गणक घरदैलो पुग्दा गाउँ रित्तै- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गणक घरदैलो पुग्दा गाउँ रित्तै

घनश्याम खड्का

म्याग्दी — चिसो बढेपछि उपल्लो मुस्ताङका स्थानीय बेंसी झरिसकेका छन् । गाउँमा कुरुवा, असक्त र वृद्धवृद्धा मात्रै छन् । स्थानीय चिसो छल्न बेंसी झरेपछि राष्ट्रिय जनगणनाका लागि गाउँ पुगेका गणकहरूलाई घरपरिवारको संख्याबाहेक अन्य विवरण लिन समस्या भएको छ । जनगणना कात्तिक २५ देखि मंसिर ९ सम्म चल्नेछ ।

जाडोयामका ४ महिना बेंसीमा घुम्ती व्यापार गर्न मुस्ताङी व्यस्त हुन्छन् । जसका कारण उक्त क्षेत्रको जनगणना प्रभावित भएको हो । आफ्नो क्षेत्रका ६० प्रतिशत मात्रै स्थानीय बेंसीतर्फ झरेकाले जनगणना प्रभावित नहुने दाबी गर्छन् लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष राजु विष्ट । ‘घरमा कम्तीमा एक जना कुरुवा बस्ने भएकाले तथ्यांक लिन समस्या हुँदैन,’ आफैं पनि राजधानीमा रहेका विष्टले भने, ‘जनगणना प्रभावित नहोस् भनेरै गाउँपालिकाका सबै ५ वडामा स्थानीय गणक परिचालन गरिएको छ । थोरै जनसंख्या भएकाले टेलिफोनबाटै पनि विवरण लिन सकिन्छ ।’

घरपरिवारको संख्याबारे असोजमै सूचीकरण भइसकेको छ । हाल घुम्ती विद्यालयमा पनि जनगणनाका लागि छुट्टै गणक खटाइएको र स्थानीय गणक परिचालन गरिएकाले व्यक्तिगत विवरण संकलनमा आंशिक मात्रै प्रभाव पर्ने कार्यालय प्रमुख राजन पहाडी दाबी गर्छन् । गणक र सुपरभाइजर पदमा अनलाइनबाट दरखास्त दिन पाइने व्यवस्थाअनुसार उपल्लो मुस्ताङमा काठमाडौंलगायत सहरबाट समेत गणक खटिएका छन् । बाहिरी जिल्लाबाट आएका गणकका लागि फरक भाषा, संस्कृति र कठिन भूगोलका कारण जनगणना गर्न समस्या परिरहेको उनको भनाइ छ । ‘युवा र काम गर्न सक्ने व्यक्ति घरमा छैनन्, बुढापाकाले सबै सदस्यको विवरण टिपाउन सक्ने अवस्था नरहन पनि सक्छ । यसले धेरथोर समस्या अवश्य पारेको छ,’ उनले भने, ‘असोजमै सूचीकरण गरिसकिएकाले बाहिरी जिल्लाका गणकलाई तल्लो क्षेत्रमा परिचालन गरी माथिल्लो क्षेत्रमा स्थानीय गणक खटाएका छौं । घुम्ती व्यापारमा गएका कतिपयको टेलिफोनबाटै विवरण भराएका छौं ।’

मुस्ताङका लोमन्थाङ, लोघेकर–दामोदरकुण्ड र बाह्रगुङ–मुक्तिक्षेत्र गाउँपालिकाबाट बढी मात्रामा स्थानीय चिसो छल्न बेंसी झर्ने गर्छन् । मोटरबाटोको पहुँचले मुस्ताङी जनजीवनमा फेरबदल आए पनि जाडोयाममा बेंसी झर्नुको विकल्प भने टरेको छैन ।

प्रकाशित : मंसिर १, २०७८ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्

मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै

देवनारायण साह

मोरङ — प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले बुधबार प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । सभामुख प्रदीपकुमार भण्डारीले आज बिहान साढे ११ बजे बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत लिँदै छन् । 

प्रमुख प्रतिपक्षी दल एमाले अनुपस्थित भएपछि प्रदेश १ सभाको मंगलबारको बैठक स्थगित हुँदा मुख्यमन्त्री राईले विश्वासको मत लिन सकेका थिएन ।

विश्वासको मत लिनका लागि सत्तारुढ गठबन्धन दलले आफ्ना प्रदेश सांसदहरुलाई विराटनगरस्थित बिग होटल, रतना र इस्टर्न स्टार होटलमा राखेर हिृवप जारी गरेका छन् ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको पाँच दलीय गठबन्धनको समर्थनमा राई कार्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका हुन् । पाँच दलीय गठबन्धनको ५० जना सांसद रहेकाले मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त गर्न कठिनाइ नहुने अवस्था देखिएको छ ।

मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त गर्न ४६ सांसद आवश्यक छ । ९२ सदस्यीय प्रदेशसभामा एमालेका सभामुखसहित ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाको १/१ जना प्रदेश सांसद छन् ।

एमालेका ४१ मध्ये एक जना प्रदेश सांसद गुलेफुन खातुन उच्च अदालत विराटनगरले किर्ते कागजात मुद्दामा दोषी ठहर गरेदेखि फरार छन् ।

मुख्यमन्त्री राईले प्रदेशसभाबाट विश्वासको मतका लागि प्रदेशसभा सचिवलाई आइतबार सूचना दिएका छन् । संविधानको धारा १६८ (४) मा धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था छ ।

संविधानको धारा १६८ (३) मा उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेशसभा सबैभन्दा बढी सदस्यहरु भएको दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित : मंसिर १, २०७८ ०९:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×