कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सालका पात बेचेरै मनग्गे आम्दानी

हरिराम उप्रेती

गोरखा — जिल्लाको सहिद लखन गाउँपालिकाका केही महिला यतिबेला सालका पात बेचेर घर खर्च जुटाइरहेका छन् ।

सालका पात बेचेरै मनग्गे आम्दानी

सहिद लखन–३ मनकामनास्थित रैगरबेसीकी आशकुमारी गुरुङ प्रायः शुक्रबार सालको पात टिप्न रामलक्ष्मण सामुदायिक वन पुग्छिन् । घरबाट करिब एक घण्टाको दूरीमा पर्ने वनमा दिनभर सालका पात टिप्छिन् । साँझ घर फर्केर पातका मुठा बनाउँछिन् । डालीमा राख्छिन् । दुनाटपरी गाँस्न प्रयोग हुने बाँसको सिन्का पनि तयार गर्छिन् । प्रत्येक शनिबार बिक्रीका लागि रामशाह घाट झर्छिन् । ‘सालको पात बेच्न थालेको २ वर्ष भयो, नबिक्ला भन्ने पीर छैन,’ उनले भनिन्, ‘असार–साउनमा त्यति बिक्री हुँदैन, भदौ लागेपछि चाडपर्व पनि सुरु हुन्छ, पात पुर्‍याउनै सकिन्न ।’

सहिद लखन–२ फेनौदीकी चन्द्रमाया थापा पात संकलनका लागि दुःख भए पनि पातले दिने आम्दानीले सन्तुष्टि मिल्ने बताउँछिन् । ५५ वर्षीया थापा सालको पात खोज्ने प्रत्येक साताको एक दिन भुक्तागैराको जंगल धाउँछिन् । ‘जहाँ पायो त्यहीँ राम्रा पात पाइँदैन, जंगल चहार्नुपर्छ, उस्तै परे रूख चढ्नुपर्छ,’ उनले भनिन्, ‘मिहिनेत नगरे के कमाउनु ?’ थापाले ठूलो एक मुठा सालको पात एक सय र साना मुठा ५० रुपैयाँमा बिक्री हुने बताउँछिन् ।

बिनालगानी फुर्सदको समयमा संकलन गरिएको पातबाट आम्दानी हुने भएपछि यस क्षेत्रका १० भन्दा बढी महिला सालका पात बिक्रीमा लागेका हुन् । ‘यति नै कमाइन्छ भन्ने हुँदैन, जति संकलन गरेर बिक्री गर्‍यो त्यति आम्दानी हुने त हो,’ उनले भनिन्, ‘एक दिनमा १० मुठा पात बिक्री गर्न सक्यो भने कम्तीमा पाँच सय त कमाइ भइहाल्छ ।’

जंगलमा पाइने सालको पात भोजभतेर, पूजा र दैनिक घरायसी प्रयोजनका लागि र दुनाटपरी ग्रामीण भेगमा अत्यधिक प्रयोगमा ल्याइन्छ । पछिल्लो समय सहरी क्षेत्रमा पनि माग बढेको छ । जंगलमा खेर गएका पातलाई गुरुङलगायत महिलाले आम्दानीको स्रोत बनाएका छन् ।

किसानको उत्पादनमा सहजताका लागि प्रत्येक शनिबार लाग्ने रामशाहघाटको हाटबजारमा सालको पात पनि बिक्री हुने गर्छ । गाउँका महिला साताको कम्तीमा एक दिन सालको पात खोज्न जंगल पस्छन् । राम्रा–राम्रा पात टिपेर बिक्रीका लागि ल्याउँछन् ।

तनहुँको आँबुखैरेनीकी अरू श्रेष्ठ गत शनिबार सालको पात खोज्दै हाटबजार आइपुगिन् । रोजेअनुसारका सालको पातका मुठा थिए । श्रेष्ठले छानीछानी ९० रुपैयाँमा दुई मुठा पातसँगै बाँसको सिन्का पनि किनिन् । ‘सोह्रश्राद्धका लागि दुना र टपरी बनाउन पात लिन आएकी,’ श्रेष्ठले भनिन् । दसैं–तिहार, एकादशी र पूजाको सिजनमा सालका पातको माग बढी हुने गरेको स्थानीयको अनुभव छ ।

बिहे, व्रतबन्ध र पास्नीजस्ता शुभ र अन्य पितृ कार्यमा पनि दुनाटपरी अनिवार्य हुन्छ । जंगलमा खेर जाने सालको पात अहिले आम्दानीको बाटो भएको गुरुङले बताइन् । ‘एक दिनमा ३०/४० मुठा बिक्री हुन्छ, एक्लैले ९/१० मुठा भन्दा टिप्नै सकिन्न,’ उनले भनिन्, ‘टिपेर धेरै राखे सुकेर मिहिनेत खेर जाला भन्ने डर ।’ जंगलमा घाँस काट्न गएका बेला पनि पात टिपेर ल्याउने गरेको उनले सुनाइन् ।

‘पैसा आउँछ भन्ने भएपछि घाँस घाट्न जाँदा पनि पात टिपुँटिपुँ लाग्दो रहेछ,’ गुरुङ भन्छिन् । उनले दुनाटपरी पनि बनाएर बेच्छिन् । कोरोना त्रासको निषेधाज्ञापछि भने दुनाटपरी बिक्री घटेको छ ।

प्रकाशित : आश्विन ११, २०७८ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?