लमजुङका ६ पालिकामा सर्वसम्मत कमिटी चयन- गण्डकी - कान्तिपुर समाचार
एमाले पालिका अधिवेशन

लमजुङका ६ पालिकामा सर्वसम्मत कमिटी चयन

सुन्दरबजारमा उपाध्यक्ष र सचिवबाहेक सवै सर्वसम्मत, मर्स्याङ्दीको आज हुँदै
आश गुरुङ

लमजुङ — एमाले पालिका अधिवेशन अन्तर्गत लमजुङको ६ वटा स्थानीय तहमा नेतृत्वसहित सिंगो गाउँ तथा नगर कमिटी सर्वसम्मत चयन भएका छन् ।

सुन्दरबजार नगरपालिकामा भने उपाध्यक्ष र सचिवबाहेक अध्यक्षसहित अन्य सबै पदाधिकारी सर्वसम्मत चयन भएका छन् । मर्स्याङ्दी गाउँपालिकाको अधिवेशन भने बुधबार हुँदैछ । लमजुङमा ४ नगरपालिका र ४ गाउँपालिका गरी ८ वटा स्थानीय तह छन् । यीमध्ये ६ वटा स्थानीय तहको अधिवेशन नेतृत्व चयन गर्दै मंगलबार राति सकिएको छ ।

बेंसीसहर नगर कमिटीको अध्यक्षमा राजकुमार विष्ट दोहोरिएका छन् । उपाध्यक्षमा दुर्गाबहादुर बुढाथोकी, सचिवमा सरद बराल, उपसचिवमा वुनादेवी रिमाल र विरेन्द्र गुरुङ चयन भएका छन् । मध्यनेपाल नगर कमिटीको अध्यक्षमा योगेन्द्रनारायण शाह दोहोरिएका छन् । उपाध्यक्षमा सूर्य गुरुङ, सचिवमा विष्णुभक्त पौडेल, उपसचिवमा शारदा सााखी र सूर्यवहादुर नेपाली निर्वाचित भएका छन् ।

राइनास नगर कमिटीको अध्यक्षमा पूर्णबहादुर गुरुङ चयन भएका छन् । उपाध्यक्षमा ध्रुव अकेला, सचिवमा बलराम घिमिरे, उपसचिव अनन्त त्रिपाठी र शान्ता न्यौपाने सर्वसम्मत चयन भएका छन् ।

सुन्दबजार नगर कमिटीको अध्यक्षमा भीमबहादुर गुरुङ दोहोरिएका छन् । उपाध्यक्ष र सचिव पदमा सहमति हुन नसकेपछि आज (बुधबार) निर्वाचन हुँदैछ । उपाध्यक्षमा जयराम रेग्मी, मेनबहादुर घले र गोविन्द गुरुङको उम्मेदवारी परेको छ । सचिवमा प्रेमबहादुर भट्टराई, कृष्णकुमार श्रेष्ठ, खेम गुरुङ, कृष्णप्रसाद अधिकारी र सुवासकुमार श्रेष्ठको उम्मेदवारी परेको छ । उपसचिवमा नवीनकुमार श्रेष्ठ र पार्वती अधिकारी सर्वसम्मत भएका छन् ।

यस्तै, दोर्दी गाउँ कमिटीको अध्यक्षमा युवराज अधिकारी दोहोरिएका छन् । उपाध्यक्षमा मानबहादुर गुरुङ, सचिवमा अम्बिका मरहट्टा, उपसचिवमा लालमाया मिजार र नेत्र गुरुङ सर्वसम्मत चयन भएका छन् । क्व्होलासोंथर गाउँपालिकामा अध्यक्षमा नारायणबहादुर गुरुङ दोहोरिएका छन् ।

उपाध्यक्षमा सूर्यप्रसाद गुरुङ, सचिवमा गीतबहादुर गुरुङ, सहसचिवमा आसवीर गुरुङ चयन भएका छन् । दूधपोखरी गाउँ कमिटीको अध्यक्षमा धनबहादुर गुरुङ दोहोरिएका छन् । उपाध्यक्षमा गणेश गुरुङ, सचिवमा फूलबहादुर तामाङ, उपसचिवमा लोकविलास दवाडी चयन भएका छन् । एउटा उपसचिव पछि थप गरिने भएको छ ।

