कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

बहुप्राविधिक शिक्षालयमा लगानी गर्न आग्रह

प्रतीक्षा काफ्ले

कास्की — गण्डकी प्रदेशका शिक्षा, प्रविधि, विज्ञान तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ र नेपालका लागि युरोपेली संघकी राजदूत नोना डेप्रेसँगको भेटघाटमा बहुप्राविधिक शिक्षालयमा लगानी गर्नलाई जोड दिइएको छ । गण्डकी प्रदेश सरकारले स्याङ्जाको फेदीखोलामा निर्माण गर्न लागेको बहुप्राविधिक शिक्षालयलाई लगानी गर्न मन्त्री श्रेष्ठले आग्रह गरेका छन् ।

बहुप्राविधिक शिक्षालयमा लगानी गर्न आग्रह

‘अहिले डीपीआरको काम भइरहेको छ’ श्रेष्ठले भने, ‘अब छिट्टै पढाइ सञ्चालन गर्ने योजना छ । गुणस्तरीय शिक्षा निर्माणका लागि आर्थिक सहयोगको जरुरी छ ।’ गण्डकी सरकारले सञ्चालन गर्ने बहुप्राविधिक विद्यालयमा गुणस्तर कायम गर्दै श्रम बजारको मागअनुसार अध्यापन गराइने श्रेष्ठको भनाइ छ । राजदूत नोनाले आफूहरू नेपालको शिक्षा क्षेत्रमा लगानी गर्न तयार रहेको बताएकी थिइन् । आफूहरूले पहिलेदेखि नै शिक्षामा लगानी गर्दै आएको बताउँदै उनले अबका दिनमा पनि लगानी गर्ने योजना रहेको सुनाइन् । मन्त्री श्रेष्ठले नेपाल कृषिमा आत्मनिर्भर रहेको बताउँदै कोभिडका कारण कृषि क्षेत्र तहसनहस भएको हुँदा यसतर्फ पनि लगानी गर्न अनुरोध गरेका थिए ।

मन्त्री श्रेष्ठले स्विस परियोजना संयोजक उषा भण्डारीसँग पनि भेटघाट गर्दै बहुप्राविधिक शिक्षालयमा नै जोड दिए । भण्डारीले प्राविधिक शिक्षालयको लागि स्विसले लगानी गर्ने मौखिक प्रतिबद्धता जनाएकी छन् । उनले भनिन्, ‘अब हामी यस विषयमा छलफल गर्नेछौं ।’

स्विस सरकारले आगामी आर्थिक वर्षबाटै लगानी गर्ने उनको भनाइ छ । प्राविधिक शिक्षालयका लागि बजेट कति आवश्यक हो ? कसरी लगानी गर्ने भन्ने विषयमा छलफल नै बाँकी रहेको श्रेष्ठले बताए । दातृ संस्थासँग सम्झौताका लागि परियोजना दस्तावेज र द्विपक्षीय सम्झौता पत्र संघीय अर्थ मन्त्रालयमा पठाउने र दुवै पक्षबीच सम्झौता भएपछि मात्र परियोजना अघि बढ्ने मन्त्रालयले जनाएको छ । हाललाई प्रारम्भिक तथ्यांक संकलन गर्ने, तिनै तहका सरकारसँग अवधारणापत्र उपर छलफल गर्ने, परियोजना दस्तावेज लेखनका कार्य बाँकी नै रहेको मन्त्री श्रेष्ठले जानकारी दिए । यसैगरी मन्त्री श्रेष्ठले फिन्ल्यान्डका तर्फबाट नेपालका लागि राजदूत प्रिती एटिनेनसँग पनि भेट गरेका छन् । भेटका क्रममा उनले प्राविधिक शिक्षालाई नै जोड दिएका थिए । मन्त्री श्रेष्ठले फिन्ल्यान्डमा सहर र गाउँमा एउटै तरिकाले शिक्षा कसरी उपलब्ध गराएको छ भन्ने विषयमा आफूहरूलाई पनि सहयोग गर्न आग्रह गरेका थिए ।

यस्तै, राजदूतले गण्डकीका प्राविधिक विद्यार्थी र आफ्नो देशका प्राविधिक विद्यार्थीबीच भ्रातृत्व सम्बन्ध राख्न आग्रह गरेको बताउँदै मन्त्री श्रेष्ठले यस विषयमा संघीय सरकारसँग अनुमति लिएर प्रस्ताव गरिने बताए । राजदूतले प्राविधिक शिक्षालयलाई मात्र नभई कोभिडबाट प्रभावित प्राथमिक शिक्षालाई पनि लगानी गर्न चाहेको बताए । प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम (सीटीईभीटी) गण्डकीका निर्देशक प्रमोदभक्त आचार्यले गण्डकी प्रदेशका लागि दक्ष जनशक्ति उत्पादनमा यी तीन मुलुकले के गर्न सक्छन् भनेर छलफल गरिएको बताए ।

‘हामीले गण्डकीको वस्तुस्थितिबारे जानकारी गरायौं,’ उनले भने, ‘उहाँहरूले विगतमा पनि सहयोग गरेको र अबका दिनमा पनि सहयोग गर्ने बताउँदै संघीय सरकारमार्फत अनुरोध गर्न भन्नुभएको छ ।’ गण्डकी सरकारको निमन्त्रणमा १२ देशका राजदूत, कूटनीतिक नियोगका उच्च पदस्थ प्रतिनिधिलगायत आइतबार पोखरा आएका छन् । सोही क्रममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र शिक्षामन्त्री श्रेष्ठले छुट्टाछुट्टै भेटघाट गरेका थिए ।

प्रकाशित : आश्विन ११, २०७८ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?