रैथाने खान्कीमा आकर्षण

दीपक परियार

पोखरा — भदौ महिनाभर पोखरा–१५ नयाँगाउँकी रीता गुरुङको भान्सामा निगालाको टुसा टुटेन । माछापुच्छ्रे गाउँपालिकाको भुर्जुङखोलाबाट उनले वर्षैपिच्छे टुसा मगाउँछिन् । बर्खामा तनहुँबाट आउने निगुरो उनको प्रिय परिकार हो । यतिबेला उनको भान्सामा घान्द्रुकमा रहेका आफन्तले पठाएको ढकायो (लेकमा पाइने साग) को गुन्द्रुक पाक्छ  ।

रैथाने खान्कीमा आकर्षण

रैथाने परिकार खोजीखोजी खान उनलाई खुब चाख लाग्छ । पोखरामा खोजेजति रैथाने परिकार पाउन उनलाई अझैं गाह्रो छ । आफ्नै टोलमा खुलेको अन्नपात एग्रो प्रालिमा पुगेपछि उनले कागुनो भेटिन् । साविकको सार्दीखोला गाविसबाट पोखरा झरेको २५ वर्षपछि उनले पोखरामा कागुनो देखेकी हुन् । ‘पहिला पहिला गाउँघरतिर खुब खाइन्थ्यो, बजार झरेपछि देखेको थिइनँ,’ उनले भनिन्, ‘यस्तो परिकार खोजी खोजी खान मन लाग्छ ।’ गाउँघर र वनपाखामा पाइने तरकारी, फलफूल स्वादिलो र स्वस्थ दुवै हुने उनी बताउँछिन् ।

पोखरा रामबजारका मनबहादुर थापा सकेसम्म अर्ग्यानिक खाना खोज्छन् । बजार जाँदा उनी रसायनिक मल र कीटनाशक औषधि प्रयोग नहुने किसिमका तरकारीको खोजी गर्छन् । अन्नपात एग्रोमा पुगेर उनले बाजुराको कालो सिमी किने । ‘सानैदेखि गाउँघरकै खान्की खाएर हुर्कियो,’ भूतपूर्व भारतीय सैनिक ६३ वर्षीय थापाले भने, ‘विष नहालेको तरकारी खोजीखोजी खान्छु । अझैं हट्टाकट्टा छु ।’

पोखरामा रैथाने खान्कीप्रतिको आकर्षण बढ्दो छ । पछिल्ला दिन यहाँका स्थानीयको ‘लोकल र अर्ग्यानिक’ परिकारप्रतिको बढ्दो आकर्षण देखेर ४७ जनाको समूहले पोखरा–१५ रामबजारमा शनिबारदेखि अन्नपात एग्रो सञ्चालनमा ल्याएका छन् ।

कृषितर्फ सरकारी सेवामा ३४ वर्ष बिताएका बेनीबहादुर बस्नेत सञ्चालक समितिको अध्यक्ष छन् । कम्पनीमा कृषि, प्राकृतिक स्रोत व्यवस्थापन, कृषि उत्पादन, वित्तीय संस्था र उद्यमशीलतामा आबद्ध व्यक्तिको लगानी छ । जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड), गण्डकी प्रदेश कृषि विकास निर्देशनालयले सहयोग गरेका छन् । अन्नपातका प्रबन्ध निर्देशक डा.रामबहादुर रानाका अनुसार रैथाने बाली उत्पादन गर्ने कृषकबाट खरिद गरेर प्याकेजिङ हाउसमा जम्मा गरिन्छ । मुलुकभित्रै उत्पादित तरकारी, फलफूल र अन्य खाद्यवस्तु संकलन गरिन्छ ।

पोखरा जलाधार क्षेत्रमा उत्पादित बास्नादार पोखरेली जेठोबूढो, औषधीय गुण भएको रातो अनदी, पोषणयुक्त कागुनो, प्रांगारिक मह, कफी, मसलाजन्य उत्पादनहरू अदुवा, बेसार, टिम्मुर, च्याउ, मह, दाल, तेल, ताजा तरकारी, फलफूल लगायत विभिन्न खाद्यसामग्री कम्पनीमा छन् । अन्नपातको ब्रान्डमा ती उत्पादन बिक्री हुन्छन् । हाल प्याकेजिङ हाउसबाट बिक्री वितरण गरिरहेकोमा पोखराको मुख्य बजार र काठमाडौंमा समेत आउटलेट बनाउने र अनलाइनमार्फत देशका प्रमुख सहरमा विस्तार गर्ने कम्पनीको लक्ष्य छ । पोखराभित्र भने अहिले पनि अनलाइनबाट मगाउन सकिन्छ ।