एमालेको ८ वटा स्थानीय तहको ७५ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरेपछि मंगलबारबाट पालिका अधिवेशन थालिएको एमाले लमजुङका अध्यक्ष एवं गण्डकी प्रदेश सभा सदस्य धनञ्जय दवाडीले बताए ।

नगर तथा गाउँ अधिवेशनलाई एमाले सचिव एवं निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, एमाले केन्द्रीय सदस्य एवं एमाले गण्डकी प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारी, संविधानसभा सदस्य जमीन्द्रमान घले, डा. भीष्मनाथ अधिकारी, टुकाभद्र हमाललगायतले सम्बोधन गरेका छन् ।

प्रकाशित : कार्तिक १०, २०७८ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्

निर्मलाको जग्गा हडप्न भूमाफिया र छिमेकीको षड्यन्त्र

जग्गाकै किचलोलाई लिएर निर्मलामाथि २०६६ मा तत्कालीन सभासद् बादशाह कुर्मीले हातपात गरेका थिए । शारीरिक र मानसिक सुरक्षाका लागि निर्मला केही समय संस्थाको आश्रयमा समेत बसिन् । त्यसपछि नै उनी बेपत्ता भएको अधिकारकर्मी बताउँछन् ।
मधु शाही, रुपा गहतराज

बाँके — बाँकेकी नन्कुन्नी धोबीको ‘हत्या’ र निर्मला कुर्मी ‘बेपत्ता’ भएको घटनाबारे अनुसन्धान गर्न सरकारले समिति बनाउने वाचा गरेपछि महिला अधिकारकर्मीले कात्तिक २ गते आन्दोलन स्थगन गरे । नेपालगन्जबाट २० दिनको पैदल यात्रापछि काठमाडौं आइपुगेको १४ जनाको टोलीमध्ये अधिकारकर्मी रुबी खान माइतीघरमा अनशन बसेकी थिइन् । सरकारको प्रतिबद्धतापछि उनको अनशन टुंगिएको थियो ।

घटनामा जोडिएकी नेपालगन्ज उपमहानगरपालिका–१७ परस्पुरकी कुर्मी भने जग्गाकै कारण सिर्जित हैरानी झेल्दाझेल्दै बेपत्ता भएको तथ्यहरूले पुष्टि गरेको छ । उनी बेपत्ता भएको विषयमा न राज्यले चासो दियो, न गाउँलेले नै खबरदारी गरे । दशकपछि केही अधिकारकर्मीले पैदल काठमाडौं पुगेर आन्दोलन गरेपछि बल्ल सोधीखोजी सुरु भएको हो ।

पति महलु कुर्मीको २०६४ माघ २० मा मृत्यु भएपछि निर्मला दुई छोरासँगै बस्दै आएकी थिइन् । २०६६ मा छोराहरू सुरेश र रामसागरको एक साताको अन्तरमा रहस्यमय मृत्यु भयो । त्यसपछि निर्मला एक्लै भइन् । पति र छोराहरूको जग्गा उनले आफ्नो नाममा नामसारी गर्नुपर्ने भयो । तर, भूमाफियाले उनको जग्गा हिनामिना गर्न चलखेल थाले । निर्मलाका छिमेकीसमेत रहेका ओमकार कुर्मीले लामो समयदेखि निर्मला नेपालमा नरहेको भन्दै उजुरी दिए । निर्मलाको जग्गा हिनामिना गर्नेमा उनकै छिमेकी बढी सक्रिय देखिन्छन् । कागजी प्रक्रियामा भूमाफियाले पत्नी र आफन्तका नाममा जग्गा नामसारी गरेर प्रपञ्च रचेको देखिन्छ ।

