लमजुङमा अवैध जडिबुटीसहित ३ जना पक्राउ

आश गुरुङ

लमजुङ — लमजुङ प्रहरीले ५४ लाख रुपैयाँ बराबरको ‘अवैध’ जडिबुटीसहित ३ जनालाई बेंसीसहरबाट पक्राउ गरेको छ । बेंसीसहर नगरपालिका ७, सहजीदेखि क्याम्पस रोडतर्फ रातिको समय शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई बहुमूल्य जडिबुटी पाँचऔंले र निरमसीसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

लमजुङमा अवैध जडिबुटीसहित ३ जना पक्राउ

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर जगदीश रेग्मीले मर्स्याङ्दी गाउँपालिका ६ का ४८ वर्षीय आइतराम तामाङ, ३७ वर्षीय रामबहादुर तामाङ र २४ वर्षीय मिनबहादुर तामाङलाई पक्राउ गरिएको बताए । उनीहरुलाई मंगलबार बिहानीपख सवा २ बजेतिर पक्राउ गरिएको हो ।

‘रातिको समय शंकास्पद अवस्थामा झोला बोकेर हिँडेको देखियो । प्रहरीले सोधपुछ र चेकिङ गर्दा उनीहरुको साथमा जडिबुटी देखियो’, उनले भने, ‘कागजातपत्र नभएपछि हामीले नियन्त्रणमा लियौं ।’ रेग्मीका अनुसार उनीहरुको साथबाट १५ किलो ५ सय ग्राम (१० हजार ७ सय ९० थान) पाँचऔंले र १३ किलो ४ सय ग्राम निरमसी बरामद गरिएको छ । बरामद अवैध जडिबुटी ५४ लाख रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।

पक्राउ गरिएका उनीहरुलाई सोधपुछसहित डिभिजन वन कार्यालय, लमजुङमा कानुनी कारबाहीको लागि बुझाएको छ । डिभिजन वन अधिकृत पूर्णेश्वर सुवेदीले प्रहरीबाट जडिबुटीसहित ३ जना मानिस प्राप्त भएको र आवश्यक अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाइने बताए ।

डीएसपी कृष्णबहादुर कार्कीले अवैध जडिबुटी ओसारपसारलाई नियन्त्रण गर्न विशेष योजना बनाई जाँच अघि बढाएको बताए । ‘लमजुङ र मनाङको लेकाली क्षेत्रमा जडिबुटी पाइने ठाउँ रहेछ । यहाँबाट चोरी निकासी भइरहेको गुनासो आएपछि हामी योजना बनाएरै लागेका छौं’, उनले भने ।


प्रकाशित : आश्विन ५, २०७८ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?