दसैंसँगै भित्रिए मुस्ताङी च्याङ्ग्रा

अगन्धर तिवारी

पर्वत — बजार क्षेत्रमा दसैंको उल्लेख्य चहलपहल छैन । तर, च्याङ्ग्रा व्यवसायीलाई भने दसैंले छोइसक्यो । पर्वत र आसपासका व्यवसायी साताअघि नै मुस्ताङ पुगेर दसैंका लागि च्याङ्ग्रा ल्याइसकेका छन् । दसैंको नवदुर्गा सुरु हुनुअघिका दुई साता पितृ उद्धारका लागि गरिने सोह्रश्राद्धका कारण हिन्दु संस्कारमा मासु खाने चलन छैन ।

दसैंसँगै भित्रिए मुस्ताङी च्याङ्ग्रा

सोह्रश्राद्ध सकिनासाथै सुरु हुने दसैंका लागि लक्षित गरेर कास्की र पर्वतका व्यवसायीले सयौं च्याङ्ग्रा मुस्ताङबाट म्याग्दी हुँदै पर्वत र कास्की ल्याइसकेका छन् ।

कोभिडका कारण विगतमा जस्तो दसैंको चहलपहल नभए पनि मुस्ताङी च्याङ्ग्राको मूल्य भने यो वर्ष झनै बढेको छ । १० दिन लगाएर च्याङ्ग्रा पोखरा लैजाँदै गरेका व्यवसायी शिव रायका अनुसार ४ वर्षयता मुस्ताङी च्याङ्ग्राको मूल्य बर्सेनि बढ्दो छ । ‘दसैंलाई मुस्ताङी च्याङ्ग्रा ब्रान्ड बनिसकेको छ,’ उनले भने, ‘पाल्ने किसान सीमित छन् । माग बढेको बढ्यै छ । अनि भाउ बढ्ने नै भयो ।’ १६ वर्षदेखि निरन्तर कारोबार गर्दै आएका रायका अनुसार यातायातका साधन मुस्ताङ प्रवेश गरेपछि च्याङ्ग्राको मूल्य बढ्दो छ ।

अर्कोतर्फ च्याङ्ग्राको मूल्य बढ्नुमा करको भार पनि भएको व्यवसायी बताउँछन् । लामो समयदेखि पर्वतमा च्याङ्ग्रा ल्याएर बिक्री गर्दै आएका राम श्रेष्ठका अनुसार ३ वर्षयता धेरै ठाउँमा कर तिर्नुपरेको छ । ‘पहिला मुस्ताङको एक ठाउँमा प्रतिगोटा ५ रुपैयाँ तिरे पुग्थ्यो,’ उनले भने, ‘अहिले कुस्मासम्म ल्याइपुर्‍याउँदा गोटाकै हजार बढी जान्छ । त्यो सबै यसैमा जोड्ने हो । हामीले घाटा खाने कुरै भएन ।’ स्थानीय तह सञ्चालनमा आएपछि पालिकैपिच्छे कर तिर्नुपरेको व्यवसायीले बताएका छन् ।

कतिपय व्यवसायीले चर्को कर तिर्नुपर्ने भएपछि मुस्ताङबाट ट्रकमा राखेर सिधै पोखरा, चितवन, काठमाडौंलगायत स्थानमा लैजाने गरेका छन् । जोमसोमस्थित पशु सेवा विज्ञ केन्द्रबाट स्वास्थ्य परीक्षण गरेर ट्रकमा राखेपछि सिधै गन्तव्यमा पुर्‍याउँदा थोरै कर तिर्दा हुने भएपछि कतिपय व्यवसायीले सिधै लैजाने गर्छन् । तर, त्यसरी लैजाँदा च्याङ्ग्रा मर्ने जोखिम भएकाले कतिपयले कर तिरेरै भए पनि पैदलै डोर्‍याएर ल्याउने गरेका छन् ।

यसपालि व्यवसायीले च्याङ्ग्राको मूल्य प्रतिगोटा ३५ देखि ४७ हजारसम्म तोकेका छन् । मुस्ताङी च्याङ्ग्रा १५ देखि २२ किलोसम्मको हुने उपभोक्ता बताउँछन् । ‘तौलिँदा २२ किलोजति थियो,’ कुस्माका ताराबहादुर थापाले भने, ‘मूल्य सुन्दै कहाली लाग्यो । एउटा च्याङ्ग्राको झन्डै आधा लाख रुपैयाँ ।’

उपभोक्ता भने च्याङ्ग्रा नआई दसैं आएको महसुस नहुने बताउँछन् । वर्षौंदेखि बानी परेकाले च्याङ्ग्राको मासु खान नपाए खल्लो लाग्ने होमनाथ सुवेदीले बताए । ‘बोका–कुखुराको मासु जहिले पनि खाने भएर होला,’ उनले भने, ‘सुनकै सरि भए पनि एक/दुई छाक च्याङ्ग्राको मासु नखाए दसैं आएजस्तै लाग्दैन ।’

प्रकाशित : आश्विन २१, २०७८ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?