पूर्वी नवलपरासीमा कांग्रेसको नगर अधिवेशन फेरि सर्यो
पूर्वी नवलपरासी — कांग्रेस महामन्त्री शशांक कोइरालाको गृहजिल्ला पूर्वी नवलपरासीमा नगर अविधेशन आउँदो सोमबार हुने भएको छ । जिल्ला निर्वाचन अधिकृत गोविन्द सिग्देलका अनुसार केही पालिकामा प्राविधिक समस्या देखिएकाले पूर्वनिर्धारित कार्यक्रम अनुसार शनिबार हुन नसक्ने भएकाले निर्वाचन कार्यतालिकामा फेरबदल गरिएको हो ।
नयाँ कार्यतालिकाअनुसार आउँदो सोमबार मनोनयन गर्ने गरी अधिवेशन तीन दिन पछिका लागि सारिएको हो । निर्वाचन समितिले ८ वटै पालिकामा मतदान अधिकृत खटाएको छ । यहाँका ८ वटा पालिकामा आउँदो सोमबार निर्वाचनका उम्मेदवारहरुको मनोनयन गरिने र मंगलबार मतदान हुने गरी कार्यतालिका सार्वजनिक भएको छ ।
४ वटा नगरपालिका र ४ वटा गाउँपालिका रहेको पूर्वी नवलपरासीमा रहेका १६ हजार ४ सय ८२ क्रियाशील सदस्यबाट चुनिएका १८ सय प्रतिनिधि मतदाता रहेका छन् ।
प्रकाशित : आश्विन ८, २०७८ २०:४६