२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

निरन्तरको पहिरोले बस्ती जोखिममा

२० लाख लिटर क्षमताको ट्यांकी निर्माण गर्न जमिन सम्याउन थालेपछि २ वर्षदेखि पहिरो
प्रकाश बराल

बागलुङ — असारको पहिलो साता आएको वर्षाले सदरमुकामको कैलमपोखरी जंगलमा ठूलो पहिरो खस्यो । पहिरोले अदालत चौपारीदेखि तित्याङ जाने सडक भासियो । नजिकैको चौतारी पनि खस्यो । पहिरो खसेको दिनदेखि बागलुङ नगरपालिका–३ देउराली चोककी कृष्णमाया छन्त्याल रातमा निदाउन सकेकी छैनन् । उनको घरछेवैमा सडक भासिएको छ । पानी आउँदा ठूलो भेल यहींबाट खस्छ । त्यसैले जतिबेला पनि घर भासिने डरले उनी चिन्तित छन् । ‘ठूलो पानी परेको दिन रातभर जाग्राम बस्नुपर्छ,’ उनले भनिन्, ‘कता बस्ती बग्छ भन्ने डर छ ।’

निरन्तरको पहिरोले बस्ती जोखिममा

कैलमपोखरी वनमा बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानीको ट्यांकी निर्माण गर्दै छ । काठेखोलाबाट लिफ्ट गरेर ल्याउने पानीको रिजर्भ ट्यांकी निर्माण गर्न लाग्दा २ वर्षदेखि यहाँ निरन्तर पहिरो खसेको छ । पहिरोले कहिले आयोजनाको स्पर बगायो त कहिले ट्यांकी निर्माणस्थल भासिएको छ । हुँदाहुँदा पहिरोले देउराली चोकको बस्तीसमेत जोखिममा पारेको हो । यहाँ २० लाख लिटर क्षमताको ट्यांकी निर्माण गर्न जमिन सम्याउन थालेपछि २ वर्षदेखि पहिरोको जोखिम बढेको हो ।

सडक जोखिममा परेपछि नरबहादुर पुनको परिवार पनि त्रसित छ । उनको घरछेउमा पनि पहिरो खसेको छ । जमिन भासिएको छ । सडक भासिएपछि सदरमुकामदेखि तित्याङ, सिगाना, भकुण्डे, रायडाँडालगायत गाउँ जाने सवारी साधन देउराली चोकको बस्तीभित्रबाट हिँड्न थालेका छन् । यसले भित्री गल्लीसमेत भत्केको छ । ‘ताराखोलाको ढुंगा ल्याएर छापेका थियौं, सबै भत्केर गयो, फेरि हिलाम्मे भयो,’ छन्त्यालले भनिन्, ‘तल्लो खण्डमा पहिरोको र माथिल्लोमा खाल्डाखुल्डीको जोखिम भयो ।’

सडक भासिँदा एसियाली विकास बैंकको लगानीमा निर्माण गर्न लागिएको अदालत चौपारी, तित्याङ, भकुन्डे, रायडाँडा हुँदै गुल्मीको शान्तिपुर जाने सडक आयोजनासमेत प्रभावित भएको छ । ‘चालु वर्षदेखि काम थाल्ने गरी २५ किमि सडक कालोपत्रको ठेक्का तयारी छ, तर सडक भासियो,’ बागलुङ–९ का अध्यक्ष गणेशबहादुर थापाले भने, ‘खानेपानीले जथाभावी डोजर चलाएर काम गर्दा पहिरोको जोखिम बढेको हो ।’

स्थानीयले समस्याबारे नगरपालिकामा पनि लिखित जानकारी गराउँदै तत्काल पहिरो नियन्त्रण गर्न भनेका थिए । नगरपालिकाले वास्ता नगरेको पुनले बताए । पहिरोले सामुदायिक वनमा पनि क्षति पुगेको छ । ‘केही बजेट ल्याएर संरक्षण गर्ने भनेका थियौं, तर काम गर्न भ्याइएको छैन,’ सामुदायिक वनका अध्यक्ष जयराम भारीले भने, ‘वर्षात् रोकिएपछि काम गर्ने कुरा छ ।’

नगरपालिकाले भने केही खण्डको पानी तर्काउने पाइप माग्दासमेत नदिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद श्रेष्ठले बताए । ‘अत्यन्त कमजोर माटो रहेछ, काम गर्दागर्दै पहिरो चलेको छ,’ उनले भने, ‘संरक्षणमा हामीले काम गरिरहेका छौं, नगरपालिकाले पनि साथ देओस् भनेका हौं, वास्ता गरेको छैन ।’

केही वर्ष अघिदेखि देउराली चोकमा निरन्तर जमिन भासिने र पहिरो चल्दा झन्डै ५० घर जोखिममा परेका छन् । नगरपालिकाले पहिरो नियन्त्रणमा चासो नदेखाएको स्थानीयको आरोप छ । ‘पहिरो गएर बस्ती जोखिममा छ भन्ने कुरा नगरपालिकाले थाहै नपाएको जस्तो गरेको छ,’ पुनले भने, ‘पटकपटक गएर सम्झायौं, चासो नै देखाएनन् ।’ नगरपालिकाका प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले उक्त सडक तत्कालै निर्माण गर्ने अवस्थामा रहेको बताए । ‘ठूलो आयोजनाको काम हुँदै छ, त्यसैले आयोजनाकै डिजाइनमा सडक निर्माण र संरक्षण गर्ने हो,’ उनले भने, ‘छिटै काम सुरु हुन्छ, संरक्षण गरिन्छ ।’

बागलुङ–३ देउरालीचोकमा सडक भासिँदा जोखिममा परेको बस्ती । खानेपानी ट्यांकी बनाउँदा पहिरोको जोखिम बढेको हो ।

प्रकाशित : आश्विन १२, २०७८ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?