दसैंसँगै भित्रिए मुस्ताङी च्याङ्ग्रा- गण्डकी - कान्तिपुर समाचार

दसैंसँगै भित्रिए मुस्ताङी च्याङ्ग्रा

अगन्धर तिवारी

पर्वत — बजार क्षेत्रमा दसैंको उल्लेख्य चहलपहल छैन । तर, च्याङ्ग्रा व्यवसायीलाई भने दसैंले छोइसक्यो । पर्वत र आसपासका व्यवसायी साताअघि नै मुस्ताङ पुगेर दसैंका लागि च्याङ्ग्रा ल्याइसकेका छन् । दसैंको नवदुर्गा सुरु हुनुअघिका दुई साता पितृ उद्धारका लागि गरिने सोह्रश्राद्धका कारण हिन्दु संस्कारमा मासु खाने चलन छैन ।

सोह्रश्राद्ध सकिनासाथै सुरु हुने दसैंका लागि लक्षित गरेर कास्की र पर्वतका व्यवसायीले सयौं च्याङ्ग्रा मुस्ताङबाट म्याग्दी हुँदै पर्वत र कास्की ल्याइसकेका छन् ।

कोभिडका कारण विगतमा जस्तो दसैंको चहलपहल नभए पनि मुस्ताङी च्याङ्ग्राको मूल्य भने यो वर्ष झनै बढेको छ । १० दिन लगाएर च्याङ्ग्रा पोखरा लैजाँदै गरेका व्यवसायी शिव रायका अनुसार ४ वर्षयता मुस्ताङी च्याङ्ग्राको मूल्य बर्सेनि बढ्दो छ । ‘दसैंलाई मुस्ताङी च्याङ्ग्रा ब्रान्ड बनिसकेको छ,’ उनले भने, ‘पाल्ने किसान सीमित छन् । माग बढेको बढ्यै छ । अनि भाउ बढ्ने नै भयो ।’ १६ वर्षदेखि निरन्तर कारोबार गर्दै आएका रायका अनुसार यातायातका साधन मुस्ताङ प्रवेश गरेपछि च्याङ्ग्राको मूल्य बढ्दो छ ।

अर्कोतर्फ च्याङ्ग्राको मूल्य बढ्नुमा करको भार पनि भएको व्यवसायी बताउँछन् । लामो समयदेखि पर्वतमा च्याङ्ग्रा ल्याएर बिक्री गर्दै आएका राम श्रेष्ठका अनुसार ३ वर्षयता धेरै ठाउँमा कर तिर्नुपरेको छ । ‘पहिला मुस्ताङको एक ठाउँमा प्रतिगोटा ५ रुपैयाँ तिरे पुग्थ्यो,’ उनले भने, ‘अहिले कुस्मासम्म ल्याइपुर्‍याउँदा गोटाकै हजार बढी जान्छ । त्यो सबै यसैमा जोड्ने हो । हामीले घाटा खाने कुरै भएन ।’ स्थानीय तह सञ्चालनमा आएपछि पालिकैपिच्छे कर तिर्नुपरेको व्यवसायीले बताएका छन् ।

कतिपय व्यवसायीले चर्को कर तिर्नुपर्ने भएपछि मुस्ताङबाट ट्रकमा राखेर सिधै पोखरा, चितवन, काठमाडौंलगायत स्थानमा लैजाने गरेका छन् । जोमसोमस्थित पशु सेवा विज्ञ केन्द्रबाट स्वास्थ्य परीक्षण गरेर ट्रकमा राखेपछि सिधै गन्तव्यमा पुर्‍याउँदा थोरै कर तिर्दा हुने भएपछि कतिपय व्यवसायीले सिधै लैजाने गर्छन् । तर, त्यसरी लैजाँदा च्याङ्ग्रा मर्ने जोखिम भएकाले कतिपयले कर तिरेरै भए पनि पैदलै डोर्‍याएर ल्याउने गरेका छन् ।

यसपालि व्यवसायीले च्याङ्ग्राको मूल्य प्रतिगोटा ३५ देखि ४७ हजारसम्म तोकेका छन् । मुस्ताङी च्याङ्ग्रा १५ देखि २२ किलोसम्मको हुने उपभोक्ता बताउँछन् । ‘तौलिँदा २२ किलोजति थियो,’ कुस्माका ताराबहादुर थापाले भने, ‘मूल्य सुन्दै कहाली लाग्यो । एउटा च्याङ्ग्राको झन्डै आधा लाख रुपैयाँ ।’

उपभोक्ता भने च्याङ्ग्रा नआई दसैं आएको महसुस नहुने बताउँछन् । वर्षौंदेखि बानी परेकाले च्याङ्ग्राको मासु खान नपाए खल्लो लाग्ने होमनाथ सुवेदीले बताए । ‘बोका–कुखुराको मासु जहिले पनि खाने भएर होला,’ उनले भने, ‘सुनकै सरि भए पनि एक/दुई छाक च्याङ्ग्राको मासु नखाए दसैं आएजस्तै लाग्दैन ।’

