चुम उपत्यकामा देखिएको खाद्यान्न समस्या समाधान गर्न पहल गर्छु : गृहमन्त्री

हरिराम उप्रेती

गोरखा — गृहमन्त्री बालकृष्ण खाँणले एक महिनादेखि अवरुद्ध रहेको चुम उपत्यकाको गोरेटो बाटो खुलाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् । चुमनुब्री गाउँपालिका–६ चुम्चेतस्थित सिप्चेतमा पुननिर्माण भएको मानखाङ गुम्बाको उद्घाटनमा पुगेका गृहमन्त्री खाँडले बाटो खुलाउने दायित्व सरकारको भएको बताए । ‘केही समयभित्र खाद्यान्न पनि हेलिकप्टरबाट पुर्‍याउने व्यवस्था मिलाउँछौं,’ उनले भने ।

चुम उपत्यकामा देखिएको खाद्यान्न समस्या समाधान गर्न पहल गर्छु : गृहमन्त्री

गुम्बा उद्घाटनमा उत्तरी गोरखा पुगेका गृहमन्त्री बालकृष्ण खाँण समक्ष यहाँका स्थानीयले हिँड्ने बाटो खुलाउनेदेखि मोबाइल सेवा सर्वसुलभ बनाइदिन सम्मका माग राखेका थिए । स्थानीयले बाटो अवरुद्ध हुँदा खाद्यान्नको अभाव भएको समस्या सुनाएका थिए । चमुनुव्री गाउँपालिका अन्तर्गत चुम्चेत र छेकम्पार पुग्ने पैदलमार्ग एक महिनादेखि अवरुद्ध छ । चुम्चेतस्थित लोक्पामा भदौ १ गते खसेको पहिरो अझै रोकिएको छैन । पैदलमार्ग अवरुद्ध हुँदा दुई वडामा खाद्यान्न लगायतका उपभोग्य सामाग्री ढुवानी हुन सकेको छैन ।

शुक्रबार हेलिकप्टरबाट सिप्चेत पुगेका गृहमन्त्रीलाई स्थानीयले तत्काल राहतको व्यवस्था गरिदिन माग गरे । ‘एक महिनादेखि हिँड्ने बाटो छैन, चामल लान पनि सकेनौं, ‘हेलिकप्टरबाट तत्काल खाद्यान्न वितरणको ब्यवस्था गर्न माग गर्‍यौं,’ स्थानीय सेराप गुरुङले भने । चुमनुव्री गाउँपालिका–६ र ७ नम्वर वडाको तर्फबाट ज्ञापनपत्र बुझाउँदै घोरेटोबाटोको सम्भाव्यता अध्ययन गरी वैकल्पिक मार्ग खोल्न पनि स्थानीयले माग गरेका छन् । त्यस्तै एनटिसी टावर तत्काल सुचारु गर्नका लागि पनि गृहमन्त्री समक्ष माग गरिएको उनले बताए । ‘सीडिएमए फोन गडबड भइरहन्छ, सञ्चार अभावले समस्यामा पर्‍यौं,’ गुरुङले भने,‘एनटिसिको टावर बनिरहेको छ, त्यसलाई चाँडो सुचारु गर्न पहल गरिदिन मन्त्रिलाई भन्यौं ।’ चुम्चेतमा प्रहरी चौकी स्थापनाको पनि माग गरिएको गुरुङले बताए । छेकम्पार र सिर्दिवासको प्रहरी चौकि दुरिका हिसावले टाढा भएकाले गाउँमै प्रहरी चौकि स्थापनाको माग गरिएको स्थानीय बताउँछन् ।

तस्बिर सौजन्य : गृह मन्त्रालय

गृहमन्त्री खाँडले पहिरोले अवरुद्धले खाद्यान्न ढुवानी नहुदाँको समस्या समाधानका लागि पहल गर्ने बताए । लोक्पाको पहिरो नियन्त्रणका लागि पनि पहल हुने उनले बताए । ‘तत्काल हेलिकप्टरबाट चामल लगायतका राहतको व्यवस्था मिलाउँछौं भन्नुभएको छ,’ गुरुङले भने । गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखामार्फत खाद्यान्नको व्यवस्था मिलाउने खाँणले आश्वासन दिए ।

२०७२ वैशाख १२ को भूकम्पले भत्काएको ‘चुम सिप्चेत मानखाङ’ गुम्बाको उद्घाटन गरिएको छेकम्पारका वाङ्तु राप्तेन लामाले बताए । दुई सय वर्ष पुरानो उत्त गुम्बा सिप्चेतका स्थानीय खेम्वो कर्मा दावाले पुनर्निर्माण गरेका हुन् ।

प्रकाशित : आश्विन ८, २०७८ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?