कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खाल्डाखुल्डीले जोखिमपूर्ण बन्दै राजमार्ग

जिम्मेवार निकायले सडक मर्मत र स्तरोन्नति नगर्दा दुर्घटनाको जोखिम बढ्यो
सम्झना रसाइली

तनहुँ — चार वर्षदेखि दमौली–पोखरा गुड्ने माइक्रो बस चलाइरहेका चालक तुलबहादुर पौडेललाई पृथ्वी राजमार्गमा भएका ठुल्ठूला खाल्डाखुल्डीले झस्काउँछ । राजमार्गको तनहुँ खण्डमा खाल्डाखुल्डी छल्दै गाडी गुडाउँदा दैनिकजसो दुर्घटना हुने गरेको उनले बताए ।

खाल्डाखुल्डीले जोखिमपूर्ण बन्दै राजमार्ग

‘सडक बिग्रिएको पनि लामो समय भयो, मर्मतमा आजसम्म सम्बन्धित निकायको ध्यान पुगेको छैन,’ चालक पौडेल भन्छन्, ‘आफ्नो गल्ती नभए पनि दुर्घटनाको सिकार बन्नुपर्ने त्रास प्रत्येक यात्रामा हुन्छ । पहिरो र खाल्डाखुल्डीले सडक जाम हुँदा समयमै गन्तव्य पुग्न पनि कठिन छ ।’

पृथ्वी राजमार्गको तनहुँ खण्डमा खाल्डैखाल्डा अत्यधिक छन् । मुग्लिनदेखि कोत्रेसम्मको ७२ किलोमिटर सडक खण्डको ठाउँठाउँमा साना–ठूला खाल्डा हुँदा सहज रूपमा सवारी साधन सञ्चालन गर्न कठिन छ । यस वर्षको मनसुनी झरीसँगै राजमार्ग क्षेत्रमा गएका पहिरोका कारण पनि अहिले राजमार्गको यात्रालाई जोखिमपूर्ण बनाएको छ । पहिरो र खल्डाखुल्डीका कारण सडक पनि साँघुरिँदै गएको छ ।

पानी पर्दा हिलो र घाम लाग्दा धुलोको सामाना गर्दै यात्रा गर्नुपर्ने समस्या रहेको अर्का चालक पदमबहादुर दर्लामी बताउँछन् । उनले राजमार्गमा उड्ने धुलोले आँखामा असर पुर्‍याउँदा सवारी चलाउँनै अप्ठेरो हुने गरेको अनुभव सुनाए । दैनिक हजारौं सवारी साधन आवातजावत गर्ने पृथ्वी राजमार्ग सडक डिभिजन कार्यालय कै बेवास्ताले थप बिग्रिएको उनको आरोप छ । भन्छन्, ‘सडक सुरक्षाको जिम्मेवारी पाएको निकायले सडकको मर्मत तथा स्तरोन्नति नगर्दा सडकका खाल्डाखुल्डीले सवारी दुर्घटनाको जोखिमलाई बढाउँदै लगेको छ ।’

पछिल्लो समयमा हुने सवारी दुर्घटनाको प्रमुख कारकमध्ये राजमार्गका ठाउँठाउँमा भत्किएका पिच सडक पनि एक हो । तीव्र गतिमा गुड्ने सवारीका चक्का खाल्डोमा परेपछि दुर्घटनामा पर्ने गरेका सवारी चालक बताउँछन् । अझ सडकका खाल्डाखुल्डीले दुई पांग्रे सवारी चालक थप पीडित छन् । खराब सडकका कारण चालकमात्र होइन यात्रु पनि उत्तिकै पीडित हुन पुगेका छन् । यात्राका समयमा टायर खाल्डोमा पर्दा हुने धक्कामुक्काले शरीर दुख्ने र छोटो यात्रामा पनि थकान महसुस हुने यात्रु पूजा थापा बताउँछिन् ।

‘खाल्डो परेको सडक टाल्ने काम गरिन्छ तर गुणस्तरीय नहुँदा केही समयमै फेरि भत्किन्छ,’ उनले भनिन्, ‘मर्मत गर्दा पनि आँखामा छारो हाल्ने तरिकाले काम मात्रै हुने गरेकाले सवारी चालक र यात्रुले समस्या झेल्नुपरेको छ ।’ चार लेन बन्न लागेको मुग्लिङ–कोत्रे सडकखण्डको सम्पूर्ण जिम्मेवारी मुग्लिङ–पोखरा सडक योजनालाई दिइएको सडक डिभिजन कार्यालय तनहुँकी प्रमुख लक्ष्मी केसीले बताइन् । ‘गत भदौ १३ गते नै सम्पूर्ण कार्य योजना हस्तान्तरण गरिसकेको कारण उतैबाट बिग्रेको सडकखण्ड सुधार गर्छन् भन्ने हो,’ उनले भनिन्, ‘लामो समयसम्म पनि केहि कार्य अगाडि बढेको नदेखेपछि सोमबारबाट मर्मत सुधार कार्य अगाडि बढाएका छौं ।’

प्रकाशित : आश्विन ७, २०७८ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?