पर्यटन दिवसमा मिनी सडक महोत्सव

कान्तिपुर संवाददाता

पोखरा — विश्व पर्यटन दिवसका अवसरमा सेप्टेम्बर २७ मा पोखरामा मिनी सडक महोत्सव हुने भएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले लेकसाइड क्षेत्रमा महोत्सव गर्ने भएको हो । शनिबार पत्रकार सम्मेलन गरी हरेक वर्ष झैं यसवर्ष पनि सोमबार महोत्सव आयोजना गर्ने जनाएको छ ।

महोत्सव बाराहीचोकदेखि खहरेचोकसम्मको डेढ किलोमिटर क्षेत्रमा बेलुका ५ बजेदेखि सुरु भएर राति १० बजेसम्म चल्नेछ । रेवान अध्यक्ष एवं महोत्सव संयोजक लक्ष्मण बरालले अंग्रेजी नयाँ वर्षमा हुने सडक महोत्सवकै सानो रूप ‘मिनी सडक महोत्सव’ हुने बताए । उनका अनुसार महोत्सव क्षेत्रलाई ‘नो भेइकल जोन’ बनाइने छ ।

आपत्कालीन अवस्थामा प्रयोग हुने दमकल, एम्बुलेन्स, प्रहरीका सवारी साधनलाई सहज रूपमा आवतजावत गर्ने व्यवस्था मिलाइने छ । महोत्सवमा सांस्कृति कार्यक्रम प्रस्तुत गर्न बाराहीचोक र खहरे चोकमा दुईवटा स्टेज निर्माण हुनेछन् । बाराहीचोकको स्टेजमा कार्यक्रमको उद्घाटन साँझ ५ बजे गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गर्नेछन् । महोत्सवमा पोखराको सांगीतिक समूह लक्ष्य ब्यान्ड र हिमाली सांस्कृतिक समूहको साथमा नेवार समुदायको लाखे नाच, पञ्चे बाजा, थारू समुदायको प्रचलित थारु झुम्रा नाच, गन्धर्व समुदायको सारंगीवादन जस्ता सांस्कृतिक कार्यक्रम हुनेछन् ।

महोत्सव क्षेत्रमा रेस्टुराँले स्वदेशी तथा विदेशी खानाका परिकार राख्नेछन् । साहसिक खेलकुद तथा पर्यटकीय पदयात्रासम्बन्धी वृत्तचित्रको प्रदर्शनी महोत्सवमा हुने छ । रेवान अध्यक्ष बरालले कोरोना जोखिमलाई मध्यनजर गर्दै सुरक्षा मापदण्ड अपनाएर महोत्सव आयोजना गरिने बताए ।

त्यसैगरी, परराष्ट्र मन्त्रालयको संयोजन र गण्डकी प्रदेश सरकारको निमन्त्रणामा विभिन्न देशका राजदूत एवं कूटनीतिक नियोगका उच्च पदस्त कर्मचारी आइतबार पोखरा आउने भएका छन् । पोखरा खुल्लै रहेको र यहाँका व्यवसायी पाहुनालाई सेवा दिन तयार रहेको सकारात्मक सन्देश दिन उनीहरूलाई पोखरा बोलाइएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । उनका अनुसार राजदूत, कन्सुलरसहित २५ जना उक्त अवसरमा आउने भएका हुन् । उनीहरूले पोखराका मुख्य पर्यटकीय स्थलको भ्रमण गर्नेछन् । सोमबार कास्कीकोट र बेगनासकोट क्षेत्रमा हाइकिङ गर्नेछन् । बेलुका मिनी सडक महोत्सवमा सहभागी हुनेछन् ।

‘पोखरा सुरक्षित छ भने सन्देश अन्तर्राष्ट्रिय पर्यटकमाझ जाओस् भन्ने उद्देश्यले सरकार र निजी क्षेत्रको सहभागितामा यो योजना बनेको हो,’ उनले भने, ‘यसले विदेशी पर्यटक भित्र्याउने वातावरण बन्छ ।’ यद्यपि यस वर्ष भने आन्तरिक पर्यटककै भर पर्नुपर्ने उनले पत्रकार सम्मेलनमा बताए । चिनियाँ पर्यटकले अझै ६ महिना भ्रमण नगर्ने र भारतीय पर्यटक भित्र्याउन सीमा नाका खुलाउने निर्णय भए पनि कार्यान्वयन नभइसकेकाले यी दुई देशबाट पर्यटक आउन समय लाग्ने उनको भनाइ थियो । सरकारले ट्रिप एड्भाइजरमा विदेशी पर्यटकका लागि स्पष्ट गाइडलाइन उल्लेख गर्नुपर्ने उनको सुझाव छ ।

‘अनअराइभल भिसा खुला गर्ने, पूर्ण खोप लगाएकालाई क्वारेन्टाइन बस्नु नपर्नेलगायत सरकारले निर्णय गरे पनि अन्तर्राष्ट्रिय बजारमा यसको प्रचारप्रसार गर्नुपर्छ,’ उनले भने, ‘विदेशी पर्यटकले ३–४ महिनाको योजना बनाउँदा अर्को वर्ष पर्यटक भित्र्याउन सकिन्छ ।’ उनले हाल दसैं तिहारको बिदामा आउने आन्तरिक पर्यटकले पोखराका होटलको बेड संख्यामध्ये १५–२० प्रतिशत बुकिङ गरेको जानकारी दिए । भारतीय पर्यटकलाई आकर्षित गर्न सीमा सहरमा प्रवर्द्धनात्मक कार्यक्रम गर्न जरुरी रहेको उनले औंल्याए ।

प्रकाशित : आश्विन १०, २०७८ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?