कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

अस्थायी ट्य्राक खोलेर सवारी चलाउने तयारी

सडक डिभिजनले बेवास्ता गरेपछि नगरपालिका आफैं कस्सियो, ३ महिनादेखि अवरूद्ध जिल्लाका मुख्य २ सडक खुलाउन सक्रिय
प्रकाश बराल

बागलुङ — गत असारको पहिलो साता पहिरोले अबरुद्ध २ मुख्य सडक ३ महिनापछि बल्ल खुलाउन थालिएको छ । सरोकारवाला निकायले लामो समयसम्म वास्ता नगरेपछि बागलुङ नगरपालिकाले रकम खर्चेर अस्थायी सडक निर्माण थालेको हो ।

अस्थायी ट्य्राक खोलेर सवारी चलाउने तयारी

बागलुङ–१० गलुवामा खसेको पहिरोले असार १ मा कालीगण्डकी करिडोर बगाएको थियो । सामान्य मर्मत गरेर केही दिन सुचारु हुन नपाउँदै पहिरो पुनः थपिएपछि करिडोर र मालढुंगा कुश्मीसेरा सडकको दुइवटा घुम्ती समेत बग्दा दक्षिण बागलुङ ३ महिनादेखि सडक सम्पर्क विहीन बनेको थियो । पहिरोले बस्तीसमेत जोखिममा पारेको थियो ।

केही गोठ, जंगल तथा खेतसमेत बगेर बगर बनेको छ । उक्त स्थानमा पैदल हिँड्नसमेत नसक्ने भएपछि अधिकांश दक्षिणी बागलुङबासी पर्वतको कुश्माबाट झोलुंगे पुल तरेर गन्तव्यमा पुग्दै आएका थिए । सदरमुकामा आउने यात्रीले खर्च र सास्ती दुवै खेपेका थिए । त्यस्तै गलुवा, पाउजा तथा बास्बोटवासीले दैनिक उपभोग्य बस्तु समेत किन्न दिनभरीको यात्रा गर्नुपरेको स्थानीय किरण मल्लले बताए । ‘समयमा पानीको निकास नगर्दा करोडौंको क्षति भएको हो, अझै सरोकारवाला निकाय यहाँ आएको छैन’ मल्लले भने, ‘बस्ती जोखिममा छन्, तत्काल मर्मत र संरक्षण नभए अर्को वर्ष झनै जोखिम बढ्नेछ ।’

करिडोर निर्माण गरेको नेपाली सेना हस्तान्तरण गरेपछि उक्त सडक खण्ड बिभागको जिम्मामा छ । तर जिल्लाको सडक डिभिजन कार्यालयले खुलाउने प्रयास नगरेपछि नगरपालिकाले नै प्रयास गरेको नगरप्रमुख जनकराज पौडेलले बताए । ‘चासो राख्नुपर्ने निकायले वास्ता नगरेपछि हामीले डोजर ल्याएर काम थालेका छौं, यो अस्थायी हो’ उपभोक्ता समितिका अध्यक्ष यादवप्रसाद शर्माले भने, ‘बिज्ञ समूह ल्याएर दिगो व्यवस्थापन नगरेपछि वर्षेनी दुःख दिनेगरी पहिरो खसेको छ ।’ २०५४ सालमा कामकालागि खाद्यान्न कार्यक्रम मार्फत उक्त सडकको ट्रयाक खुलेको थियो । दुइ वर्षअघि शाखा बाटो खन्न थालेपछि पहिरो चल्न थालेको स्थानीय बीरबहादुर थापाले बताए । ‘शाखा सडकले केही पहिरो खसेको थियो, नालीको पानी व्यवस्थापन नगर्दा यो हालत भयो’ थापाले भने, ‘शुरुवातमै काम गरेको भए दसबीस हजार रुपैयाँ खर्च गर्दा सबै सुरक्षित भइन्थ्यो, अहिले करोडौ लाग्ने भैसक्यो ।’

सडक डिभिजन कार्यालयका निमित्त प्रमुख मुकुन्दप्रसाद लामिछानेले सानो खर्चले नबन्ने बताए । ‘सानो खर्चले पुग्दैन, बजेट नआएसम्म खोल्न सकिन्न भनेर हेर्न पनि गएको छैन’ उनले भने, ‘प्रदेश मन्त्रालयमा बजेट मागेका छौं ।’ प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जनप्रतिनिधिसहित अनुगमन गरेर प्रारम्भिक सर्भे समेत गरेपछि नगरपालिकाले अस्थायी ट्र्याक खोल्न २० लाख रुपैयाँ लगानी गरेको हो । सडक विभागमा पनि पहिरोबारे जानकारी पठाएको उनले बताए ।

सडक अबरुद्ध हुँदा जैमिनी नगरपालिका, बरेङ गाउँपालिका र बलेवा क्षेत्रका बासिन्दाले सवारी चढेर यात्रा गर्न पाएका छैनन् । यादवले कम्तिमा ७ दिनमा अस्थायी ट्र्याक खोलेर सवारी चलाउने बताए । ‘कतिपय स्थानमा अस्थायी ट्र्याकका लागि समेत जग्गा नपाएर नियमित छलफल गर्दै जग्गाधनीलाई मनाउने काम गरिरहेका छौं,’ शर्माले भने, ‘जनता भोकभोकै पर्ने, बिरामीले समयमा उपचारसमेत नपाउने अवस्था अन्त्य गर्न खोजेका हौं ।’

