२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

बजारमा म्याद नाघेका वस्तु छ्यापछ्याप्ती

प्रकाश बराल

बागलुङ — म्याद गुज्रिसकेका अखाद्य वस्तु बेच्ने सदरमुकाम बागलुङ बजारमा छ्यापछ्याप्ती भेटिएका छन् । बेच्न राखिएका सामान कुहिएको र म्याद गुज्रेको भेटिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए । यस्ता वस्तु बेच्नेलाई जिल्ला प्रशासन कार्यालयले जरिवानासहित सामान बरामद गरेको र केहीलाई कारबाहीका लागि पठाइएको उनले बताए । 

बजारमा म्याद नाघेका वस्तु छ्यापछ्याप्ती

बुधबारदेखि थालिएको अनुगमनका क्रममा बागलुङ–४ को जालपा सपिङ सेन्टर सिल गरेर सञ्चालक हेमलाल पौडेललाई १ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको जिल्ला प्रशासनका प्रशासकीय अधिकृत सूर्यलाल विकले बताए । उक्त पसलमा राखिएका हरेक सामानको २ वर्षसम्म म्याद गुज्रेको भेटिएको उनले बताए । ‘जुन सामान हेर्‍यो, त्यसैको म्याद सकिएको छ,’ विकले भने, ‘स्वास्थ्यमा खेलवाड गरिएकोले कारबाही गरिएको हो ।’ खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय र नगरपालिकाले उक्त पसलमा परीक्षण गरेको थियो ।

पसलका पेय पदार्थको पनि लामो समयदेखि म्याद गुज्रेको भेटिएको खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्राविधिक सवन्साकुमार महतोले जानकारी दिए । केही समयअघि पनि उपभोक्ताले कीरा परेको भेटेपछि सामान फिर्ता गरेका थिए ।

प्रशासनले बुधवार बजार अनुगमनको क्रममा उक्त पसलमा छापा मारेको थियो । पौडेलले भने निशेधाज्ञाले सामानको म्याद गुज्रेको दाबी गरेका छन् । विकका अनुसार उक्त पसलको झण्डै ८० प्रतिशत सामान म्याद गुज्रेका थिए । उक्त पसलका सबै सामग्री प्रशासनले नष्ट गर्ने तयारी गरेको छ । प्रशासनले बुधबारै बजारभित्रका अन्य चार पसलमा पनि सानो मात्रामा म्याद गुज्रेका सामान भेटेपछि ५ हजारको दरले जरिवाना गरेर सामान जफत गरेको छ ।

उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले भने अप्ठ्यारो परेर फिर्ता नभएका सामान भए पनि छुट्टयाएर राख्नुपर्ने बताए । मिसाएर बेचेमा कारबाही हुनैपर्ने उनको भनाइ छ । बागलुङमा निषेधाज्ञाकै समयमा भेटिएको अखाद्य चामलको नमुना भैरहवास्थित खाद्यप्रविधि तथा गुण नियन्त्रण प्रयोगशाला पठाएर परीक्षण गर्दा मानव स्वास्थ्यका लागि हानिकारक भएको प्रमाणित भएको छ ।

उपभोक्ता मञ्चको अगुवाइमा २५ बोरा अखाद्य चामल भैरहवा पठाइएको थियो । अखाद्य चामल बेच्ने शशी भट्टराईलाई कारबाहीका लागि सिफारिस गरिएको छ । उपभोक्ता हित संरक्षण ऐनले अखाद्य वस्तु बिक्री गर्नेलाई कारबाही गर्ने र त्यस्तो सामान बिक्री गरेको भए उपभोक्तालाई क्षतिपूर्ति दिनुपर्ने व्यवस्था गरेको छ । चामल रूपन्देहीको अरिहन्टा इन्टरप्राइजेसले बिक्रीका लागि ल्याएको हो ।

गृहले बजार अनुगमनका लागि खटाएको टोलीसमेत यहाँ आइपुगेको छ । गृह उपसचिव चेतनाथ बरालको नेतृत्वको टोलीले बजारको अध्ययन गरेको हो । ‘नियमित अनुगमन प्रशासनले गर्छ, हामीले अनुगमनको सूक्ष्म अध्ययन गर्ने हो । यसमा उपभोक्ता पनि सचेत हुनुपर्छ’ बरालले भने ।

प्रकाशित : आश्विन २२, २०७८ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?