२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

दसैं बिदामा पनि पढाइ !

५ महिनादेखि स्कुल बन्द हुँदा समयमै पाठ्यक्रम सक्नुपर्ने/पढ्नुपर्ने बाध्यतामा शिक्षक–विद्यार्थी
अगन्धर तिवारी

पर्वत — दसैं बिदा शिक्षण संस्थामा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म हुने गर्छ । घटस्थापनामा त सार्वजनिक बिदा नै हुन्छ । यहाँको कुश्मा नगरपालिका–९ को सार्वजनिक माध्यमिक विद्यालयमा भने घटस्थापनामा पनि पठनपाठन गरिएको छ । यहाँका शिक्षक, विद्यार्थीलाई दसैं बिदाको कुनै प्रभाव छैन ।

दसैं बिदामा पनि पढाइ !

कोभिडका कारण लामो समय बन्द भएर खुलेको विद्यालयमा शिक्षक, विद्यार्थी बिदामा पनि अरू बेलाभन्दा उत्साह र जाँगरका साथ सहभागी भएका छन् । निर्धक्क पढाइ भएको छ । करिब ५ महिना बन्द भएर खुलेको विद्यालयमा भौतिक रूपमै उपस्थित भएर सबै शिक्षकले विद्यार्थीलाई अध्यापन गराइरहेका छन् । विद्यार्थी पनि सबै नियमित नै विद्यालयमा उपस्थित भएका छन् ।

विद्यालयले समयमै पाठ्यक्रम सक्न र अवरुद्ध भएको पढाइ पूरा गराउन बिदामा पनि पढाइ सञ्चालन गरिएको जनाएको छ । ‘अरू विद्यालय घटस्थापनाको अघिल्लो दिनदेखि नै बन्द भएका छन् । हामीले पनि बिदा गरेको भए हुन्थ्यो,’ प्रधानाध्यापक चन्द्रशेखर उपाध्यायले भने, ‘लामो समय पढाइ नियमित हुन पाएन । अनलाइनबाट पढाउँदा सबै विद्यार्थीले राम्रो बुझेनन् । यतिबेला केही दिन विद्यालय खोलौं भनेर सल्लाह गर्‍यौं । सबै सहमत हुनुभयो ।’ बिदाको समयमा पनि सधैंजस्तै बिहान १० देखि बेलुका ४ बजेसम्म नै पढाइ नियमित भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोज बैरागीले बताए । सप्तमीदेखि दशमीसम्म चार दिन मात्र दसैं बिदा दिने विद्यालयले तयारी गरिरहेको जनाएको छ ।

कोभिडका कारण भएको निषेधाज्ञाले वैशाखयता बन्द भएको विद्यालय असोज १ देखि खुलेको थियो । भौतिक उपस्थितिमा पढाइ सुरु हुनुअघि अनलाइन कक्षा सञ्चालन गरिएको थियो । सबै विद्यार्थीसम्म अनलाइन कक्षा प्रभावकारी नभएको गुनासो आएपछि विद्यालयले सबै शिक्षकलाई ल्यापटप वितरण गरेर भदौको दोस्रो सातादेखि टोल शिक्षासमेत सञ्चालन गरेको थियो । भौतिक रूपमा सञ्चालन भएयता शुक्रबार पनि ४ बजेसम्म पढाइएको शिक्षक भागीरथ अधिकारीले बताए । उनका अनुसार शुक्रबारको अतिरिक्त समय र दसैं बिदाको समयमा कमजोर विद्यार्थीको पढाइमा विशेष ध्यान दिइएको छ ।

२०१७ सालमा स्थापित उक्त विद्यालयमा ४ वर्षअघि शिक्षकले देउसीभैलो कार्यक्रम सञ्चालन गरेर दिवा खाजा र अंग्रेजी माध्यममा पढाइ सुरु गरेका छन् । शिक्षाको गुणस्तर सुधार गरेपछि निजी विद्यालयसमेत छोडेर सार्वजनिकमा विद्यार्थी आएपछि नगरकै उत्कृष्ट विद्यालयका रूपमा चिनिन थालेको छ । नगर शिक्षा अधिकृत विष्णु तिवारीका अनुसार सार्वजनिक माविले पछिल्लो समय सिर्जनात्मक र प्रशंसनीय काम गर्दै आइरहेको छ । ‘बिदामा विद्यालय खोल्न हामीले कसैलाई भनेका छैनौं,’ उनले भने, ‘त्यो विद्यालयले सञ्चालन गर्नु प्रशंसनीय काम हो । हामी त्यस्ता विद्यालयलाई विशेष रूपले हेर्छौं ।’

विद्यालयलाई ल्यापटप र प्रिन्टर

विद्यालयका सानातिना कामका लागि सहरबजार धाउनुपर्ने बाध्यता हटाउन जलजला गाउँपालिकाले सबै विद्यालयमा ल्यापटप र प्रिन्टर वितरण गरेको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउन इन्टरनेटको समेत व्यवस्थापनमा लागेको जलजलाले शैक्षिक सहजताका लागि आधारभूत र माध्यमिक तहका विद्यालयमा यस्ता सामान दिएको हो ।

पछिल्लो समय कोभिड–१९, प्राकृतिक विपत् तथा हरेक विषय प्रविधिमा आधारित बन्दै गएकाले विद्यालयलाई पनि समायानुकूल परिमार्जन गर्न पालिकाभित्रका ४४ विद्यालयलाई ती सामग्री वितरण गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षत्रीका अनुसार माध्यमिक तहका ८ विद्यालयमा २/२ तथा आधारभूत तहका विद्यालयलाई एउटाका दरले ल्यापटप र सबै विद्यालयलाई एक–एकका दरले प्रिन्टर वितरण गरिएको हो । ७२ हजारका दरले सबै ल्यापटपलाई ३६ लाख ४० हजार तथा ४४ वटा फोटोकपिसहित प्रिन्टरलाई ३१ हजारका दरले १३ लाख ६४ हजार गरी ५० लाख ४ हजार रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ ।

जलजला–६ शालिजाको सर्वोदय आधारभूत विद्यालयकी शिक्षक सेतीमाया पाइजा पुनले ल्यापटप र प्रिन्टरका कारण शिक्षालाई प्रविधिमा जोड्न सहज हुने बताइन् । विद्यालयका हरेक काम विद्युतीय माध्यमबाट गर्न पाइने भन्दै शिक्षक उत्साहित छन् । शिक्षक भवानीशंकर पौडेलले कतिपय विद्यालयमा इन्टरनेटको अझै पनि अभाव भएकाले सक्दो छिटो पुर्‍याउने गरी काम गर्न गाउँपालिकालाई सुझाए ।

सबै विद्यालयमा इन्टरनेट सुविधा उपलब्ध गराउन संघीय सरकारले वार्षिक १२ हजार रुपैयाँ दिने भएका कारण सबै विद्यालयलाई ल्यापटप र प्रिन्टरको उपयोग गर्न सहज हुने गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले बताए । मल्लले विद्यालयका विवरणलाई एकीकृत रूपमा अनलाइनमा राख्ने जनशक्ति उत्पादनका लागि प्रशिक्षण दिइसकेकाले कम्प्युटर प्रिन्टरको उपयोग सहज हुने बताए । शिक्षालाई प्रविधिमैत्री बनाउन र वितरित उपकरणको सही सदुपयोग गर्न पालिकाले तीन सय शिक्षकलाई एकीकृत तालिम सञ्चालन गर्ने तयारी गरेको सूचना अधिकारी लीलाधर सुवेदीले बताए ।

प्रकाशित : आश्विन २४, २०७८ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?