१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बागलुङ कालिकामा भक्तजन

कान्तिपुर संवाददाता

बागलुङ — कोरोना संक्रमण र निशेधाज्ञाले ४ महिना बन्द भएको कालीका मन्दिर दसैंका लागि खुला भएको छ । खुला भएसँगै मन्दिरमा भक्तजन बढ्न थालेका छन् । घटस्थापनाको दिनदेखि पूर्णिमासम्म यहाँ सयौं भक्तजन आउने गर्छन् ।

बागलुङ कालिकामा भक्तजन

बिहीबार नै सयौं भक्तजन आएपछि मन्दिर व्यवस्थापनले भौतिक दूरी काम गर्ने, पूजा व्यवस्थापन र अनिवार्य मास्क लगाउने व्यवस्था गराएको कालीका भगवती गुठीका अध्यक्ष राजु खड्काले बताए ।

औंसीको दिन कागवेनीमा श्राद्ध गरेर फर्केकाले घटस्थापनाको दिन कालीका दर्शन गरेर फर्कने पुरानो चलनसमेत छ । बिहीबार बिहानैदेखि जिल्लाबाहेक छिमेकी जिल्ला, चितवन, नवलपुर, पोखरालगायतका भक्तजन समेत आएका हुन् । भक्तजन आउने भएपछि गुठीले मन्दिर र वरपर सफाइ गरेको छ ।

सवारीको पार्किङ व्यवस्थापन र गाडीमा कोचाकोच यात्री ल्याउन नदिन ट्राफिक व्यवस्थापनमा पनि कडाइ गरिएको जिल्ला ट्राफिक प्रमुख बद्रीप्रसाद तिमिल्सिनाले बताए । कालीका मन्दिरमा पूजासँगै पञ्चबली दिने चलन छ । भाकल गरेकाहरूले चिताएको पुग्ने विश्वासले कुखुरा, बोका, राँगो र भेडाको बली दिनेसमेत गर्छन् । कतिपयले नरिवल चढाँउछन् ।

कालीका मन्दिरमा ५ सय वर्षदेखि नियमित पूजा हुने गरेको इतिहास छ । यसैबीच गलकोट नगरपालिका–३ को कोतघर र कालीका मन्दिर, ताराखोला गाउँपालिकाको अर्गल मौलामा पनि पूजा सुरु भएको छ । सबै मन्दिरमा घटस्थापना गरेर जमरा राख्ने चलन छ ।

प्रकाशित : आश्विन २२, २०७८ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?