२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

पोखरा पुगे ११ देशका राजदूत

दीपक परियार

पोखरा — गण्डकी प्रदेश सरकारको निमन्त्रणामा विभिन्न ११ देशका राजदूत आइतबार पोखरा आएका छन् । कूटनीतिक नियोग र विकास साझेदार संस्थाका प्रमुख एवं प्रतिनिधिसहित २५ जनाको टोली विश्व पर्यटन दिवसका आवसरमा तीन दिने पोखरा भ्रमणमा आएको हो ।

पोखरा पुगे ११ देशका राजदूत

परराष्ट्र मन्त्रालयको संयोजनमा आएको टोलीमा यूएई, कतार, फिनल्यान्ड, उत्तर कोरिया, साउदी अरब, श्रीलंका, दक्षिण कोरिया, थाइल्यान्ड, बंगलादेश, इजिप्ट, जर्मनी र मलेसियाका राजदूत सहभागी छन् ।

भ्रमण टोलीमा सार्कका महासचिव, संयुक्त राष्ट्रसंघकी रेसिडेन्ट कोअर्डिनेटर, इसिमोडका महानिर्देशक, अन्तर्राष्ट्रिय आप्रवासी संगठनकी चिफ अफ मिसन, यूएनएड्सका कन्ट्री डाइरेक्टर, यूएनडीपीका प्रतिनिधि, युनेस्कोका प्रतिनिधि, विश्व खाद्य कार्यक्रमका कन्ट्री डाइरेक्टरको सहभागिता छ । टोलीलाई गण्डकी प्रदेश सरकार, पर्यटन बोर्ड, पोखरामा रहेका पर्यटनसँग सम्बन्धित संघसंस्थाले पोखरा विमानस्थलमा स्वागत गरे ।

टोली आइबार साँझ प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँगको रात्रिभोजमा सहभागी हुनेछ । विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) का दिन सोमबार बिहान टोलीले कास्कीकोटमा रहेको अपांगमैत्री पहुँचयुक्त पदयात्रा मार्गमा हाइकिङ गर्नेछ । यस्तै शाहवंशको उद्गमस्थल मानिने कास्कीकोट दरबार, कश्यपताल हुँदै सराङकोटसम्म हाइकिङ हुनेछ । हाइकिङको संयोजन ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय च्याप्टरले गरेको छ ।

सोमबार नै टोलीले पोखराका मुख्य पर्यटकीय गन्तव्यको भ्रमण गर्नेछ । अपराह्न ५ बजेबाट रेस्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा लेकसाइडमा हुने मिनी सडक महोत्सवमा टोली सहभागी हुनेछ । प्रदेशको पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेलले गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन नै भ्रमणको मुख्य उद्देश्य रहेको बताए । ‘गण्डकी प्रदेशमा पर्यटनका गतिविधि खुला छन् भन्ने सन्देश दिन कुटनीतिक व्यक्तित्वलाई ल्याएका हौँ,’ उनले भने, ‘यसले पर्यटन व्यवसायीलाई निरन्तर व्यवसाय सञ्चालन गर्न प्रोत्साहन मिल्छ ।’ टोलीमा चीन, भारत र अमेरिकाका राजदूत भने सहभागी छैनन् । उनीहरूलाई समेत निमन्त्रणा गरिएको भए पनि समय अभावका कारण समावेश नभएको सचिव पौडेलले बताए । भ्रमणका क्रममा पर्यटन प्रवर्द्धन बाहेक अन्य विषयमा छलफल नहुने उनले जनाए ।

प्रदेश सरकारले पोखरामा रहेका पर्यटनसँग सम्बन्धित संघसंस्थासँगको सहकार्यमा भ्रमण कार्यक्रम बनाएको छ । भ्रमणले पोखरा खुल्लै रहेको र यहाँका व्यवसायी पाहुनालाई सेवा दिन तम्तयार रहेको सकारात्मक सन्देश पुग्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई बताउँछन् । ‘पोखरा सुरक्षित छ भन्ने सन्देश अन्तर्राष्ट्रिय पर्यटकमाझ जाओस् भन्ने उद्देश्यले सरकार र निजी क्षेत्रको सहभागितामा यो कार्यक्रम बनेको हो । यसले विदेशी पर्यटक भित्र्याउने वातावरण बन्छ’ उनले बताए ।

यद्यपि यस वर्ष भने आन्तरिक पर्यटककै भर पर्नुपर्ने उनले बताए । चिनियाँ पर्यटकले अझै ६ महिना भ्रमण नगर्ने र भारतीय पर्यटक भित्र्याउन सीमा नाका खुलाउने निर्णय भए पनि कार्यान्वयन नभइसकेकोले यी दुई देशबाट पर्यटक आउन समय लाग्ने उनको भनाइ छ ।

पर्यटन बोर्ड प्रदेश कार्यालय पोखराका प्रमुख काशीराम भण्डारी भ्रमणमा सहभागी राजदूतमार्फत् ती देशमा पोखरा खुला र सुरक्षित रहेको सन्देश पुग्ने बताउँछन् । ‘कोरोना महामारीअघि यी देशबाट नेपाल आउने पर्यटकको संख्यामा वृद्धि भइरहेको थियो,’ उनले भने, ‘अहिले महामारी कम भइसकेको अवस्थामा फेरि विदेशी पर्यटक बोलाउन सकिन्छ ।’ तीन दिनको भ्रमण सकेर टोली मंगलबार फर्कने छ ।

प्रकाशित : आश्विन १०, २०७८ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?