पानी नचल्दै ट्यांकी जीर्ण

११ वर्षअघि सुरू भएको आयोजना टुक्रे बजेटका कारण समयमै सकिएन
प्रकाश बराल

बागलुङ — जैमिनी नगरपालिका–१ को कुश्मीसेरा रायडाँडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष रुद्रप्रसाद आचार्य वर्षको ३/४ पटक सदरमुकाम धाउँछन् । उनको झोलामा चार वटा निर्णय पुस्तिका पनि छन् ।

पानी नचल्दै ट्यांकी जीर्ण

ती पुस्तिकामा खानेपानी आयोजना निर्माण, आएको रकम, काम गरेको रेकर्ड तथा भुक्तानी विवरण र पटकपटक सदरमुकाम पुगेर निर्माणका लागि गरिएको पहलका विषय लेखिएका छन् । ‘एघार वर्षअघि अध्यक्ष भएको थिएँ, वर्षेनी बजेट पनि आउँछ, तर खानेपानी आएको छैन,’ आचार्यले भने, ‘मलाई सबैले जिस्क्याएर मेलम्ची खानेपानी आयोजनाको अध्यक्ष भन्ने गरेका छन् ।’ एघार वर्ष अघि सुरु भएको आयोजनामा टुक्रे बजेटले अझै काम सम्पन्न नभएको हो ।

यहाँका ५ सय १९ घरका उपभोक्ताले वर्षायाममा हिलो पानी छानेर खान बाध्य छन् । कहिले ठेउले खोला, कहिले टिमुरखोलाको पानी खान बाध्य भएको वडाध्यक्ष भुपेन्द्र थापाले बताए । पानी अभावमा हिउँदमा टाढाबाट खेप्नुपर्ने बाध्यता छ । २०६७ मा नेपाल सरकारको केन्द्रीय आयोजनाअर्न्तगत यो खानेपानी आयोजनाको काम थालिएको हो । त्यतिबेला ७ करोड १३ लाख स्टिमेट गरिएको यो आयोजनाको लागत बढी भइसक्दा पनि निर्माण नसकिएर हैरानी खेपेको उनले गुनासो गरे ।

स्थानीयले पाइपलाइन बिच्छ्याउने, ढुंगागिटी र वालुवा खेप्ने समेत गरी २ करोड १६ लाखको श्रमदान पनि गरिसकेका छन् । तर यहाँको मुहानमा फिल्टर ट्यांकी बनाउने र विवरण प्रक्रिया थाल्न ढिलाइ भएको हो । ‘घरघरमा धारा बनाउने काममा कम्तीमा १ करोड खर्च हुन्छ, हामीसँग त्यो बजेट छैन,’ इन्जिनियर बिक्रम शाहले भने, ‘सानो बजेटले पुराना संरचना बिग्रन थालिसकेका छन् ।’ नियमित संरचना मर्मत गर्ने काममा उपभोक्तापनि हैरान भएको उनले बताए ।

बगलुङ नगरपालिका–१३ मा पैयुँपाटा खानेपानी आयोजना अलपत्र छ । दशक अघि यो योजना शुरु भएको थियो । तर टुक्रे बजेटकै कारण पुरा नभएपछि उपभोक्ताले सास्ती खेपेको अध्यक्ष एकनाथ रेग्मीले गुनासो गरे । ‘बजेट थोरै आएको छ, बनाउँदा बनाउँदै केही खण्डमा पहिरोले पाइप बगायो, इन्टेकका कतिपय सामान भत्कने बिग्रने भैसकेको छ’ रेग्मीले भने, ‘एक दुई वर्षमा सक्नेगरी आयोजना ल्याउन किन नसकेको होला ?’ ९ करोड ८४ लाखको यो आयोजनाबाट ३ सय ५० घरधुरीले शुद्ध खानेपानी पाउने गरी काम थालिएको हो ।

यो आयोजना पूरा गर्न अझै डेढ करोड खर्च लाग्ने अनुमान गरिएको इन्जिनियर शाहले बताए । यो आयोनजाका ३ सय ५० घरमै धारा बनिसकेका छन् । अब सबैमा टुटी राख्न मात्रै बाँकी छ । ‘१३ किमी परबाट आएको धापाखोलामा बाँध बाँध्नुपर्ने छ, तारजाली लगाएर संरक्षण नगरे पानी बितरणपछि फेरी पहिरो खस्न सक्छ’ अध्यक्ष रेग्मीले भने, ‘सबै काम सकिएपनि चाहिने बजेट नआएपछि गण्डकी प्रदेशको खानेपानी मन्त्रालयमा पनि ध्यानाकर्षण गराएका छौं ।’ टुक्रे बजेटले मिटर जोडेर, शुल्क तिर्छौं भन्दा पानी खान नपाएको उनले गुनासो गरे ।

वडा तहमा पनि बजेट कम भएकोले लगानी गर्न नसकेको वडाध्यक्ष नारायण शर्मा पौडेलले बताए । ‘सानोतिनो मर्मतमा हामीले लगानी गरेकै छौं, तर मुख्य काममै लगानी पुगेको छैन’ उनले भने, ‘वर्षमा ५/७ लाख बजेट आउँदा बनिसकेका संरचनापनि ध्वस्त हुने भए ।’ बितरणकालागि तयार भएको ट्यांकी समेत वर्षातमा लेउ पलाएपछि स्थानीयले श्रमदान लगाएर सफाइ गरेको उनले बताए । एउटा आयोजना पुरा नहुँदा यहाँको राउले बिजयखाल्टाका खानेपानी आयोजना सुरु गर्न नसकेको उनले गुनासो गरे । यहाँका थप २३ घरले पानी नपाएर हैरानी खेपेका छन् ।

खानेपानी तथा सरसफाइ महाशाखाका प्रमुख प्रेम डोटेलले अब आवस्यकताको स्थानमा बजेट बढाएर काम सम्पन्न गर्ने योजना सुनाए । ‘धेरै उपभोक्ता पीडित भएकै हुन्, अब आधारभूत तहको खानेपानी पुर्‍याएपछि मात्रै ट्रिटमेन्ट प्लान्टमा लगानी गर्छौं,’ उनले भने ।

प्रकाशित : आश्विन २१, २०७८ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?