निर्मलाको ४ बिघा ८ कट्ठा १० धुर खेत पार्वती विष्ट हुँदै अहिले नेपालगन्ज उपमहानगरपालिका–१८ बस्ने रत्नादेवी थापाका नाममा छ । थापा व्यापारी रमेश थापाकी पत्नी हुन् । निर्मलाले जग्गा नामसारी गरेकी विष्ट पनि रमेशकी फुपूकी छोरी हुन् । यसले निर्मलाको जग्गा हात पार्न रमेश थापाको योजना बढी देखिन्छ भने घरसहित जग्गा हात पार्न उनकै छिमेकी निजामुद्दिन इद्रिसी सक्रिय भएका देखिन्छन् ।

निजामुद्दिनले निर्मलाको घरसहितको साढे २ कट्ठा जग्गा श्रीमती जुवेदा इद्रिसीका नाममा नाममा ल्याएर पूजा लामालाई बिक्री गरिसकेका छन् । निर्मलाको घरजग्गा किन्ने पूजा लामा र नीता बर्माले रमेश थापाकी पत्नी रत्ना थापाले किन्न लागेको ४ बिघा ८ कट्ठा १० धुर खेतको लिलामी प्रक्रियामा समेत साथ दिएका छन् । यस हिसाबले हेर्दा निर्मलाको जग्गा हडप्ने प्रकरणमा पार्वती, निजामुद्दिन, नीता, पूजा, रत्नादेवी, रमेश, जुवेदा इद्रिसी, ओमकारलगायतको नाम देखिएको छ ।

जग्गाकै किचलोलाई लिएर निर्मलामाथि २०६६ मा तत्कालीन सभासद् बादशाह कुर्मीले हातपात गरेका थिए । त्यसपछि उनका सबै लालपुर्जा अधिकारकर्मीको रोहवरमा जिल्ला प्रशासनमा बुझाइयो । निर्मला शारीरिक र मानसिक सुरक्षाका लागि केही समय संस्थाको आश्रयमा समेत बसिन् । त्यो घटना हुँदासम्म जग्गा निर्मलाका पतिका नाममा थियो । अधिकारकर्मीले निर्मला २०६६ सालको कुटपिट घटनापछि नै बेपत्ता भएको बताउँदै आएका छन् । ‘बादशाह कुर्मीको कुटपिटको घटनापछि मैले निर्मलालाई देखेकी छैन,’ महिला अधिकार मञ्चकी रुबी खानले भनिन् ।

यसरी गरियो चलखेल

२०६६ देखि नै निर्मला बेपत्ता भएको आधार देखाउँदै उनकै छिमेकीहरूले अपुताली बनाएर जग्गा कब्जा गर्ने प्रपञ्च सुरु भयो । साबिक परस्पुर–९ का ओमकार कुर्मीले २०६८ कात्तिक १७ मा अपुताली भएको दाबी गर्दै महलुको सम्पूर्ण जग्गा सार्वजनिक गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निवेदन दिए । त्यतिबेला निर्मलाले भारतमा दोस्रो विवाह गरेको भनेर फर्जी कागज पनि पेस गरियो । अर्का थरी गिरोहले जग्गा निर्मलाका नाममा ल्याएर हत्याउने चलखेल सुरु गरे ।

सो घटनाका विषयमा जिल्ला प्रशासन कार्यालय बाँकेका तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले निर्मलाको भारतमा बिहे नभएको र उनको भारतमा कसैसँग कुनै सम्बन्ध नरहेको निर्णय सुनाए । तत्कालीन प्रजिअ घिमिरेको आदेशपत्रमा निर्मलाले आफूमाथि जग्गाकै कारण कुटपिट भएको र असुरक्षित महसुस भएको भनी निवेदन दिएको उल्लेख छ । आदेशपत्रअनुसार निर्मलाले २०६८ असोज ३० मा जीउधनको सुरक्षा गरिपाऊँ भनी निवेदन दिएकी थिइन् । त्यसमा प्रशासनले प्रहरीलाई जीउधनको सुरक्षा र संरक्षणमा भरपर्दो व्यवस्था मिलाउन आदेश दिएको थियो । आदेशमा उल्लेख भएअनुसार निर्मलाले २०६८ मंसिर १२ मा रोक्का राखिएको जग्गा फुकुवा गरिपाऊँ भनी निवेदन दिएको देखिन्छ । जिल्ला प्रशासनको आदेशमा निर्मलाले भारतीय नागरिक अर्जुन बर्मासँग विवाह गरी बसेको भन्ने प्रमाण झूटो भएको उल्लेख छ ।

