नौ घन्टादेखि दाउन्‍ने सडकमा सवारी जाम- गण्डकी - कान्तिपुर समाचार

नौ घन्टादेखि दाउन्‍ने सडकमा सवारी जाम

नारायण शर्मा

पूर्वी नवलपरासी — दाउन्ने पहाडमा बिग्रिएको गाडी सडकबाट हटाउन नसक्दा करिब ९ घन्टादेखि महेन्द्र राजमार्ग अवरुद्ध भएको छ ।  दाउन्ने बजारदेखि पश्चिमतर्फ राजमार्ग भासिएको स्थानमा बिग्रिएको ट्रकका कारण बिहान ७ बजेदेखि यातायातका साधन चल्‍न नसकेको हो ।

इलाका प्रहरी कार्यालय दुम्कीबासका अनुसार राजमार्ग फराकिलो पार्ने क्रममा भत्काइएको खण्ड नबनाएकोले त्यहाँ भैरहवाबाट आएको मालबहाक गाडी बिग्रिएर फसेको हो ।

दाउन्नेमा बिहानैदेखि जाममा परेका भरतपुरका निमप्रसाद ढकालले घुम्तीमा मालबहाक गाडी फसेकोले आउजाउ गर्न नसकिएको बताए । राजमार्ग ठप्प हुँदा पूर्व-पश्चिम हिँडेका हजारौं गाडी दाउन्नेमा अलपत्र परेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार पूर्वतर्फ अरुणखोला र पश्चिमतर्फ भूताहासम्म सवारी साधन जाम परेको छ । पानी परेकोले दाउन्ने सडक खण्डमा हिलैहिलो छ ।


प्रकाशित : आश्विन १३, २०७८ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्

पूर्वी नवलपरासीका ६ पालिकामा देउवा-कोइराला पक्ष विजयी, २ वटामा पौडेल पक्ष  

नारायण शर्मा

पूर्वीनवलपरासी — पूर्वी नवलपरासीमा स्थानीय तहको परिणाममा कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइराला पक्ष बलियो देखिएको छ । जिल्लाका ८ वटा पालिकामध्ये ६ वटामा देउवा-कोइराला प्यानलले बहुमत पाएको छ भने २ वटा पालिकामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले जितेको छ । 

कांग्रेस निर्वाचनको बुधबार सार्वजनिक मत परिणामअनुसार गैंडाकोट नगरपालिका, मध्यविन्दु नगरपालिका, विनयी त्रिवेणी, बौदीकाली, बुलिंटार र हुप्सेकोट गाउँपालिकामा संयुक्त प्यानलका उम्मेदवारले जितेका छन् । कावासोती र देवचुली नगरपालिकामा पौडेल पक्षधरले विजय प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ । गैंडाकोट सभापतिमा बद्री सापकोटा, बुलिंटारमा ओम श्रेष्ठ, बिनयी त्रिवेणीमा अजित थापा, मध्यबिन्दुमा दोमन भण्डारी, हुप्सेकोटमा बलबहादुर राना बिजयी भएका छन् । उनीहरु देउवा-शशांक खेमाबाट संयुक्त प्यानल बनाएर उम्मेदवारी दिएका थिए ।

सदरमुकाम रहेको कावासोती नगरपालिका र देवचुली नगरपालिकामा पौडेल खेमाका उम्मेदवार बिजयी बने । कावासोतीमा शालिकराम ढकाल र देवचुली नगरपालिकामा डिल्लीराम कडरियाको प्यानल बहुमतसहित विजयी भएको छ । पहाडी दुर्गम बौदीकाली गाउँपालिकाको कांग्रेस सभापतिमा पत्रकार केबी राना बिजयी भएका छन् । नवनिर्वाचित रानाले आफू कुनै खेमाको नभएको दाबी गरिरहेका छन् ।

प्रकाशित : आश्विन १३, २०७८ १५:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×