३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कलौंबेंसीमा पुग्यो बिजुली

आश गुरुङ

लमजुङ — मर्स्याङ्दी गाउँपालिका-१ कलौंबेंसीमा बिजुली पुगेको छ । सधैं टुकीको भरमा रातसाँझ गुजार्दै आएका कलौंबेंसीबासी गाउँमा बिजुली पुगेपछि खुसी भएका छन् । छिमेकी भुजुङ गाउँमा करिब २ दशकअघि नै बिजुली पुगपनि कलौंबेंसीमा पुग्न सकेको थिएन । 

कलौंबेंसीमा पुग्यो बिजुली

केन्द्रीय प्रसारण लाइनको बिजुली कलौंमा ल्याउन सफल भएको विद्युत उपभोक्ता समितिका अध्यक्ष सुकबहादुर कामीले बताए । दसैंको मुखमै बिजुली पुगेपछि गाउँका २३ घर झलमल्ल भएको उनले बताए । ‘ बिजुली पुगेपछि रेडियो टीभी बजेको छ । मोबाइल चार्ज गर्न पाइएको छ । खाना पनि बिजुलीबाटै पकाउँछौं, ’ उनले भने ।

स्थानीय चक्रबहादुर गुरुङ भन्छन्,'मोटरबाटो र खानेपानीको समेत समस्या रहेको गाउँमा बिजुली आउने आफूले कुनै अनुमान नै गरेको थिइनँ ।' ‘विकास भनेको विस्तारै आउने रहेछ ।जुली आयो । खानेपानी पनि हुँदैछ । अब विस्तारै सडक पनि आउला, ’ उनले भने ।

वडाअध्यक्ष रुद्रमान गुरुङका अनुसार यसअघि घनपोखरा नयाँ डाँडासम्म ल्याएको केन्द्रीय प्रसारण लाइन सेने हुँदै मिदिमखोला किनार कलौंसम्म पुर्‍याइएको हो । करिब २ किलोमिटरको तार टाँग्ने र पोल बोक्न स्थानीयले सहयोग गरेका थिए ।

गण्डकी प्रदेशका तत्कालीन मुख्मयन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो योजनामा पारे अनुसार करीब ३६ लाख लगानीमा कलौं गाउँमा बिजुली पुर्‍याइएको हो । यसमा स्थानीयले पनि श्रमदान गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले गाउँपालिकाका केही ठाउँमा अझै पनि बिजुली पुग्न नसकेको बताए । 'केन्द्रीय प्रसारण लाइनको काम स्थानीय तहले गर्न गाह्रो हुन्छ । हामी कतिपयले लघु जलविद्युतबाट विद्युत उपभोग गरिरहेका छौं,' उनले भने, 'अघिल्लो सरकारले झै वर्तमान सरकारले पनि नागरिकलाई उज्यालो दिन आवश्यक छ । साथ र सहयोगका लागि हामी स्थानीय तह र वडा छँदैछ ।'

प्रकाशित : आश्विन २७, २०७८ २०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?