प्रशासनको त्यही आदेशले अपुताली परेको निवेदन झूटो भएको तथ्य पुष्टि गरेको छ । जसमा निर्मलाको भारतमा कुनै सम्बन्ध नरहेको, अर्जुनसँग कुनै नाता नभएको र ग्रामसभाको निवासी पनि नरहेको उल्लेख छ । भारतीय नागरिक अर्जुन कुर्मीको पारिवारिक रजिस्टर र मतदाता सूचीमा निर्मलाको नाम नरहेको र उनीहरूको विवाहको सम्बन्धमा कुनै पनि पत्राचार नभएको सन् २०११ नोभेम्बर १४ तारिखमा ग्रामसभा जगन्नाथपुर पुरे बेचई जिल्ला बहराइचका प्रधान रामेश्वरद्वारा हस्ताक्षर पत्रको छाया प्रति पेस भएको छ । आदेशको व्यहोरामा २०६८ मा निर्मलाको अर्जुन कुर्मीसँग कुनै पनि नाता नभएको उल्लेख छ ।

कोही हकवाला नभएको हुँदा सबै सम्पत्ति कानुनबमोजिम नेपाल सरकारलाई जिम्मा लगाउन र निर्मलाले लिएको नागरिकता खारेज गर्न भनी बाँकेको साबिक परस्पुर–९ का ओमकार कुर्मीले २०६८ कात्तिक ७ मा निवेदन दिएको आदेशमा उल्लेख छ । जग्गाकै कारण महिला असुरक्षित भएको हुँदा प्रशासनले जग्गा संरक्षण गर्न लालपुर्जा राखेको बाँकेका तत्कालीन प्रजिअ घिमिरेले बताए ।

घिमिरे २०६८ सालमा ९ महिना मात्रै प्रशासन प्रमुख भएका थिए । त्यतिबेला निर्मला आफैं उपस्थित भई श्रीमान्का नाममा भएको जग्गाको पुर्जा लिएर गएको घिमिरेको भनाइ छ । ‘व्यक्तिको जग्गा संरक्षण गर्ने अधिकार प्रशासनलाई छैन तर महिला र बालबालिकाको संरक्षण गर्ने हेतुले लालपुर्जा राखिएको हो,’ उनले भने, ‘पछि पर्याप्त कागजात हेरेर निर्मलालाई पुर्जा फिर्ता गरिदिएको थियो ।’ त्यसपछि के भयो भनेर आफूलाई थाहा नभएको उनको भनाइ छ ।

१० वर्षको बीचमा निर्मलाका नाममा सबै जग्गा नामसारी गरी बिक्री पनि भइसकेको छ । भूमाफियाले जग्गा किनबेच गरेपछि निर्मलाको भारतको आधार कार्ड बन्नु, नाता नै नभएको पुष्टि गरिएको त्यही व्यक्ति अर्जुनसँग बिहे भएको प्रमाण पनि भेटिनुले निर्मलाको जग्गामा आँखा लगाउने भूमाफियाले खेल खेलेको शंका हुन्छ । निर्मलालाई जग्गा नामसारी गरेको पाँच वर्षपछि भारतीय नागरिक बनाइएको छ । पाँच वर्षको बीचमा उनको सबै जग्गा बिक्री भइसकेको छ ।

