सोलेडाँडा घुम्न जाने बढे

प्रकाश बराल

बागलुङ — पर्यटक भित्र्याउने उद्देश्यसाथ जिल्लाको सोलेडाँडामा भौतिक संरचना र सडकमा लगानी गरिएको छ । तमानखोला गाउँपालिकाले यहाँ पुग्ने सडकलाई स्तरीय बनाउने अभियानदेखि संरचनामा लगानी गरेको हो ।

सोलेडाँडा घुम्न जाने बढे

हिमाली दृश्य हेर्ने, पैदलयात्रा गर्ने र आकर्षक ग्रामीण बस्तीमा रम्न अधिकांश मानिस सोले पुग्ने गर्छन् । यहाँ पुग्न प्रयोग हुने तमानखोलाको बुंगादोभानदेखिको सडकलाई स्तरीय बनाइएको छ । गाउँपालिका, गण्डकी प्रदेश सरकार र स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमसमेतको ३ करोड रुपैयाँ लगानी गरेर बोङगादोभानदेखि सोलेसम्मको सडकस्तरीय बनाइएको हो ।

बोङगादोभानदेखि तमान, लामेला हुँदै सोले मार्गले २ जिल्ला जोड्ने भएकोले रणनीतिक सडकमा सूचीकृत गरिएको छ । म्याग्दीको दरवाङदेखि ओखरबोटसम्म खनिएको सडकमा स्थानीयले चन्दाबाट ६० लाख रुपैयाँ जुटाएर केही वर्षअघि नै सडक जोडेका थिए ।

दोहोरो सडक खुलेपछि स्थानीयले जिप रिजर्भ गरेर सोले घुम्न जाने बढेका छन् । उत्तरतर्फ धौलागिरि, नीलगिरि र अन्नपूर्ण हिमाली शृंखला हेर्ने, दक्षिणतर्फ गुल्मीसम्मका बस्ती, पश्चिममा ढोरपाटन र दक्षिणमा म्याग्दीको दरबाङसम्म देखिने भएपछि पर्यटकको रोजाइमा सोले परेको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए । यहाँ वर्षात्का केही समयबाहेकको अन्य बेला घुम्न जाने नियमित हुने गरेको बुढाले बताए । ‘गाडी लिएर सजिलै पुगिने रहेछ, घुम्न पनि रमाइलो छ,’ जैमिनी नगरपालिका–९ का अमृत श्रीषले भने, ‘आउँदा टाढा जस्तो, आएपछि रमाइलो रहेछ ।’ गाउँपालिकाले सोलेमा रहेका पुराना पोखरी संरक्षण गरेको छ । पर्यटक बस्न काठ र सिमेन्टका बेन्च बनाइएको छ ।

पर्यटक बढ्न थालेपछि सोलेडाँडामा तमानखोला गाउँपालिकाले सार्वजनिक शौचालय, सहिद स्मृति पार्क र हिमाल हेर्ने भ्यु प्वाइन्ट पनि बनाएको छ । २ हजार ६ सय मिटरको उचाइमा रहेकोले फागुन, चैतमा लालीगुराँस धेरै पाइन्छ । बागलुङको घोडाबाँधेदेखि ताराखोला, डुडेलेकबाट पदयात्रा गरेर पनि सोलेडाँडा पुग्न सकिन्छ । बयलधुरी, मालिका, नौदले हुँदै गुर्जाघाटबाट ढोरपाटन जाने मार्गको डीपीआर बनाउन चालु वर्ष बजेट विनियोजन गरिएको बुढाले बताए । सोले लक्षित गरेर ताराखोलाको हिले, तमानको लामेला र बोङगादोभानलगायत बस्तीमा होमस्टे सुरु भएका छन् ।

‘कोरोना संक्रमण नभएको भए सयौं पर्यटक पुर्‍याइन्थ्यो, अहिले पनि केही आइरहेका छन्,’ तमानखोला–४ का अध्यक्ष उदिम छन्त्यालले भने, ‘अब विदेशी पर्यटक भित्र्याउने काम गर्छौं ।’

देशभरि नै विदेशी पर्यटक नआएकोले काम अगाडि नबढेको हो ।’ ढोरपाटन जाने पदमार्गको नामकै कारण विदेशी पर्यटक ल्याउन सकिने उनले बताए । सोले पुग्नेले तमान गाउँ पनि घुम्न पुग्छन् । तमानखोलामा स्थानीय परिकारदेखि मगर संस्कृतिका दर्जनौं विविधता हेर्न पाइन्छ । सोले हुँदै म्याग्दीको दरवाङ र बेनीबजार पुग्न सकिन्छ ।

प्रकाशित : आश्विन ८, २०७८ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?