२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

उमेर नपुगी बिहे गर्ने बढे, तर छैन तथ्यांक

विवाहकै उमेर नपुगेका आमा, गरिबी र अशिक्षा मात्र छैन कारण 
प्रतीक्षा काफ्ले

कास्की — कानुनले २० वर्ष उमेर नपुगी विवाह गर्न बन्देज लगाएको छ । तैपनि पछिल्लो समय कम उमेरमा नै विवाह गर्नेको संख्या बढ्दो देखिन्छ । बालविवाह गर्ने मात्र नभई किशोरी अवस्थामा नै आमा बन्ने बढेका छन् । गण्डकीको शिक्षा, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयका अनुसार बाल प्रेम विवाह बढ्दो छ । 

उमेर नपुगी बिहे गर्ने बढे, तर छैन तथ्यांक

मन्त्रालयकी महिला विकास अधिकृत सुशीला आचार्य भन्छिन्, ‘बाल विवाह अशिक्षाले मात्र होइन, पढेलेखेकाकोमा पनि सरोबरी देखिन्छ । कतिपय गरिबी र अशिक्षाका कारण बाध्यताले विवाह गरेको भए पनि कतिले आफैं भागेर विवाह गरेका छन् ।’ उनले १६ वर्षमा एसएलसी दिएपछि प्रेम गर्ने र भागी विवाह गर्नेको संख्या बढी रहेको बताइन् । बाल अधिकारसम्बन्धी महासन्धिको प्रतिवेदन (छैटौं/सातौं) माथि हालै सम्पन्न प्रदेशस्तरीय अन्तक्रियाका सहभागीले बालविवाह समस्याको रूपमा रहेको बताएका हुन् ।

‘हामीले प्रदेशभरि तथ्यांक संकलन गरेका छौं,’ उनले थपिन्, ‘स्थानीय तहबाट यकिन तथ्यांक आइसकेको छैन ।’ उनका अनुसार प्रदेशका केही जिल्लामा बालविवाहको समस्या रहेको भए पनि सरकारी तथ्यांक भने मन्त्रालयमा छैन् । पर्वत, नवलपुर, बागलुङ र म्याग्दीमा बालविवाहको बढी समस्या रहेको उनले बताइन् । मन्त्रालयले यसतर्फ कुनै पनि कार्यक्रम तय नगरेको बताएको छ । बालबालिकाको व्यवस्थापनसम्बन्धी विधेयक बनाइएको भए पनि अहिले विचाराधीन छ ।

गैरसरकारी संस्था महासंघ गण्डकीकी अध्यक्ष बिना सिलवालले सानैदेखि बालबालिकालाई विवाहको बारेमा शिक्षा दिन जरुरी रहेको बताइन् । ‘यस विषयमा बाबुआमा पनि सचेत हुनुपर्छ,’ उनले भनिन्, ‘पहिला बाबुआमालाई शिक्षा दिएर बालबालिकालाई दिनुपर्छ ।’ पछिल्लो समयमा बालबालिका असुरक्षित बन्दै गएको पनि उनले बताइन् ।

पर्वतको पैयुँ गाउँपालिका प्रमुख खगेन्द्र तिवारीले बालविवाह रोक्न गापाले सचेतनामुलक अभियान चलाए पनि ठोस कार्यक्रम तय गर्न नसकेको बताए । ‘हाम्रो गाउँपालिकामा यो समस्या धेरै छ।’ उनले भने, ‘कानुन बुझेका छैनन्, आफ्नो परम्परा त्याग्न सक्दैनन् । के उपाय गर्न सकिन्छ भनेर छलफल गरेका छौ ।’ सानो प्रयासले बालविवाह रोक्न सफल नभइने बताउँदै यसको लागि ठूलै अभियान चलाएर ठोस कार्यक्रम ल्याउनुपर्ने तिवारीले बताए ।

जनजाति र दलित समुदायमा बालविवाहको समस्या बढी रहेको गाउँपालिकाले जनाएको छ । १२/१३ वर्षको उमेरमै विवाह गरेको तथ्यांक गापामा छ । पढ्ने, लेख्ने कलिलो उमेरमा हुने बालविवाह रोक्नका लागि अहिलेसम्म कुनै निकायले पनि पहल नगरेको स्थानीयको भनाइ छ । गाउँका अधिकांशको अवस्था गरिबी छ । उनीहरू अशिक्षित छन् । पढ्नबाट वञ्चित छन् । जसले गर्दा वालविवाहको संख्या बढ्दै गएको राष्ट्रिय वालअधिकार परिषद्का गण्डकी प्रदेश प्रमुख बद्री वाग्लेले बताए ।

‘बाबुआमा शिक्षित भए नै बालबच्चालाई शिक्षा दिने हो’ वाग्ले भन्छन, ‘बालविवाहको अवस्था हेर्दा बाबुआमा नै अनपढ देखिन्छन् । कतिपयका बाबुआमा हुँदैनन् भने कतिपयमा गरिबीको समस्याले गर्दा सानैमा बिहे गरेका छन् ।’ उनले अबका दिनमा पनि ठोस कार्यक्रम लगेर बालविवाह निरुत्साहित बनाउन नसके समस्या झन् बल्झिँदै जाने बताए । कार्यक्रमका सहभागीले बालविवाह अन्त्यका लागि सरकारले विशेष अभियान थाल्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित : आश्विन १९, २०७८ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?