१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

युनाइटेड मोदीको उत्पादन ठप्प

अगन्धर तिवारी

पर्वत — भदौ १७ मा आएको बाढीले क्षतविक्षत बनाएको १० मेगावाट क्षमताको युनाइटेड मोदी आयोजना सुचारु हुन सकेको छैन । बाढीले नहर, बाँधस्थल, सेयर वाल, स्ल्याबलगायतका संरचना भत्किएका कारण अझै आयोजना सञ्चालनमा आउन सकेको छैन ।

युनाइटेड मोदीको उत्पादन ठप्प

पर्वतको मोदीखोला–१ जलविद्युत् आयोजनाको विद्युत् गृहदेखि मोदी सबस्टेसन जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइनको चार नम्बर टावर पहिरोले ढालेको हो । टावर ढलेसँगै मोदी–१ विद्युत् गृहमा पठाउने पानीको नहरको ५ सय मिटर भागमा लेदोसहितको माटो थुप्रिएको छ । उक्त आयोजनाको बाँधमा क्षति पुगेको छ ।

भीषण वर्षासँगैको बाढीले कुश्मा–८ चुवा र आसपासमा पहिरोले ठूलो क्षति बनाएको थियो । आयोजनाको मुख्य नहरको करिब एक किमि क्षेत्र क्षतविक्षत बनाएको छ । त्यसबाहेक युनाइटेड मोदी आयोजनाले नै निर्माण गरेको विद्युत् प्रसारण टावरसमेत पहिरोले ढालेको छ ।

ढालेको टावर निर्माणमा मात्रै करिब डेढ करोड रुपैयाँ खर्च लाग्ने आयोजना कार्यालयले जनाएको छ । आयोजनाको विद्युत् उत्पादन रोकिँदा दैनिक १० देखि ११ लाख रुपैयाँको नोक्सान भइरहेको युनाइटेड मोदी हाइड्रोपावर कम्पनीका सञ्चालक उपेन्द्र गौतमले बताए ।

‘हाम्रो नोक्सान मात्रै ५ करोड रुपैयाँ भएको छ,’ उनले भने, ‘अहिलेसम्म निर्माणकै चरणमा छौं । अझै केही समय लाग्छ ।’ आयोजनाको संरचना र हालसम्म उत्पादन हुने विद्युत्को नोक्सान मात्रै करिब सात करोड रुपैयाँ भइसकेको उनले बताए ।

सोही दिनको पहिरोले युनाइटेड मोदी कम्पनीले नै निर्माण गरेको प्रसारण लाइनको टावर ढाल्दा करिब २ साता धौलागिरिको विद्युत् प्रसारण रोकिएको थियो । टावर पुरानै अवस्थामा पुनर्निर्माण गर्न अझै केही महिना लाग्ने कम्पनीले जनाएको छ । टावर निर्माणमा ढिलाइ हुने भएपछि विद्युत् प्राधिकरणले प्रसारण लाइनको अस्थायी व्यवस्था गरेर म्याग्दी र मुस्ताङमा उत्पादित विद्युत् प्रसारण लाइनमा पठाएको छ ।

‘अहिलेका लागि अस्थायी टावर बनाएर म्याग्दी र मुस्ताङको उत्पादन नेसनल ग्रिडमा पठाइएको छ,’ खुर्कोट–दाना प्रसारण लाइन (कालीगण्डकी प्रसारण करिडोर) आयोजनाका प्रमुख चन्दनकुमार घोषले भने, ‘मोदीको टावर बनेपछि सोही टावरमा जोडिन्छ ।’ सोही टावर हुँदै १० मेगावाटको मोदी–१ सहित म्याग्दीको अन्नपूर्ण–४ नारच्याङस्थित ४२ मेगावाटको मिरिस्तीखोला, ५ मेगावाटको घलेम्दीखोला र मुस्ताङको थासाङ–१ टुकुचेको १३.६ मेगावाटको थापाखोला जलविद्युत् आयोजनाको उत्पादन प्रसारण भइरहेको थियो । युनाइटेड मोदीको मोदी–१ बाहेक म्याग्दी र मुस्ताङको विद्युत् भने भदौ ३१ देखि राष्ट्रिय प्रसारण लाइनमा जोडिइसकेका छन् ।

युनाइटेड मोदीकै मोदी–१ आयोजनाको विद्युत् मोदी ग्रिड हुँदै राष्ट्रिय प्रसारणमा पठाउन दशकअघि निर्माण गरिएको ४ नम्बर टावर ढलेको हो । गत माघमा सम्पन्न भएको खुर्कोट–दाना प्रसारण लाइन सम्पन्न भएपछि मुस्ताङ र म्याग्दीमा उत्पादित विद्युत् पनि यही बाटो हुँदै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो । दोबिल्ला फाँटको टावर चुवाको भीरबाट खसेको पहिरोले ढालेर मोदी किनारमा पुर्‍याएको छ ।

प्रकाशित : आश्विन ७, २०७८ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?