पोखरामा कुकुर पाल्न अब महानगरपालिकाको अनुमति लिनुपर्ने

प्रतिकुकुर एक सय रुपैयाँ शुल्क, दुई दिनमा १४० दर्ता
ऐनविपरीत कार्य गर्ने कुकुरधनीलाई ५ देखि १५ हजार रुपैयाँसम्म जरिवाना
दीपक परियार

पोखरा — सेतो र कालो छिर्केमिर्के कुकुर डोर्‍याएर अनु सिग्देल दम्पती शुक्रबार पोखरा–८ को सिर्जनाचोकमा रहेको वडा कार्यालय पुगे । एक वर्षअघि अनलाइनबाट १६ हजार रुपैयाँमा मगाइएको डाल्माटिएन प्रजातिको कुकुर दर्ता गर्न उनीहरू वडा कार्यालय पुगेका हुन् ।

पोखरामा कुकुर पाल्न अब महानगरपालिकाको अनुमति लिनुपर्ने

महानगरपालिकाले नेपालमै पहिलोपल्ट कुकुरको दर्ता अनिवार्य गरेको हो । महानगरको छैटौं नगरसभाले पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०७६ पारित गरेको थियो । उक्त ऐनमा कुकुरपालकले अनिवार्य दर्ता गरेर अनुमतिपत्र लिनुपर्ने व्यवस्था थियो । ऐन पारित भएको दुई वर्षपछि कार्यान्वयनमा आएको हो । ‘कुकुरको तथ्यांक राख्नु उपयुक्त हो,’ पोखरा–८ शान्तिमार्गकी सिग्देलले भनिन्, ‘दर्ताको निहुँमा राजस्व मात्रै उठाउने हो भने राम्रो होइन ।’

महानगरपालिकाले बिहीबारबाट आफ्ना १० पशु सेवा केन्द्रमा दर्ता प्रक्रिया सुरु गरेको छ । सेवा केन्द्र नभएको वडा नम्बर ८ मा भने बिहीबार र शुक्रबार क्याम्प राखिएको थियो । कुकुरपालकले एक सय रुपैयाँ बुझाएपछि कुकुर दर्ता तथा पाल्ने अनुमतिपत्र पाउँछन् ।

महानगरले पशुधनीको नाम, ठेगाना, घर नम्बर, फोन नम्बर, कुकुरको जाति, जात/नश्ल, उमेर, बोलाउने नाम, रङ र लिंगको रेकर्ड राख्छ । अनुमतिपत्रसँगै बेल्टमा ट्याग झुन्ड्याइन्छ । ऐनबमोजिम दर्ता भएका कुकुरलाई छाडा छोड्न नपाइने, घरबाहिर दिसापिसाब गराउन नहुने प्रावधान छ । ऐनविपरीत कार्य गरे कुकुरपालकलाई ५ देखि १५ हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था गरिएको छ । छाडा छोडिएका कुकुर कसको हो भन्ने ट्यागबाट पत्ता लगाउने र जरिवाना गरिने वडा ८ का अध्यक्ष रुद्रनाथ बरालले बताए । ‘कुकुर पालेर बूढो भएपछि सडकमा छोडिदिने समस्या छ । अर्को भनेको कुकुर डोर्‍याउँदै ल्याएर सार्वजनिक स्थलमा दिसापिसाब गराउँछन्,’ उनले भने, ‘दर्ता प्रक्रियापछि अब यो समस्या आउँदैन ।’

पशु सेवा शाखाका प्रमुख नवराज अधिकारीका अनुसार बिहीबार र शुक्रबार महानगरभित्र १ सय ४० कुकुरको दर्ता भएको छ । वडा नम्बर ८ मा मात्रै ७८ पशुधनीले कुकुर दर्ता गरेका छन् । बिहीबार सुरु भएदेखि निरन्तर दर्ता प्रक्रिया चल्ने उनले बताए । ‘दर्ता गरेर कुकुरलाई व्यवस्थित रूपमा पाल्दा तथ्यांक अभिलेखीकरण प्रभावकारी हुन्छ,’ उनले भने, ‘रेविजविरुद्धको भ्याक्सिन लगाएको/नलगाएको छुट्याउन सजिलो हुन्छ । नलगाएको भए ताकेता गर्छौं ।’

पशु सेवा शाखाले छाडा कुकुरलाई व्यवस्थित गर्ने अभियान पनि चलाएको छ । सेप्टेम्बर २२ मा विश्व रेविज दिवस मनाउने क्रममा पशुसँग सम्बन्धित संघसंस्थाको सहकार्यमा अभियान थालिएको हो । अभियानअन्तर्गत छाडा कुकुरलाई समातेर भ्याक्सिन लगाउने, बिरामी भए उपचार गरेर छाड्ने गरिएको शाखा प्रमुख अधिकारीले बताए । असोज १२ पछि कुकुरको निःशुल्क बन्ध्याकरण सेवा पनि शाखाले दिनेछ । अभियानमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्की, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पोखरा, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, नेपाल पारा भेटेरिनरी एन्ड लाइभस्टक एसोसियसन (नेब्ला), नेपाल भेटेरिनरी एसोसिएसन, नेपाल पशु स्वास्थ्य प्राविधिक संघ (नेल्टा) र हिमालय एनिमल रेस्क्यु ट्रस्ट (हार्ट) को सहभागिता छ ।

पशुपन्छी रोग अन्वेषण प्रयोगशाला प्रमुख केदारराज पाण्डेका अनुसार रेविजका कारण नेपालमा हरेक वर्ष २ सय जनाको मृत्यु हुन्छ । यसको लक्षण देखिएपछि बचाउन सकिँदैन । फ्याउरो र स्यालबाट कुकुरमा रेविज सर्छ भने छाडा कुकुरबाट घरपालुवामा सर्छ ।

प्रकाशित : आश्विन ९, २०७८ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?