बेमौसमी वर्षा र हिमपातले पदमार्गका पर्यटक प्रभावित

आश गुरुङ

लमजुङ — केही दिनयताको बेमौसमी वर्षा र हिमपातले चक्रीय अन्नपूर्ण पदमार्गका पर्यटक प्रभावित बनेका छन् । केही पर्यटक गन्तव्य नपुगी फर्किन बाध्य छन् । संसारकै अग्लोमध्येको एक तिलिचो ताल, थोराङ्ला भन्ज्याङ, हिमलुङ हिमाल बेसक्याम्पलगायत क्षेत्रमा हिमपात भएपछि पर्यटक गन्तव्य पुग्न सकेका छैनन् ।

बेमौसमी वर्षा र हिमपातले पदमार्गका पर्यटक प्रभावित

तिलिचो बेसक्याम्प पुगेपछि माथिल्लो क्षेत्रमा हिमपात हुादा केही स्वदेशी पर्यटक फर्किएका छन् । हिमलुङ हिमाल चढ्न गएका एक विदेशी नागरिक पनि हिमपातपछि हेलिकप्टरबाट फर्किएका छन् ।

मनाङङिस्याङ गाउँपालिका–९, खाङसारका कर्माढन्डु गुरुङले तिलिचो क्षेत्रमा हिमपात भएको बताए । ‘हिमपातपछि केही नेपाली पर्यटक बेसक्याम्पबाट फर्किएका छन् । केही पर्यटक अब मौसम सफा हुने संकेत पाएपछि बेसक्याम्प गएका छन्,’ उनले भने । तिलिचो उक्लिन बुधबार मात्रै करिब ७० जना नेपाली बेसक्याम्पतर्फ गएको उनले बताए ।

नार्पाभूमि गाउँपालिकाको फू गाउाका लाक्पासोनाम शेर्पाका अनुसार हिमलुङ हिमाल (७,१२६ मि.) चढ्न गएका पर्यटक बेसक्याम्पमा रोकिएका छन् । फू गाउँसहित माथिल्लो क्षेत्रमा हिमपात भइरहेको उनले बताए । ‘बेसक्याम्पमा ६०/७० जनाजति होलान् । हिमलुङ जानलाई १६ जना पर्यटक बुधबार आएका छन् । च्याखुतिर ११ जना रहेको खबर छ,’ उनले भने ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका अनुसार पछिल्लो एक सातामा डेढ सय विदेशी पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गमा आएका छन् । मौसममा आएको खराबीसँगै उच्च क्षेत्रमा हिमपातपछि उनीहरू थोराङ्ला पास हुादै मुस्ताङ जान सकेका छैनन् । एक्यापको धारापानीस्थित पर्यटक जाँच केन्द्रका पर्यटन सहायक क्षेत्र गुरुङले गत बिहीबार ८ जना, शुक्रबार १०, शनिबार १५, आइतबार ३४, सोमबार २०, मंगलबार ४५ र बुधबार १८ जना पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गमा आएको बताए । उनका अनुसार अक्टोबर २० तारिखसम्म ३ सय ९६ जना पर्यटक आएका छन् । गोरखाबाट मनास्लु पदमार्गको लार्के पास हुादै धारापानीबाट ८८ जना पर्यटक फर्किएका छन् ।

एक्याप मनाङका कार्यालय प्रमुख लेखनाथ गौतमका अनुसार ४ हजार ५ सय मिटर माथि हिउँ परिरहेको छ । ५ हजार मिटर माथि अघिपछि पानी पर्दा पनि हिउँ जम्ने गर्छ । ‘केही दिनयता मौसम प्रतिकूल छ । यो समय गन्तव्यमा नहिाड्न र सुरक्षित रहन पर्यटकलाई आग्रह गरेका छौं,’ उनले भने । उनका अनुसार प्रतिकूल मौसममा हिँडडुल गर्दा बाटोमा खानेकुरा र बास नपाइन सक्छ । ‘अहिले दसैंतिहारको बीचमा धेरै नेपाली मनाङमा छन् । बाटोका कारण रोकिएका छन् । डेढ सयदेखि २ सय विदेशी हुन सक्छन् । डेढ–दुई सय नेपाली हुन सक्छन्,’ उनले भने । उनीहरू गन्तव्यमा पुग्न नसके पनि सबै जना सुरक्षित रहेको उनले बताए । उनका अनुसार थोराङला पास गर्नेहरू प्रतिकूल मौसमपछि मनाङ गाउामै रोकिएका छन् ।

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार माथिल्लो क्षेत्रमा हिमपातका साथै पानी परेको छ । ‘चामेबाट तल्लो क्षेत्रमा पहिरो छ । नार्पाभूमितर्फ जाने बाटो कोतोबाट मेता जाने बाटोमा पनि पहिरो गएको भन्ने कुरा आएको छ,’ उनले भने । उनका अनुसार प्रतिकूल मौसममा पर्यटकलाई गन्तव्यमा नजान र सुरक्षित तवरले बस्न सुझाव दिइएको छ । ‘हिउँ परिरहेको ठाउँमा हिँडडुल गर्दा कतै समस्या आयो भने उद्धार गर्न कठिनाइ हुन्छ,’ उनले भने । उनका अनुसार केही आन्तरिक पर्यटक फर्केका छन् । विदेशीसहित केही स्वदेशी पर्यटक मौसम राम्रो हुने आसमा छन् ।

‘गन्तव्यमा पुग्न नसकेका पर्यटकलाई पारिवारिक वातावरणमा राख्न होटल व्यवसायीलाई आग्रह गरेका छौं । समन्वय गरिदिन जनप्रतिनिधिलाई आग्रह गरेका छौं,’ उनले भने, ‘अहिलेसम्म पर्यटकको कुनै गुनासो आएको छैन ।’

उनले खाङसारदेखि चामेतर्फ भ्राताङसम्मको सडक खुला रहेकाले मानिस आवतजावत भइरहेको बताए । उनले जहाज चार्टर्ड गरी आउने भनिएको विदेशी फिल्म टोली खराब मौसमका कारण काठमाडौंमै रोकिएको र बेंसीसहरबाट हेलिकप्टरसमेत आउन नसकेको बताए ।

डीएसपी सुवास खड्काले मौसममा आएको प्रतिकूलताका कारण माथिल्लो क्षेत्रमा हिमपात हुँदा पर्यटक गन्तव्यमा नपुगेको बताए । उनका अनुसार पर्यटक खाङसार कटेर तिलिचोतर्फ अघि बढेका छैनन् । कतिपय पर्यटक माथिल्लो मनाङ, खाङसार, हुम्डे क्षेत्रमा रहेको उनले बताए । ‘हामीले पर्यटकको सुरक्षाका लागि सीमा प्रहरी चौकी हुम्डेका प्रहरीलाई खटाएका छौं । प्रहरी अहिले माथिल्लो मनाङमा पुगेको छ,’ उनले भने, ‘मौसममा सुधार आउनुका साथै हिउँ पग्लिएपछि मात्रै गन्तव्यमा हिँड्न पर्यटकलाई सुझाव दिएका छौं ।’

प्रकाशित : कार्तिक ४, २०७८ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?