कोभिडजस्तै बिरामी बढे

पीसीआर परीक्षण गर्दा भने अधिकांशको रिपोर्ट नेगेटिभ
सम्झना रसाइली

तनहुँ — ज्वरो आएपछि गत बिहीबार व्यास–१ भादगाउँका दीपक पन्थले छोरालाई उपचारका लागि अस्पताल लगे । त्यसको २ दिनमै श्रीमती र कान्छो छोरालाई ज्वरो आएको छ । निजी स्वास्थ्य संस्थामा उपचार गर्दा चिकित्सकले भाइरल ज्वरो भने पनि कोरोना संक्रमणको आशंकामा परिवारका सबै सदस्यको पीसीआर परीक्षण गर्न नमुना दिएको दीपकले बताए ।

कोभिडजस्तै बिरामी बढे

‘पहिले रुघा लागेजस्तो भएको थियो, दौडधुपका कारणले होला भनेर खासै वास्ता गरिएन,’ उनले भने, ‘एक्कासि परिवारका अन्य सदस्यलाई पनि ज्वरोले समात्यो ।’

व्यास–४ की ६८ वर्षीया ज्ञानु श्रेष्ठ आइतबार बिहानबाट झाडापखाला भएर दमौली अस्पतालमा भर्ना भएकी छन् । बान्ता आउने, टाउको दुख्ने, रिंगटा लाग्ने, कमजोरी महसुस हुनेसमेत भएको उनले सुनाइन् । व्यास–७ कलेस्तिकी अनिता बोटे १० दिने शिशुको उपचारका लागि ३ दिनदेखि दमौली अस्पतालमै छिन् । श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना गरेको उनले सुनाइन् । ‘तर कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ । बच्चाको स्वास्थ्य सामान्य नभएसम्म यहीं राख्छौं,’ उनले भनिन् ।

जिल्लामा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका बिरामीका यी केही प्रतिनिधि उदाहरण मात्रै हुन् । केही दिनयता उपचारका लागि दमौली अस्पताल आएका बिरामीमध्ये २० प्रतिशतभन्दा बढीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको अस्पतालले जनाएको छ । जिल्लाका अन्य स्वास्थ्य संस्थामा पनि यस्ता बिरामीको संख्या बढ्दो पाइएको छ । पछिल्लो समय एकै परिवारका २/३ जनालाई रुघाखोकी, ज्वरोजस्ता समस्या देखिएर स्वास्थ्य संस्था आउने गरेका चिकित्सकहरू बताउँछन् । तर उनीहरूमध्ये अधिकांशको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आउने गरेको दमौली अस्पतालका मेसु डा. सुनील पौड्यालले बताए ।

‘दमौली अस्पतालमा मात्रै दिनमा २ सय ५० देखि ३ सय जनासम्म बिरामी उपचारमा आउने गरेका छन् । कोरोनाको जस्तै लक्षण देखिए पनि उनीहरूको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको छ,’ उनले भने, ‘रिपोर्ट नेगेटिभ आए पनि उनीहरूको स्वास्थ्यमा सुधार नआएसम्म चिकित्सकको निगरानीमा राखिएको छ ।’ उपचारमा आएका बिरामीमध्ये ३०/४० जनासम्म भाइरल ज्वरोका बिरामी हुने गरेको उनले जनाए । ‘रुघा, खोकी, टाउको दुख्ने, घाँटी दुख्ने, श्वास फेर्न समस्या हुने, बान्ता आउने, आँखाको भित्री भाग दुख्नेजस्ता लक्षण भएका बिरामीको संख्या बढेको छ,’ उनले भने ।

मौसम परिवर्तनसँगै भाइरल ज्वरोका बिरामीको संख्या बढेको हुन सक्ने उनको अनुमान छ । ‘यस्तो समस्या चिकित्सकको सल्लाहअनुसार घरमै बसेर औषधि खाँदा पनि निको हुन सक्छ,’ उनले भने, ‘ज्वरोका कारण गम्भीर स्वास्थ्य समस्या देखिएकालाई केहीलाई मात्र अस्पतालमै राखेर सेवा दिइरहेका छौं ।’

ज्वरो आएमा चिकित्सकसँग जँचाएर औषधि खाने, प्रशस्त पानी पिउने, आराम गर्ने, पोसिलो खानेकुरा खाने, नियमित बाफ लिनाले स्वास्थ्यलाभ हुने स्वास्थ्य कार्यालय प्रमुख शंकरबाबु अधिकारी बताउँछन् । ‘हाल धेरैमा देखिएको ज्वरो भाइरल हो तर केही

दिनमा आफैं निको हुन्छ भनेर बेवास्ता गर्न थालियो भने स्वास्थ्यमा गम्भीर समस्या ल्याउन पनि सक्छ,’ उनले भने ।


प्रकाशित : आश्विन १३, २०७८ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?