निर्मलाले २०६९ असार ८ मा श्रीमान् महलु कुर्मीका नाममा रहेको जग्गा ४ बिघा ८ कट्ठा १० धुर खेतबारी र घरबारसहित साढे २ कट्ठा जग्गा आफ्नो नाममा नामसारी गरेको देखिन्छ । नामसारी गरेको दुई महिनामै उनको खेतीबारी भएको ४ बिघा ८ कट्ठा १० धुर जग्गा बर्दियाको साबिक धधवार गाविस–४ की पार्वती विष्टका नाममा गरिएको छ । मालपोत कार्यालयको रेकर्डअनुसार २०६९ भदौ ७ मा रजिस्ट्रेसन नम्बर ५३०ख को पारित राजीनामाले कित्ता नम्बर ९१, ३६१, १०७, १०९, ३३२, १९, ५८, ८५, १७५, १७६, १७८, ३२८ को पूरै जग्गा निर्मलाले पार्वती विष्टका नाममा बिक्री गरेको देखिन्छ ।

एकल महिला त्यसमा पनि उनका कोही आफन्त नरहेको अवस्थामा घरसमेत नरहने गरी जग्गा बेचिएको देखिनु शंकास्पद छ । निर्मलाले पार्वती विष्टलाई २५ लाख ७५ हजार ८ सय रुपैयाँमा जग्गा बिक्री गरेको मालपोतको अभिलेखमा देखिन्छ । त्यही जग्गालाई रत्नादेवी थापाले पार्वती विष्टबाट दाखा (दाखिला खारेज) प्रक्रिया अपनाएर ३ करोड रुपैयाँ डाँक सकार (लिलामी) गरिएको छ । रत्नादेवीले पार्वतीसँग लेनदेनको आधार देखाएर मुद्दा मामिला उठान गरी डाक सकारबाट आफ्नो नाममा जग्गा सारेकी छन् ।

बाँके जिल्ला अदालतको २०७४ जेठ २५ गतेको तहसिलदार शाखाका अधिकृत हेमराज तिमिल्सैनाले गरेको लगकटट्टा आदेशमा नीता बर्मा र पार्वती विष्टबीच लेनदेनको मुद्दा २०७३ भदौ २० गते फैसला भइसकेको देखाएर दृष्टिबन्धक रत्नादेवीसँग लिलामी प्रक्रियाबाट कारोबार गरेको पाइएको छ । उनले ३ करोड रुपैयाँमा लिलामी बोलकबोल गरी जग्गा आफ्नो बनाएकी हुन् । २०७२ फागुन २७ गतेको जिल्ला अदालतको पत्रले मुद्दाकोक हकमा फुकुवा गरी रत्नादेवीका नाममा दाखा गरी २०७६ असार २३ गते लगत कट्टा गर्न आदेश गरिएको छ । पाँच वर्ष निरन्तर मुद्दा मामिला खेपेर रमेश थापाकी पत्नी रत्नादेवीले मिलेमतोमा जग्गा हडपेकी छन् । जग्गा किन्ने पनि आफन्त र बेच्ने पनि आफन्त भएको देखिएको छ ।

अदालतको लगत कट्टाको आदेश हेर्दा जग्गा हडप्न भूमाफियाले कानुनको छिद्र प्रयोग गरेर मिलेमतोमा किनबेच गरेको अधिवक्ता वसन्त गौतमले बताए । निर्मलाको जग्गा विधिवत् किनेपछि अदालती प्रक्रियाबाट किनबेच गर्नु नै शंकास्पद रहेको उनको ठम्याइ छ । ‘मनसाय सही नभई अदालतको प्रक्रिया अपनाएर खरिद गर्नु पनि कानुनको दुरुपयोग हो,’ उनले भने । पार्वतीका पति मन्दिरमान कार्कीले निर्मलालाई हातमा रुपैयाँ दिएर जग्गा किनेको बताए । ‘दलालहरूले जग्गा किन्नु भन्दै निर्मलाको जग्गा देखाए,’ मन्दिरमानले भने, ‘हामीले उनलाई पैसा हातमै दिएर खरिद गरेका हौं ।’

