१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पर्वतमा संस्थापन पक्ष बलियो

बागलुङ र पूर्वी नवलपरासीमा भने पौडेल समूह अगाडि
अगन्धर तिवारी

पर्वत — कांग्रेसको चौधौं महाधिवेशनअन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनको परिणामले जिल्लामा संस्थापन (देउवा) पक्षको वर्चस्व रहन पुगेको छ । देउबा पक्षमा पनि अर्जुनप्रसाद जोशी र नवराज गुरुङ गरी दुई खेमा रहेका थिए । तेह्रौं महाधिवेशनमा देउवा समूहमा लागेका केन्द्रीय सदस्य जोशीनिकट उम्मेदवार विजयी भएका हुन । 

पर्वतमा संस्थापन पक्ष बलियो

प्रदेश क्षेत्र क मा जोशी समूहका राजकुमार क्षत्री निर्वाचित भए । क्षत्री समूहबाटै चुनाव लडेका जीतबहादुर पुन र दुर्गादेबी शर्मा उपसभापतिमा निर्वाचित भए । सचिवमा केशवप्रसाद उपाध्याय र बलबहादुर पुर्जा पुन विजयी भए । सहसचिवमा टेकनारायण आचार्य र दया सुवेदी विजयी भए । दुवै क्षेत्रमा निर्वाचित प्रदेश प्रतिनिधिमा पनि जोशीनिकट समूहकै प्यानलको वर्चस्व छ । प्रदेश क्षेत्र खमा जोशीनिकटकै प्रवीन गुरुङ सभापतिमा चुनिए । उपसभापतिमा लक्ष्मीकुमारी शर्मा र गंगाप्रसाद भुसाल विजयी भए । सचिवमा छविलाल तिवारी र ठाकुर रसाइली विजयी भएका छन् । दुवै जना सचिव भने फरक समूहबाट विजयी भए । सहसचिवमा युवराज भुसाल र निर्मलाकुमारी शर्मा विजयी भएका छन् ।

बागलुङका ४ प्रदेश क्षेत्रमध्ये तीनवटामा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका सभापति विजयी भएका छन् । क्षेत्र नं. १ को कमा संस्थापनका हरिबहादुर जीसी (सन्तोष) सभापतिमा निर्वाचित भए । यस क्षेत्रमा संस्थापनकै सबै प्यानल विजयी भएको हो । यसैगरी क्षेत्र नं. १ खमा पौडेल पक्षका दलबहादुर श्रीश सभापति बने । पदाधिकारीमा पौडेल पक्षको प्यानलै विजयी भएको हो । क्षेत्र नम्बर २ को कमा पौडेल समूहका तिलक घर्ती निर्विरोध निर्वाचित भए । अन्य पदाधिकारी र प्रतिनिधिमा संस्थापन इतरको बाहुल्यता छ । यसैगरी २ को खमा पनि पौडेल समूहका मेषलाल शर्मा सभापति विजयी भएका छन् । उनको नेतृत्वमा यहाँ पनि पौडेल समूहकै बाहुल्यता छ ।

सोमबार हुने संघीय–क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधिको निर्वाचनमा पनि दुवै पक्षका प्यानलले प्रतिस्पर्धा गर्दै छन् । क्षेत्र नं १ का संस्थापनका खड्ग थापा र पौडेल समूहका चण्डीप्रसाद शर्मा प्यानल चुनावमा लड्दै छन् । क्षेत्र नं. २ मा भने अहिलेसम्म जोकलाल बुढाले मात्रै उम्मेदवारी घोषणा गरेका छन् । उनी संस्थापनइतर समूहका हुन् ।

जिल्ला सभापतिका लागि पनि अहिलेसम्म ५ जना प्रतिस्पर्धी देखिएका छन् । वर्तमान सभापति दीपेन्द्रबहादुर थापा, पूर्वउपसभापति जगदीशचन्द्र उपाध्याय, पार्टी सचिव नवराज पौडेलसहित जगन्नाथ आचार्य र द्रोण कुँवरले प्रचार गरिरहेका छन् । उपाध्याय पौडेल समूह र पौडेल सिटौला समूहका हुन् । अन्य तीन जना संस्थापन पक्षका हुन् । महाधिवेशन प्रतिनिधिका लागि भने बागलुङमा झन्डै १ सय जना प्रतिपर्धी छन् । तीमध्ये खुला र आरक्षण समेत गरी ४९ जना निर्वाचित हुन पाउने व्यवस्था छ ।

पूर्वी नवलपरासीका ४ प्रदेश निर्वाचन क्षेत्रमध्ये २ वटामा पौडेल र एक–एक वटामा देउवा र शशांक कोइरालानिकटका उम्मेदवारले सभापतिमा विजय हासिल गरेका छन । निर्वाचन क्षेत्र नम्बर १ कमा गोपाल सापकोटा र खमा हेमप्रसाद पाण्डे सभापतिमा निर्वाचित भए । सापकोटा पौडेल र पाण्डे कोइराला पक्षका हुन । यसैगरी निर्वाचन क्षेत्र नम्बर २ को क मा रामचन्द्र भण्डारी र खमा कृष्णप्रसाद तिवारी सभापति चुनिए । भण्डारी पौडेल र तिवारी देउवा पक्षधर हुन् । चारवटै क्षेत्रमा पदाधिकारी र प्रदेश प्रतिनिधिमा पनि देउवा, पौडेल र कोइराला पक्षधरको मिश्रित परिणाम आएको छ ।

प्रकाशित : मंसिर ७, २०७८ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?