कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

गोरखामा देखियो ‘लम्पी स्किन’

हरिराम उप्रेती

गोरखा — भाइरल संक्रमणबाट शरीरमा गिर्खा आउने रोग ‘लम्पी स्किन’ गोरखाका गाईभैंसीमा तीन सातायता देखा परेको छ । आरुघाट र भीमसेन थापा गाउँपालिका तथा पालुङटार नगरपालिकाका कृषकले पालेका गाईभैंसीमा उक्त रोग देखिएको हो । 

गोरखामा देखियो ‘लम्पी स्किन’

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. ऋषिराम सापकोटाका अनुसार उक्त रोग गोरखाका लागि नयाँ हो । गण्डकी प्रदेशका अन्य जिल्लामा देखिए पनि गोरखामा भने पहिलोपल्ट उक्त रोग देखा परेको उनले बताए । ‘यसको मुख्य लक्षण भनेको बस्तुभाउका शरीरमा गिर्खा आउने र बढ्दै जाने हो,’ उनले भने, ‘यो भाइरल इन्फेक्सन हो ।’ नेपालको पूर्वी क्षेत्रमा गत वर्षदेखि देखापरेको उक्त रोग गोरखाका लागि नयाँ ‘केस’ भएकाले विशेष निगरानीमा उपचार पद्धति अपनाइएको सापकोटाले बताए ।

तीन साताअघि आरुघाट गाउँपालिका–८ को एउटा गोरुमा समस्या देखिएपछि जाँच गराउँदा लम्पी स्किन रोगको पहिचान भएको थियो । तीन साताको अन्तरालमा २५–३० वटा पशुबस्तुमा लम्पी स्किन भेटिएको केन्द्रले जनाएको छ । लम्पी स्किनसँग मिल्दोजुल्दो लक्षण देखिएपछि केन्द्रले ६ वटाको इलाइजा परीक्षणको लागि नमुना संकलन गरी पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पोखरा पठाएको थियो । ६ वटैको स्याम्पलको रिपोर्ट पोजिटिभ भएको केन्द्रका प्रमुख सापकोटाले बताए । ‘परीक्षणको रिपोर्टले लम्पी स्किन नै भनेर पुष्टि भइसक्यो,’ उनले भने, ‘फेरि पीसीआर परीक्षणको लागि काठमाडौं स्याम्पल पठाएका छौं । रिपोर्ट भने आउन बाँकी छ ।’

काठमाडौंस्थित केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पनि पीसीआर परीक्षणको लागि पठाइएको उनले बताए । गाईभैंसीको घाउ भएको छाला खुर्किएर तथा रगतको नमुनाबाट गरी दुई विधिबाट पीसीआर परीक्षण गरिएको उनले बताए ।

पशुको छालामा गिर्खा आउने, उच्च ज्वरो, घाँस, पराल नखाने उक्त रोगको लक्षण रहेको सापकोटाले बताए । ‘यो रोग लागेपछि दुधालु गाईभैंसीबाट दूध उत्पादन घट्दै जान्छ,’ सापकोटाले भने । झिंगा, लामखुट्टे र किर्नाको टोकाइबाट यो रोग अधिकांश गाईगोरुमा देखिएको छ । ‘भैंसीको तुलनामा गाईगोरुमा छाला पातलो हुने भएकाले यो रोगको संक्रमण बढी छ,’ उनले भने । ‘चिसो सिजन पनि सुरु हुन लाग्यो । चिसोमा किर्ना, झिंगा र लामखुट्टे पनि कम हुँदै जान्छन्,’ उनले भने, ‘सरसफाइमा चाहिँ ध्यान दिनुपर्‍यो, अब जाडो मौसम पनि सुरु हुन लागेकाले रोग कन्ट्रोल हुँदै जान्छ ।’ रोग देखिएका पशुबस्तुको ओसारपसार नगर्न पनि केन्द्रले कृषकलाई आग्रह गरेको छ ।

‘एक पशुबाट अर्कोमा सरेको त देखिँदैन तर भाइरल रोग भएकाले यही औषधि भन्ने पनि छैन,’ उनले भने, ‘लक्षणअनुसार उपचार पद्धति अपनाइन्छ, ज्वरो देखिए ज्वरोको औषधि दिइन्छ । छालाको समस्या देखिए छालाको उपचार पद्धति अपनाएका छौं ।’

प्रकाशित : आश्विन ८, २०७८ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?