बहिनी पार्वती विष्टलाई जग्गा किनाउनुमा आफूले सुरुदेखि सहयोग गर्दै आएको रमेशले स्विकारे । उनका अनुसार निर्मलाले आफैं जग्गाका कारण असुरक्षा भएको भन्दै किनिदिन अनुरोध गरेकी थिइन् । निर्मलाकै मञ्जुरीमा हातमा रकम दिएर बहिनी पार्वतीलाई जग्गा किनाएको उनले बताए । त्यही जग्गा रमेशले श्रीमतीका नाममा दाखा प्रक्रिया अपनाएर आफ्नो बनाएका छन् । ‘पार्वतीले बेच्ने भनिन् तर उनको जग्गा नीता बर्मासँग मुद्दामा फसेको थियो,’ रमेशले भने, मैले सबै प्रक्रिया पुर्‍याएर डाक सकार (लिलामी) गरी किनेको हुँ ।’

छिमेकीसमेत लागे

छिमेकी निजामुद्दिन इद्रिसीले निर्मलाको घरसहित ६ सय २० वर्गमिटर (लगभग दुई कट्ठा) जग्गा आफ्नो नाममा गराएका छन् । निजामुद्दिनले पत्नी जुवेदा इद्रिसीका नाममा जग्गा अदालती प्रक्रियाबाट नामसारी गरेको देखिन्छ । निजामुद्दिनका अनुसार औषधि उपचार गर्न भनेर ३ लाख रुपैयाँ निर्मलाले ऋण लिएकी थिइन् । निर्मलालाई ऋण दिएको मिति भने उनले बताउन सकेनन् । ‘बोलीका आधारमा ऋण दिएको हुँ,’ उनले भने, ‘पैसा तिर्न सकिन भने जग्गा दिन्छु भनेकी थिइन् ।’

निर्मलाले ऋण तिर्न नसकेपछि मुद्दा हालेको र अदालतको फैसलाअनुसार २०७२ मा उक्त जग्गाको लालपुर्जा आफूले प्राप्त गरेको निजामुद्दिनको भनाइ छ । उक्त जग्गा इद्रिसीले तीन वर्षअघि सन्तोष बर्मालाई बिक्री गरेका छन् । कागजी प्रमाणमा निर्मला आफैं उपस्थित भएर २०६९ देखि २०७६ सम्म जग्गा बिक्री गरेको देखिन्छ ।

प्रहरीले भने निर्मला २०६८ सालदेखि नै भारतमा बस्दै आएको बताएको छ । निर्मलाका श्रीमान् भन्दै आएका अर्जुन कुर्मीको बयानका आधारमा प्रहरीले यस्तो दाबी गरेको हो । बेपत्ता भनिएकी निर्मलाका विषयमा भने प्रहरीले लामो समयदेखि कुनै खोजतलास गरेको देखिँदैन । उनलाई भूमाफियाले आवश्यक पर्दा ल्याउने र जग्गा नामसारी गराई फेरि भारत पठाउने गरेको अनुमान एक थरीको छ ।

२०७७ मा बाँकेस्थित महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य मनकुमारी गुरतालको नामबाट धन–सम्पत्तिका लागि निर्मलाको अपरहण गरी हत्या गरेको आरोपमा बादशाह कुर्मी, रमेश थापा, रत्न थापा, पार्वती विष्ट, कृष्णमुरारी सिंह, कुँवर बबनसिंह, उर्मिला कनौजिया, अमरलाल कुर्मी र धीरेन्द्रसिंह गरी ९ जनाका नाममा जाहेरी दिइएको छ । तर, निर्मलाको घरबार हडपेका छिमेकी निजामुद्दिन इद्रिसीको भने उजुरीमा नाम छैन ।

निर्मलाको जग्गा भूमाफियाले आँखा लगाएको चाल पाएपछि बादशाहले जग्गा संरक्षण गर्ने हेतुले जिल्ला प्रशासन कार्यालयसम्म पुगेर लालपुर्जा बुझाएका थिए । यसबीचमा निर्मलाको जग्गा कहाँकहाँ बिक्री भयो भन्ने जानकारी नभएको उनले बताए । ‘मैले जग्गा संरक्षण गर्न खोजें,’ उनले भने, ‘उल्टै मलाई जग्गा खाएको आरोप लगाइयो ।’ बादशाहका नाममा निर्मलाको कुनै पनि जग्गा नामसारी वा पास भएको देखिँदैन ।

प्रकाशित : कार्तिक १०, २०७८ ११:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×