रणनीतिक सडक र पुल नै अलपत्र

त्यसैगरी, जिल्ला सदरमुकामको कुँडुलेफेदीदेखि कालीमाटी, धम्जा, बिहुँकोट हुँदै भैरवस्थान पुग्ने चक्रपथ निर्माणको म्याद गत असारमै सकियो । तर भौतिक प्रगति ५२ प्रतिशत मात्रै छ । २७ करोड ६८ लाख रुपैयाँ लागत अनुमान गरिएको १४ किमि लामो यो सडक खण्डमा हालसम्म ट्र्याक जोड्ने काम मात्रै भएको छ । दुई पालिका जोड्ने भएकोले यो सडकलाई रणनीतिक भनिएको छ ।

यस्तै, कुश्मीसेरादेखि नाम्दुक जाने १० किमि सडकको अवस्था पनि उस्तै छ । सुरुवातमा तीव्र गतिमा केही काम भयो । तर म्याद सकिँदासम्म पनि ५० प्रतिशत मात्रै प्रगति भएको पूर्वाधार विकास कार्यालयका डिभिजन इन्जिनियर गणेश सुवेदीले बताए । ‘म त सरुवा भएर यसै महिना आएको हुँ, तर काम ढिला भएको रहेछ,’ सुवेदीले भने, ‘ठेकेदार बोलाएर काम किन ढिला भएको, अब कहिलेसम्म सकिन्छ भनेर सोध्ने तयारीमा छु ।’ २५ करोड रुपैयाँ लागतको यो सडक निर्माणताका अनुगमनसमेत फितलो भएकाले समस्या आएको उनले बताए । गत वर्षसम्म रणनीतिक सडक प्रदेशस्तरीय कार्यालयबाटै हेरिन्थ्यो । गत मंसिरबाट मात्रै जिल्लामा छुट्टै कार्यालय खुलेको हो ।

गलकोटस्थित हटियादेखि ताराखोलाको हिल जोड्ने अर्को सडकको हालत पनि उस्तै छ । साढे १० किमि लामो यो सडकको ४० प्रतिशत मात्रै काम भएको छ । २५ करोड २७ लाख रुपैयाँ लागतको यो सडकको डिजाइनमै त्रुटि भएकाले काम रोकिएको हो । ‘बहुवर्षे योजना बनाएर कार्यान्वयन गर्नुपर्ने स्थानमा

एक–डेढ वर्षको ठेक्काको भर पर्दा यस्ता समस्या आएका छन्,’ ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले भने, ‘हामीले छिटो सकियोस् भनेका छौं तर ठेकेदारलाई समय बिताउने खेल मात्रै हुने रहेछ ।’ तोकेको समयमा काम नसकिँदा स्थानीयमा निराशा बढेको उनले बताए ।

ढोरपाटन नगरपालिकाको दुवाडीदेखि चामेद्वार हुँदै म्याग्दीको गुर्जा तथा ढोरपाटन जोड्ने सडक पनि अलपत्र छ । सडक ११ किमि लामो छ । २५ करोड २७ लाख रुपैयाँकै इस्टिमेटमा काम गरिए पनि केही खण्डमा सिकार आरक्षको क्षेत्र परेर काम रोकिएको छ । सडकको ट्र्याकसमेत पूरै खुलेको छैन । आरक्षनजिकै आईई गरेर विभागीय अनुमति लिएपछि मात्रै सडक बनाउन पाइने भएपछि काम रोकिएको हो ।

केन्द्रदेखि स्थानीय तहसम्मले रणनीतिक मानेर बजेट छुट्याएका यस्ता सडक अलपत्र पर्नुमा ठेकेदारको लापरबाही मुख्य कारण रहेको सुवेदी बताउँछन् । ‘पूर्वाधारको काम भनेको सबै अलपत्र पर्ने हो भन्ने जस्तो देखियो । खासमा ठेकेदारबाट काम नभएको, म्याद गुजारेको र प्रभावकारी अनुगमन नभएको हो,’ उनले भने, ‘राजनीतिक नेतृत्व र जनप्रतिनिधिले अब अलपत्र काम अगाडि बढाउन पहल गर्नुपर्छ ।’ सम्बन्धित पालिकाका अध्यक्ष र जिल्ला समन्वय समिति (जिसस) मा यसबारे सबै जानकारी गराएको उनले बताए ।

प्रदेशबाट काम गरेको भनेपछि ढिला गरे पनि हुने, गुणस्तरहीन गरे पनि हुने जस्तो पुरानो धारणाले काम ढिला भएको भेटिएको जिसस प्रमुख राजेन्द्र ढुंगाना बताउँछन् । ‘इन्जिनियर ठेकेदारको गाडी चढेर अनुगमनमा जान्छन्, उनीहरूको खाना खान्छन्, अनि काम कसरी चुस्त हुन्छ ?,’ ढुंगानाले भने, ‘सरोकारवालाको संयुक्त अनुगमन र सुझाव कार्यान्वयन नभएसम्म धेरै योजना अलपत्र पर्ने, कमजोर गुणस्तरको हुने भइरहन्छ ।’ प्रदेश सरकारको लगानीमा निर्माणाधीन कतिपय पक्की पुल पनि निर्माण नसकिएको उनले बताए ।

तीन वर्षअघि मुख्यमन्त्रीबाट शिलान्यास भएका ७ पक्की पुल अझै बनेका छैनन् । तीमध्ये काठेखोला गाउँपालिकामा मात्रै २ पुल अलपत्र छन् । रेश जाने जिरेदीको पुल र तंग्राम जाने डुडियाखोलाको पुलको म्याद गत असारमै सकिएको छ । तर दुवै पुलको २५ प्रतिशत पनि काम भएको छैन । ढोरपाटनको गाडीखोला, बरेङको शान्तिपुर र गलकोटको रिघाफेदी साहुढुंगा पुलको निर्माण पनि २० देखि ४० प्रतिशत मात्रै सकिएको छ ।

प्रकाशित : आश्विन १४, २०७८ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?