कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

लोकमार्गमा अत्यासलाग्दो यात्रा

सदरमुकामदेखि अक्षेतेसम्मको ८ किमि सडकखण्ड पार गर्न २ घण्टा

बागलुङ,पर्वत — चौबीस वर्षअघि ट्र्याक खुलेको बागलुङ घोडाबाँधे २५ किमि सडक मध्यपहाडी लोकमार्गमा सूचीकृत छ । एक दशक अघिदेखि सडक चौडा पार्ने, ग्राभेल र कालोपत्र गर्ने काम गर्ने भनिएपनि प्रगति हुन सकेको छैन । राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा वर्षौंदेखि यात्रीले सास्ती खेपेका छन् । सडक सधैं हिलाम्मे, खाल्डैखाल्डा र पहिरोले हैरानी दिएको छ । ठेकेदारको लापरबाहीका कारण वर्षौंदेखिको सास्ती नहटेको हो ।

लोकमार्गमा अत्यासलाग्दो यात्रा

पटकपटक फेरिने ठेकेदारले काम अलपत्र पार्दै छोड्ने गरेका छन् । गैंडाकोटका किसान खतिवडाले १० वर्षदेखि सास्ती खेपेको बताए । ‘सदरमुकामदेखि अक्षेतेसम्मको ८ किमि सडक पार गर्न २ घण्टा लाग्छ,’ गलकोटमा हीराबहादुर भण्डारीले भने । ठेकेदारले पटकपटक म्याद थपेर गत असार मसान्तमा सक्ने प्रतिबद्धता जनाएका थिए । तर काम अलपत्रै छ । कतिपय स्थानमा स्थानीयको घर जोखिममा परेका छन् ।

दुई वर्षमा सक्ने भनिएको म्याद नाघेर पनि तीन वर्षदेखि कम्पनीले अझै म्याद थपिरहेको छ । २५ किमिमध्ये पहिलो १२ किमि भारत सिद्धिसाई संयुक्त निर्माण कम्पनी र माथिल्लो १३ किमि सूर्य कन्स्ट्रक्सनले बनाउने जिम्मा पाएको थियो । अहिले दुवैले पेटी ठेक्कामार्फत काम लगाएका छन् । अन्तिम भनेको म्याद पनि असार मसान्तमा गुजारेका उनीहरूले फेरि म्याद थप्ने योजनामा छन् ।

सदरमुकामदेखि अक्षेतेसम्मको ४ किमि सडक तत्कालै कालोपत्र गर्ने गरी काम थालेको भारत सिद्धिसाई संयुक्त निर्माण कम्पनीका म्यानेजर शिव लामिछानेले बताए । तर यहाँको बोक्से, खहरे र अक्षेतेमा खाल्डा र हिलोमात्रै छ । ‘बोक्सेमा ३ सय मिटर सडकको डिजाइन फेरेर ढलान गर्ने गरी फाइल मन्त्रालयमा पठाएका छौं,’ लामिछानेले भने, ‘त्यो फाइल आएपछि तत्काल काम गर्छौं ।’ सडक छेउमा थुपारेको गिट्टी त्यत्तिकै छाड्दा बाँकी सडकमा हिलोले पुरिने अवस्था छ । पानी तर्काइएको छैन ।

एम्बुलेन्ससमेत पटकपटक फसेपछि बिरामीलाई स्ट्रेचरमा निकालेर पठाउनुपरेको स्थानीय सूर्यप्रसाद गौतमले बताए । ‘आफ्नो साधन छ, तर चढेर घर जान सकिँदैन,’ उनले भने, ‘गैरजिम्मेवारीपना कहिलेसम्म ?’ यो सडकमा यात्रा गर्नेले दैनिक दुई जोर कपडासमेत बोकेर हिँड्न बाध्य भएको काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले बताए । ‘कहिले आउजाउ गर्नै सकिँदैन, उतै बस्नुपर्छ,’ उनले भने, ‘आएको दिनमा गाडी चढ्नेले समेत हिलो खेप्नुपर्छ ।’ यो सडक खण्डमध्ये खहरेमा भने अझै मापदण्डअनुसारको चौडा पार्ने कामसमेत नभएको उनले बताए ।

