ठेकेदारको लापरबाहीले १४ पक्की पुल अलपत्र

प्रकाश बराल

काठमाडौँ — गलकोट नगरपालिका– ७ को मल्मदेखि ८ को काँडेबास जोड्ने दरमखोला पुल पाँच बर्षदेखि अलपत्र छ । एकातर्फको पिलर ठडिएको पाँच बर्ष भैसक्यो, अर्कोतर्फको पिलर ठडिने र पुल बन्ने अत्तोपत्तो छैन ।पुल अभावमा शिव माबिमा पढ्ने बालालिका जोखिम मोलेर यात्रा गर्छन् । वडा नं. ८ मा खनिएका सबै सडकहरू हिउँदका लागि मात्रै भएका छन् ।मध्यपहाडी लोकमार्गबाट छेवैमा भएरपनि दरमखोला तर्न नसक्दा अत्यावस्यक सामानहरू बोकेरै लैजानु पर्छ । बर्षा याममा दरमखोला तर्न नसकेपछि गाडिहरू वारीनै बस्छन् ।

ठेकेदारको लापरबाहीले १४ पक्की पुल अलपत्र

वाइपी कन्स्ट्रक्सन प्रालिले ठेक्का लिएको यो पुल ६ बर्षमा पनि पुरा नगरेको हो । सडक डिभिजन कार्यालय बागलुङको मूल्यांकनमा यहाँ ३० प्रतिशत मात्रै काम भएको निमित्त डिभिजन प्रमुख मुकुन्द्रप्रसाद लामिछानेले बताए । ‘मुख्य ठेकेदार कता हो कता, भेटिंदैनन्, पेटी ठेकेदारलाई दवाव दिएपनि काम गर्दैनन्’ लामिछानेले भने, ‘उनीहरू के बाध्यता छन् थाहा भएन, तर जनताले सास्ती खेपेका छन्, जनप्रतिनिधि र उपभोक्ताले भने हामीलाई सोधिरहेका छन् ।’ ठेकेदारको सम्झौतामा रहेको काम यो समयमा सकिन्छ भनेर बताउन नसकेको उनले बताए ।

ढोरपाटन नगरपालिका ५ को भुजीखोला पुलपनि ६ बर्षदेखि नै अलपत्र छ । ढोरपाटन जाने सडकको लागि पनि यो पुल उपयोगी छ । गत बर्ष बाढीले पश्चिम तर्फको सबै सडक भत्केपछि पूर्व तर्फको खण्डमा सवारी गुडाउने योजना पुल नबनेपछि अलपत्रै छ । गाडिखोला, चामेद्वार हुँदै ढोरपाटनको छेन्टुङ जाने सडकका लागि यो पुल चल्नुपर्छ । यहाँको भुजी माबिमा आउजाउ गर्ने बिद्यार्थी पनि घुमाउरो बाटो हिड्न बाध्य छन् । घैयाखेत, नाथुरी लगायतका गाउँबाट बुर्तिवाङ झर्नेले पनि पुल अभावमा लामो बाटो हिड्न बाध्य छन् । अत्यावस्यक सामान ढुवानीमा सास्ती खेपेको स्थानीय दिपक कंँडेलले बताए ।

कालीगण्डकी नदीमा निर्माणाधिन पक्की पुलपनि सात बर्षदेखि अलपत्र छ । जैमिनी नगरपालिका १ को कुश्मीसेरादेखि पर्वतको फलेवास जोड्ने जैमिनीघाट पुल डिजाइनका कारण निर्माण ढिलाइ भएको ठेकेदार कम्पनीका प्रतिनिधि बिष्णु कोइरालाले बताए । रसुवा श्रीसिता फेवा संयु्क्त निर्माण कम्पनीले १३ करोड १२ लाख ४९ हजार रुपैयाँमा ठेक्का लगाएको यो पुलका दुइटा पिलर ठडिएका छन् । पहिला ‘पाइल विधि’ ‘चट्टान नभेटिएसम्म गहिरो बनाउन लगाइयो, पछि तोकिएको मापदण्ड पुरा गरे हुन्छ भनियो’ कोइरालाले भने, ‘एक बर्षसम्म हाम्रो फाइल बिभागमै घुमाइयो, त्यसैले काममा ढिला भएको हो ।’ नदीको बहाव रहेको स्थानमा १५ मिटर गहिरो पिलर उठाइएको उनले बताए । त्यसका लागि पोखराबाट मेसिन भाडामा ल्याउनु पर्दा लाखौं बढी रकम खर्च भएको उनले टिप्पणी गरे ।

यो पुल बनाएमा दक्षिण बागलुङका बासिन्दाले फलेवास हुँदै कार्कीनेटाको सडक प्रयोग गरेर पोखरा जान पाउँछन् । यो सडक द्रुतमार्गको रुपमा हेरिएको छ । २०७१ सालमा डिपिआर बनाएर २०७२ मा ठेक्का लगाएपछि विभागीय अलमल र ठेकेदारको ढिलाइले काम अलपत्र परेको हो । ‘कोभिडका कारण पनि हामीलाई असर परेको हो’ कोइरालाले भने, ‘प्रशासनले कामदार राख्न दिएन, डेढबर्ष त त्यसैले हामी रोकियौं ।’ नदी किनारमा थुपारेका सामाग्री अलपत्र राख्न मन नभएपछि बाध्य भएको उनले टिप्पणी गरे । डिभिजन इन्जिनियर लामिछानेका अनुसार उक्त पुलको ३५ प्रतिशत मात्रै प्रगति छ ।

डिभिजन कार्यालयले ठेकेदारको लापरबाही देखाएर पुल नबनेको बताउने गरेको छ । ‘अहिले यहाँका १४ वटा पक्की पुलहरू अलपत्र अबस्थामा छन्’ लामिछानेले भने, ‘ती मध्ये अधिकांस ठेकेदारकै लापरबाहीले हो ।’ सडक डिभिजन कार्यालयबाट ठेक्का लगाएका अधिकांस पुलहरू तोकिएको समयमा दुइ देखि तीन बर्ष नकाटेसम्म कुनैपनि नबनेको उपभोक्ताले टिप्पणी गरे । एउटै ठेकेदारले धेरै ठेक्का लिएर काम अलपत्र पारिरहेको गलकोट नगरपालिका ३ का अध्यक्ष वीरजंग भण्डारीले बताए । ‘पाए सम्मको ठेक्का पार्छन्, अनि अलपत्र पारिदिन्छन्’ उनले भने, ‘उपकरण र सामाग्री नभएकालाई पेटी ठेक्कामा दिएपछि काम रोकिएको धेरै पाइयो ।’ गलकोट स्थित हटियोदेखि हरिचौर जोड्ने पुल पनि ४ पटक म्याद थपेपछि मात्रै निर्माण भएको उनले बताए । उपभोक्ता जागरुक भएर निरन्तर दवाव नदिएसम्म काम अलपत्र भैरहेको उनले टिप्पणी गरे । सम्पन्न भएको हटियाको गौंदी खोला पुलमा पनि खोलाबाट संरक्षण गर्ने पर्खाल अझै नलगाइएकोले बर्षातमा जोखिम बढेको स्थानीयले गुनासो गरेका छन् ।


प्रकाशित : आश्विन ३०, २०७८ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?