कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

मध्यनेपाल र मर्स्याङ्दीमा स्थानीय पाठ्यक्रम

लमजुङ — पहिलोपटक स्थानीय तह सञ्चालनको उत्तरार्द्धमा मध्यनेपाल नगरपालिका र मर्स्याङ्दी गाउँपालिकाले आफ्ना विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरेका छन् । जिल्लामा ४ नगरपालिका र ४ गाउँपालिका भए पनि ६ स्थानीय तहले पाठ्यक्रम निर्माण गरेका छैनन् ।

मध्यनेपाल र मर्स्याङ्दीमा स्थानीय पाठ्यक्रम

स्थानीय तहभित्रको ऐतिहासिक, सांस्कृतिक, पौराणिक विषयवस्तु समेटेर विद्यालयमा चालु शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गरिएको हो । पाठ्यक्रममा स्थानीय परिवेशलाई समावेश गरिएको छ ।

मर्स्याङ्दी गाउँपालिका शिक्षा शाखा प्रमुख देवराज पौडेलका अनुसार स्थानीय पाठ्यक्रममा गाउँपालिकाको ऐतिहासिक, पर्यटकीय स्थल, संस्कृति, रहनसहन, वेशभूषा, विशिष्ट व्यक्तित्वको चिनारी समावेश गरिएको छ । ‘केही विषयवस्तु पाठ्यक्रममै छन् । केही विषयवस्तु भने शिक्षकले सम्बन्धित स्थान, व्यक्तिबारे खोजी गरी विद्यार्थीलाई सिकाउनुपर्नेछ’ उनले भने । मध्यनेपाल नगरपालिका शिक्षा शाखा प्रमुख श्रीप्रसाद भट्टराईले स्थानीय स्रोतसाधन तथा स्थानीय परिवेशका विषयवस्तुलाई समेटेर पाठ्यक्रम निर्माण गरिएको बताए । ‘पाठ्यक्रममा स्थानीय तहभित्रको ऐतिहासिक, सांस्कृतिक, भौगोलिक क्षेत्र र यसभित्रको विविधता समेटिएको छ’ उनले भने ।

मध्यनेपाल र मर्स्याङ्दीले १ देखि ५ कक्षासम्मका विद्यार्थीका लागि स्थानीय पाठ्यक्रम लागू गरेको छ । मध्यनेपालभित्रका ५० विद्यालय र मर्स्याङ्दीभित्रका ५५ विद्यालयमा चालु शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गरिएको हो । मध्यनेपाल नगर प्रमुख रमेशकुमार पाण्डेले सरोकारवालाको सुझावका आधारमा पाठ्यक्रम निर्माण गरी लागू गरिएको बताए ।

‘पाठ्यक्रममा स्थानीय स्रोतसाधनको परिचालन, धर्मसंस्कृतिको प्रवर्द्धन, सामाजिक, राजनीतिक क्षेत्रमा योगदान दिएका व्यक्तित्वबारे विषयवस्तु बनाइएको छ’ उनले भने । बालबालिकालाई आफ्नै स्थानीय तहको परिवेशबारे जानकारी गराउन नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गरेको उनले बताए । मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले विद्यार्थीलाई भूगोल, संस्कार, संस्कृति, रीतिरिवाजबारे जानकारी गराउन स्थानीय पाठ्यक्रम लागू गरिएको बताए । ‘बालबालिकाले आफ्नै परिवेशबारे थाहा पाउनेछन् । गाउँठाउँमा भएका राष्ट्रिय–अन्तर्राष्ट्रिय सम्पदाबारे जानकारी लिनेछन्’ उनले भने ।

प्रकाशित : आश्विन ८, २०७८ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?