२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

अन्नपूर्ण पदमार्गमा भित्रिए पर्यटक

७२ घण्टाभित्रको नेगेटिभ देखिएको पीसीआर रिपोर्ट वा खोप लगाएको कार्ड अनिवार्य
आश गुरुङ

लमजुङ — पछिल्लो वर्ष शून्यप्रायः देखिएको विश्वविख्यात चक्रीय अन्नपूर्ण पदमार्गमा छिटफुट पर्यटक भित्रन थालेका छन् । निषेधाज्ञाका कारण बन्द उक्त पदमार्ग पर्यटक आवागमनका लागि हालै मात्र खुला गरिएपछि पर्यटक आवागमन हुन थालेको हो ।

अन्नपूर्ण पदमार्गमा भित्रिए पर्यटक

पदमार्गको धेरै ठाउँ ओगट्ने मनाङ र मुस्ताङले पर्यटक आवागमनका लागि खुला गरेपछि अहिले छिटफुट विदेशी पर्यटक भित्रिएका हुन । कोभिड सर्ने डरले पदमार्ग क्षेत्रका जिल्लाले पर्यटक आवागमन रोकेपछि चक्रीय अन्नपूर्ण पदमार्ग शून्यप्रायः थियो ।

पछिल्लो समय सरकारले निषेधाज्ञालाई खुकुलो बनाएसँगै चक्रीय अन्नपूर्ण पदमार्गले छोएका मनाङ र मुस्ताङले पर्यटकका लागि आफ्नो जिल्ला खुला गरेसँगै पर्यटक आवागमन सुरु भएको हो । मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जिल्ला केभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले औपचारिक रूपमा असोज १ देखि पर्यटक आवागमन खुला गरेको बताए । ‘छिटफुट पर्यटक आउने गरेका छन् । हामीले ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट वा खोप लगाएको कार्ड अनिवार्य गरेका छौं,’ उनले भने । स्थानीय बासिन्दा र कर्मचारीमा भने लागू नगरिएको उनले बताए । मुस्ताङले भने ७२ घण्टाको पीसीआर रिपोर्ट अनिवार्य गरेको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङको धारापानी चेकपोस्टका पर्यटन सहायक क्षेत्र गुरुङका अनुसार सेप्टेम्बरको तेस्रो सातासम्म ५५ पर्यटक अन्नपूर्ण पदमार्गमा आएका छन् । जनवरी र फेब्रुअरीमा भने पर्यटन आवागमन शून्य थियो । मार्चमा ६६, अप्रिलमा ३ सय ६६, मेमा ४८ जना पर्यटक आएको उनले बताए । जुन र जुलाईमा १/१ जना पर्यटक मात्रै आए । अगस्टमा ३ जना आए ।

‘अब पर्यटकका लागि पदमार्ग खुला भयो । सायद पर्यटक बढ्छ होला’ उनले भने । सन् २०१८ मा २९ हजार ४ सय ८४ जना पर्यटक भित्रिएका थिए । २०१९ मा २६ हजार ६ सय ४७ जना पर्यटक आए । सन् २०१९ को डिसेम्बर अन्तिमतिर चीनको वुहानबाट कोभिड फैलिएको थियो । सन् २०२० मा १ हजार ९ सय ७६ जना विदेशी पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गमा भित्रिए ।

एक्याप मनाङ प्रमुख लेखनाथ गौतमका अनुसार पर्यटकका लागि चक्रीय अन्नपूर्ण पदमार्ग खुला गरिएको छ । उनले विस्तारै पर्यटक आउन थालेको र थोराङला पास (५४१६ मि.) गरेर मुस्ताङ जाने गरेको बताए । पर्यटकलाई लमजुङ सीमा क्षेत्रका सीमा प्रहरी चौकी ताल, सीमा प्रहरी चौकी धारापानी, धारापानीस्थित एक्यापको पर्यटक चेकजाँच केन्द्रले चेकजाँच गरेर गन्तव्यमा पठाउने गरेका छन् ।

कोभिडविरुद्धको खोपको मात्रा पूरा नगरेका वा ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट नभएकालाई भने फिर्ता पठाइने गरिएको छ । पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङका अनुसार अहिले १/२ जना पर्यटक देखिएका छन् । यसले केही सकरात्मक सन्देश दिन खोजेको उनले बताए ।

प्रकाशित : आश्विन ८, २०७८ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?