तनहुँमा अक्सिजन उत्पादन

सम्झना रसाइली

तनहुँ — सदरमुकामस्थित दमौली अस्पतालमा अक्सिजन उत्पादन सुरु भएको छ । गत माघमा प्लान्ट जडान कार्य सम्पन्न भएपछि गत शुक्रबारदेखि अक्सिजन उत्पादन गर्न सुरु गरिएको हो ।

तनहुँमा अक्सिजन उत्पादन

उक्त प्लान्टका लागि आव २०७७/७८ मा प्रदेश सरकारबाट प्राप्त ७५ लाख रुपैयाँ बजेट प्राप्त भएको थियो । उक्त बजेटबाट अक्सिजन प्लान्ट निर्माणका लागि ४८ लाख रुपैयाँको टेन्डर परेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुनिल पौड्यालले बताए । उनले भने, ‘दुई दिनदेखि परीक्षणका लागि अक्सिजन उत्पादन सुरु गरेका छौं ।’

अस्पतालमा छोटो समयमै भेन्टिलेटरसहितको आइसोलेसन कक्ष, अक्सिजन प्लान्टलगायत उपकरण जडान हुँदा जिल्लाबासी उपचारको लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको उनले बताए । ‘अस्पतालमै प्लान्ट सञ्चालनसँगै बाहिरबाट अक्सिजन ल्याउन नपर्ने भएको छ’, उनले भने । जडान भएको अक्सिजन प्लान्टबाट एक दिनमा १५ देखि २० सिलिन्डर अक्सिजन निकाल्न सकिने अस्पतालले जनाएको छ ।

४८ केजीको सिलिन्डरमा एक पटकमा ६ हजार ६ सय लिटरको क्षमता रहेको डा. पौड्यालले बताए । यस्तै, जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, बेलचौतारमा अक्सिजन प्लान्ट सञ्चालनको लागि अझै २ हप्ता लाग्ने केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले बताए । ३ करोड रुपैयाँ बजेटमा अक्सिजन प्लान्ट निर्माणधिन छ । डा. श्रेष्ठले भने, ‘प्लान्टका लागि धेरै काम भइसके पनि ट्रान्सफर्मर जोड्न बाँकी रहेको हुँदा समय लाग्ने देखिएको छ ।’ उक्त प्लान्टबाट एक दिनमा एक सय सिलिन्डर अक्सिजन उत्पादन क्षमता रहेको केन्द्रले जनाएको छ ।

तनहुँको दमौली अस्पतालमा रहेको आक्सिजन प्लान्ट । तस्बिर : सम्झना/कान्तिपुर

प्रकाशित : आश्विन १२, २०७८ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?