प्रकाशित : आश्विन २१, २०७८ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्

पहिरोले विद्यालय पुरेपछि विद्यार्थी बिचल्लीमा

विद्यालय सहयोगीको अस्थायी घरमा राखेर पठनपाठन, धर्मशाला पनि विकल्पमा
अगन्धर तिवारी

पर्वत — करिब ५ महिना बन्द भएका विद्यालय खुल्ने खबरले मोदी–६ दोबिल्लास्थित गाडताराकी आयुसा अधिकारी उत्साहित थिइन् । कक्षा १ मा अध्ययनरत उनी उत्साहित हुनुका केही कारण पनि थिए, हरेक दिन फरक–फरक खाजा खान पाइने, साथीसंग खेल्न पाइने, अनि साथी जस्ता शिक्षिका पनि भेट्न पाइने ।

एकातिर पहिरोले विद्यालय पुरियो भने अर्कोतर्फ विद्यालय जाने बाटो भत्कियो । भदौ तेस्रो साता खसेको पहिरोले तिलाहारको दोबिल्लास्थीत हरि आधारभूत विद्यालय माथिबाट पहिरो खसेपछि आयुसासहितका विद्यार्थी विद्यालय जान पाएका छैनन् । घरदेखि विद्यालयसम्म पुग्ने बाटो भत्किएपछि समस्या परेको हो । ‘दुई सातासम्म विद्यालय पठाउनै सकिएन,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले भने, ‘बाटो बन्ने छाँटकाँट देखिएन । अनि घुमाउरो बाटो हिंडाएर तिलाहारको जनजागृती माविमा पठाएका छौं ।’ नवजागृती पुग्न गाडताराबाट करिब डेढ घण्टा लाग्छ ।

त्यसो त, विद्यालय आसपासका अरू बालबालिकाले अध्ययन गर्न विद्यालयका कक्षाकोठा पनि छैनन् । १७ भदौको राति खसेको पहिरोले विद्यालयको ३ कोठे भवन सबै पुरेको छ । बालकक्षादेखि तीनसम्म पढाइ हुने विद्यालयमा कोठा अभावले बहुकक्षा शिक्षण प्रविधि अपनाइएको थियो । भएको साँघुरो भवन पनि पहिरोले पुरिएपछि विद्यालयका संरचनाको कुनै अवशेष बाँकी छैन । ‘३ दिनपछि झ्यालको रड काटेर कम्प्युटरसम्म निकालियो,’ प्रधानाध्यापक सीता पौडेलले भनिन्, ‘अरू केही सामान बाँकी छैनन् । हिलोमा पुरिए ।’ बाहिरी झ्यालनेर टेबुलमाथि भएकाले कम्प्युटर जोगिएको भए पनि चलाउन सकिने अवस्थामा भए/नभएको परीक्षण नगरेको उनले बताइन् ।

मोदी खोलाको किनारमा भएको विद्यालय पुरिएपछि अहिले विद्यालय सहयोगी रचना केसीको अस्थायी घरमा राखेर पठनपाठन गराइएको छ । तत्काल अरू विकल्प नभएपछि एककोठे अस्थायी घरमा सबै कक्षाका विद्यार्थी राखेर पढाउनु परेको हो । विद्यालय भवन तत्काल नयाँ बन्ने अवस्था नरहेपछि स्थानीय शिव मन्दिर परिसरमा रहेको धर्मशालामा राखेर पढाउने तयारी अभिभावकले गरेका छन् । धर्मशाला पुरानो गाविस भवन हो ।

पञ्चायतकालमा निर्माण भएको उक्त भवन केही वर्षअघि स्थानीयले मर्मत गरेर धर्मशाला बनाएका थिए । धर्मशालाको छानो, झ्यालढोका मर्मत तथा पार्टेसन गरेर अस्थायी कक्षाकोठा बनाउने गरी तयारी थालिएको हो । धर्मशाला मर्मत गर्न ढुंगा बोक्न सुरु भएको निर्माण समितिका अध्यक्ष चित्रसागर श्रेष्ठले बताए । ‘सम्भवतः दसैंतिहारको बिदासम्ममा मर्मत सकेर विद्यालय सार्न सकिन्छ कि,’ श्रेष्ठले भने, ‘त्यसका लागि पालिकासँग समन्वय भएको छ ।’ गाउँपालिकाका शिक्षा अधिकृत झकप्रसाद गौतमले पुरानो विद्यालय भवनको कुनै संरचना काम नलाग्ने भएकाले विकल्प खोज्न लगाइएको बताए । ‘बालबालिकाको पढाइ रोक्न भएन भनेर विकल्प खोजिएको हो,’ उनले भने, ‘सक्दो छिटो धर्मशाला मर्मत गरेर कक्षा सञ्चालन गर्न भनेका छौं ।’ धर्मशाला मर्मतका लागि ५ लाख १४ हजार रुपैयाँको स्टमेट गरी बजेट निकासा गर्न गाउँपालिका सहमत भएको गौतमले बताए ।

प्रकाशित : आश्विन १९, २०७८ १२:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×