इकान्तिपुरलाई बताए ।

निर्वाचनमा देउवा पक्षबाट शिव रिजाल सभापतिका उम्मेद्वार रहेका छन् । पौडेल-सिटौला पक्षबाट गिरी मैदानमा छन् । यो समाचार तयार पार्दा सम्म जिल्ला सभापति पदका लागि खसेको कूल १०६५ मतमध्ये एक हजार मत गणना हुँदा गिरी ६६ मतले अघि छन् । गिरी पक्षले विजयी घोषणा गरी खुशी मनाइरहेका छ भने रिजाल पक्षले असन्तुष्टि जनाउँदै नाराबाजी गरिरहेको छ ।

प्रकाशित : मंसिर ७, २०७८ २१:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×