कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पर्वतका विद्यालय खुले

पर्वत — करिब ५ महिनापछि जिल्लाका सबैजसो सामुदायिक तथा निजी विद्यालय खुलेका छन् । गत वैशाख १० देखि बन्द विद्यालय स्थानीय प्रशासन र सम्बन्धित पालिकाले अनुमति दिएसँगै सोमबारदेखि खुलेका हुन् । जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले संक्रमण कम स्थानका पालिकाले विद्यालय खोल्न सक्ने निर्णय गरेको थियो ।

पर्वतका विद्यालय खुले

जिल्लामा अहिले दैनिक कोरोना संक्रमित थपिने क्रम न्यून भएको भन्दै सबै पालिकाले विद्यालय खोल्ने निर्णय गरेका हुन् । ‘हाम्रोमा खासै संक्रमण थिएन,’ बिहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले भने, ‘सदरमुकाम आसपासमा संक्रमण भएपछि जिल्लाभरिका विद्यालय बन्द हुनु हुन्थेन । अहिलेको निर्णय ठीक छ ।’ जिल्लाको कुनै एउटा क्षेत्रमा संक्रमण फैलिँदा अर्को गाउँका विद्यालय बन्द हुनु उचित नभएको सरोकारवालाको टिप्पणी छ । यही गुनासो आएका कारण केन्द्रले आगामी दिनमा प्रभावित सार्वजनिक क्षेत्र बन्द गर्ने निर्णय गरेको हो ।

निजी तथा सामुदायिक विद्यालय ५ महिनासम्म बन्द हुँदा विद्यार्थीको पठनपाठनमा गम्भीर असर पुगेको भन्दै अभिभावकले विद्यालय र सम्बन्धित निकायमा गुनासो गर्न थालेका थिए । लामो समय विद्यालय बन्द हुँदा शैक्षिक प्रणाली नै भत्किन थालेको शिक्षकहरूले समेत चिन्ता व्यक्त गर्दै आएका थिए । कतिपय विद्यालयले भौतिक रूपमा विद्यार्थी बोलाएर पढाउन सुरु गर्न अझै केही समय लाग्ने बताएका छन् ।

जिल्लाका अधिकांश विद्यालयले भौतिक दूरी कायम गरेर विद्यार्थीलाई जोरबिजोर प्रणाली अनुसार पठनपाठन सुरु गरेका हुन् । थोरै विद्यार्थी भएका विद्यालयले भने सबैलाई कक्षाकोठामै राखेर पढाउन थालेको बताएका छन् । लामो समय बन्द विद्यालयमा भौतिक रूपमै उपस्थित भएर पठनपाठन गराउँदा शिक्षक र विद्यार्थीले भने असहज महसुस गरेको सुनाए । धेरै विद्यार्थी हुने केही विद्यालय भने दसैंसम्मको अवस्था हेरेपछि मात्रै भौतिक रूपमा सञ्चालन गर्ने तयारीमा छन् । केही विद्यालयले अनलाइन र भौतिक दुवै पद्धतिबाट पठनपाठन गरिरहेका छन् ।

करिब १२ सय विद्यार्थी भएको कुश्मास्थित नारायण माविले ३ सत्रमा पढाइरहेको छ । ‘अनलाइनको पहुँच हुनेले बिहान पढ्छन्,’ शिक्षक सञ्जय रेग्मीले भने, ‘नहुनेलाई जोरबिजोर गरी दिउँसो र बेलुका पढाइएको छ ।’

प्रकाशित : आश्विन ६, २०७८ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?