कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

चाड नजिकिएसँगै संक्रमणको जोखिम

सम्झना रसाइली

तनहुँ — दसैं, तिहार र छठ नजिकिएसँगै बजार क्षेत्रमा मान्छेको चहलपहल बढ्न थालेपछि कोरोना भाइरस संक्रमणको जोखिम बढ्न थालेको छ । नागरिकस्तरबाट भएको लापरबाहीका कारण कोरोना संक्रमणको जोखिम उच्च रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

चाड नजिकिएसँगै संक्रमणको जोखिम

सार्वजनिक स्थलमा स्वास्थ्य सुरक्षाका सावधानी नअपनाई हिँडडुल गर्नाले संक्रमणको जोखिम रहेको कार्यालय प्रमुख शंकरबाबु अधिकारीले बताए । उनले भने, ‘सक्दो चाँडै जिल्लावासीलाई खोपको दायरामा ल्याउने कोसिस गरिरहेका छौं । तर खोप लगाएपछि कोरोना संक्रमण नहुने भन्ने होइन ।’ हालसम्म जिल्लाका ८५ हजार ८ सय १७ जनालाई पहिलो मात्रा र ६४ हजार ९ सय ८० जनालाई दोस्रो मात्रको खोप लगाइसकिएको छ ।

पछिल्ला दिनमा कोरोनालाई सामान्य ठान्दै बजार क्षेत्रमा भीडभाड हुन थालेको छ । चाडपर्व नजिकिएसँगै जिल्लाको डुम्रे, आँबुखैरेनी, दुलेगौडा, दमौली, खैरेनीलगायतका बजार क्षेत्रका फेन्सी, खाद्यान्न, बैंक तथा वित्तीय संघसंस्थामा भीडभाड बाक्लो हुन थालेको छ । कोरोना संक्रमणको त्रास कायममै रहे तापनि व्यवसाय खोलेर बस्न बाँध्य रहेको व्यास नगरपालिका–२ का सुनचाँदी व्यवासायी उत्तम सुनारले बताए । ‘विवाह तथा चाडपर्वको सिजन छ, सबै पसल खुल्ला छन्, कोरोनाको डरले पसल बन्द गरेर कति बस्नु ?’, उनले भने, ‘ग्राहकलाई मास्क लगाउनुस्, स्यानिटाइजरको प्रयोग गर्नुस् त भन्ने गरेका छौं तर, कतिले मान्नुहुन्छ कतिले चाहिँ सुनेको नसुन्यै गर्नुहुन्छ ।’

यस्तै, चाडपर्वको समयमै लत्ताकपडा बिक्री वितरण हुने व्यास–२ की फेन्सी व्यवसायी प्रमिला श्रेष्ठले बताइन् । उनले भनिन्, ‘बजार क्षेत्रमा फेन्सी खोलेर बसेको छु, ग्राहक आएनन् भने व्यवसाय ठप्प हुन्छ । आएका ग्राहकलाई स्वास्थ्य सुरक्षाका सावधानी अपनाएर मात्र आउनुस् भन्दा कोही आउछन्, कोही फर्किन्छन् ।’ कोरोना संक्रमण रोकथामका लागि गरिएको निषेधाज्ञा र अहिले सोचेजस्तो ग्राहक नहुँदा व्यवसायी मारमा परेको बताउँछन् । तर बजार क्षेत्रमा भएको भीडभाडले भने स्वास्थ्यकर्मी चिन्तित छन् । पछिल्लो समय स्वास्थ्य विज्ञले तेस्रो लहरको कोरोना भाइरस संक्रमणको खतरा रहेको बताएका छन् । यसबाट बढि बालबालिका जोखिममा रहेको हुँदा विशेष ध्यान दिनुपर्ने दमौली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुनील पौड्यालले बताए ।

‘अहिले धेरै बालबालिकामा भाइरल ज्वारो पनि देखिएको छ’, उनले भने, ‘समयमै ध्यान दिइएन भने यसको जोखिम बढ्दै जान सक्छ । त्यसैले सम्पूर्ण जिल्लावासीलाई अनावश्यक रूपमा घरबाहिर ननिस्कन, निस्कनै परे स्वास्थ्य सुरक्षाका सावधानी अपनाउन र आफ्नो, आफन्तको ध्यान राख्न आग्रह गरिएको छ ।’

प्रकाशित : आश्विन १७, २०७८ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?