पुष्पलाल मार्गमा पनि उस्तै

कार्यालय समयमै सक्नुपर्ने काम लिएर पोखरा हिँडेकी म्याग्दीकी माया क्षेत्री शुक्रबार दिउँसो पौने १ बजेसम्म पर्वतको मोदी–५ स्थित भ्याप्ले खोलामै जाममा परिन् । पर्वतकै जलजलाबाट बिरामी छोरा लिएर ट्याक्सीमा पोखरा जाँदै गरेका सागर बिक पनि बाटैमा रोकिए ।

भदौ १७ गते राति भीषण वर्षापछि राजमार्गमा खसेको पहिरोका कारण यात्रुले एक महिना बित्न लाग्दासमेत सास्ती भोगिरहनुपरेको छ । ‘पोखरा पुगेर आजै काम नसकि नहुने थियो,’ कुश्मा–२ का संगिन सुवेदीले भने, ‘यहाँसम्म आउँदा २ घण्टा बितिसक्यो । पोखरा पुग्दै राति हुने भयो ।’ कुश्माबाट पातीचौरसम्म २० मिनेटको बाटोमै जामका कारण २ घण्टा बिताउनुपरेको उनले दुखेसो गरे । सडकमा खसेका पहिरा हटाउन ल्याइएका साधनका कारण सडक जाम हुने गरेको छ ।

एकतर्फी खुलेको सडकमा दोहोरो सवारीका कारण जाम हुने गरेको छ । सडकमा आउजाउ गर्ने साना सवारीलाई झनै समस्या छ । सडकको पहिरो हटाएर १० दिनमा एकतर्फी सवारी सञ्चालन भए पनि यात्रुको सकस अझै सकिएको छैन । सडक खण्डको कुश्मा–७ खरेहादेखि मोदी गाउँपालिका–५ को भ्याप्लेखोला किनारसम्म खसेका पहिरा अझै हटिसकेका छैनन् ।

धौलागिरिको लाइफलाइन सडक भएका कारण सडक विभागअन्तर्गतको मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) आयोजना कार्यालयको पहलमा १० दिनमा पहिरो हटाएर एकतर्फी सडक खुलाइएको थियो । २४ भदौको साँझबाट मुस्किलले एकतर्फी साधन सञ्चालन हुने गरी खुलाइएको थियो ।

एक सातासम्म पनि झरी नरोकिँदा पहिरो खसेको स्थानबाट गेग्रान खस्ने क्रम नरोकिँदा आयोजना कार्यालयलाई सडककै फोहोर हटाउन समस्या भयो । पछिल्लो सातामा ठूलो झरी नपरेको भए पनि सडक छेउमा थुपारेको माटो र ढुंगा हटाउनै समस्या भएको छ । चाडबाडसँगैको सवारी चाप र लामो समयपछि खुलेका व्यवसाय, विद्यालयसहितका यातायात तथा मालबाहक साधनको चाप थेगिनसक्नुको छ । यही चापका कारण एक्स्काभेटर र टिपरले सहज रूपमा काम गर्न नसक्दा सडक सहज हुन नसकेको हो ।

दसैं, तिहारलगायत पर्व नजिकिएसँगै राजमार्गमा सवारी र यात्रुको चाप बढ्दो छ । बढ्दो चापलाई ध्यानमा राख्दै सडक सहज बनाउन प्रयास भइरहेको आयोजनाले जनाएको छ । तर, वर्षा नरोकिँदा सडक पुरानै अवस्थामा निर्माण गर्न अझै केही महिना लाग्ने कार्यालयका सूचना अधिकारी इन्जिनियर उज्ज्जल शर्माले बताए ।

‘काम कुनै दिन रोकिएको छैन,’ उनले भने, ‘वर्षा रोकिएकै छैन । चाडबाड आइहाले । दुईतर्फी सडक सञ्चालन र भत्किएका संरचना निर्माण गर्न अझै केही महिना लाग्छ ।’ राजमार्गमा यात्रुलाई सहज यात्रा गर्ने गरी दुई लेनको ट्र्याक मात्रै खुलाउने गरी काम भइरहेको उनले बताए ।

पहिरोले मध्यपहाडी राजमार्गको कुश्मा–पातीचौरको साढे ८ किलोमिटर खण्डमा मात्रै करिब २५ करोड बराबरको क्षति भएको आयोजना कार्यालयका प्रमुख मेघराज मरासिनीले बताए । उनका अनुसार क्षति भएका संरचना पुनर्निर्माण गर्नका लागि निर्माणाधीन सडकको व्यावसायिक कम्पनी लामा कन्स्ट्रक्सनसँग छलफल भइरहेको छ ।

प्रकाशित : आश्विन १०, २०७८ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?