अन्नपातका अध्यक्ष बेनीबहादुर बस्नेत सामाजिक उद्यमशीलताअन्तर्गत स्थानीय कृषकको प्रत्यक्ष सहभागितामा उत्पादित सामग्रीको संकलन, प्रशोधन र बजारीकरण गर्ने उद्देश्यका साथ कम्पनी सञ्चालनमा ल्याएको बताउँछन् । कम्पनीले आफ्नो खुद मुनाफाको ३ देखि ७ प्रतिशत जैविक विविधता संरक्षणमा पुनर्लगानी गर्ने उनले बताए । ‘एकातिर कृषकले आफूले उत्पादन गरेका खाद्य उत्पादनका उचित मूल्य र बजार नपाउने समस्या त छँदै छ, अर्कोतिर उपभोक्ताले समेत आफूले रोजेका, खोजेका स्वास्थ्यबर्द्धक र सुरक्षित खाद्य उत्पादन नपाउने अवस्था छ,’ उनले भने, ‘अन्नपातले उत्पादक र उपभोक्तालाई जोड्ने साँघुको कार्यसमेत गर्नेछ ।’

ली–बर्डका कार्यकारी निर्देशक डा.बलराम थापा रैथाने बालीमा पर्याप्त अनुसन्धान नै नभएको बताउँछन् । अनुसन्धानबाट प्रविधिको सहयोगमा रैथाने बालीको उत्पादन बढाउन सकिने उनले बताए । ‘अझैं पनि रैथाने बालीलाई अपहेलित भनेर चिनिन्छ,’ उनी भन्छन्, ‘तर, भविष्यको बाली भनेकै रैथाने बाली हो भन्ने कृषि वैज्ञानिकहरूको तर्क छ ।’ सुरक्षित र विषाधिमुक्त खाना उपभोक्ताले खान पाउन भन्ने अन्नपातको उद्देश्य रहेको उनले बुझेका छन् । बजारीकरणको माध्यमबाट रैथाने बालीको प्रवर्द्धन गर्ने अन्नपातको उद्देश्य रहेकोले पनि ली–बर्डले सहयोग गरेको उनले बताए ।

ली–बर्डले रैथाने बालीमा आधारित विभिन्न अनुसन्धान र विकासमूलक परियोजना सञ्चालन गरिरहेको छ । रैथाने बाली तथा जातको पहिचान, अभिलेखीकरण, संरक्षण तथा प्रवर्द्धन संस्थाले गर्दै आएको छ । रैथाने बाली प्रवर्द्धनका लागि गरिएका प्रयास पूर्णरुपमा प्रांगारिक कृषि पद्धतिमा आधारित हुन्छ । केही हदसम्म रैथाने जातका खेती गर्ने कृषक, संलग्न कृषक समूह तथा सहकारी र व्यवसायीको आम्दानी वृद्धिमा टेवा पुगिरहेको छ ।

प्रदेश कृषि विकास निर्देशक वासु रेग्मी रैथाने बीउ जोगाउनु चुनौतीपूर्ण रहेको बताउँछन् । बजारबाट हाइब्रिड बीउ खरिद गर्ने चलन बढ्दा अर्बौं रुपैयाँ विदेशिएको उनको भनाइ छ । ‘बीउको व्यवसायीकरणसँगै स्थानीय जातका बीउ लोप हुँदै गएका छन्,’ उनले भने, ‘बीउ छनोट र भण्डारण गर्ने परम्परागत ज्ञान, सीप र प्रविधि हराउँदै गएका छन् । बीउको आयात बढिरहेको छ । यसलाई घटाउनुपर्छ ।’ कृषिलाई उद्योगको रूप दिने र कृषकलाई उद्यमी बनाउने अभियानमा अन्नपातजस्तै अन्य लगानीकर्ता पनि अघि सर्नुपर्ने उनले बताए ।

प्रकाशित : आश्विन २०, २०७८ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?