कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

बेगखोलामा जहिल्यै सास्ती

फड्के पनि नहुँदा पदयात्री जोखिममा
घनश्याम खड्का

म्याग्दी — बेनी–जोमसोम सडक खण्डको बेगखोलामा मोटरेबल/झोलुंगे पुल समेत नहुँदा यात्रुले भेलमा हेलिएर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । बेगखोलामा मोटरेबल पुल मात्र होइन खोला तर्ने सामान्य फड्केसमेत नबन्दा पैदल यात्रुले थप सास्ती खेप्नुपरेको हो ।

बेगखोलामा जहिल्यै सास्ती

गत भदौ १९ गते खोला तर्ने क्रममा एक पैदल यात्रुलाई बगाउँदा वेपत्ता भएका थिए । मनसुन कमजोर भई घाम लाग्न थालेपछि सडकको हिलो ओभाउन थालेसँगै बेनी–जोमसोम सडकमा मोटरराइकल, स्कुटर र साना सवारी साधन चल्न थालेका छन् । तर रघुगंगा गाउँपालिका–१ स्थित बेगखोला तर्ने क्रममा सयौं मोटरसाइकल र ट्याक्सी जबर्जस्ती खोला तर्न खोज्दा दुर्घटनामा पर्ने, बिग्रिने गरेका छन् । टाढाबाट आएका यात्रु बेगखोला पुगेपछि यात्रा त्यागेर फर्कनुभन्दा जबर्जस्ती भेलमा सवारी साधन हाल्दा सन्तुलन कायम गर्न नसकी खोलामा पल्टने गरेका छन् ।

अन्नपूर्ण गाउँपालिका घारका खड्ग गिरीले बेगखोलाको भेलमा ज्यानको बाजी लगाएर हेलिनुपर्ने वा ठूला गाडीमा झुन्डिएर तर्नुपर्ने बाध्यता रहेको बताए । ‘कहिलेकाहीं खोला तार्ने डोजर वा ठूला गाडी भएनन् भने गन्तव्यमा नपुगि फर्कनु पर्छ,’ उनले भने, ‘गण्डकी प्रदेशको लाइफ लाइन, राष्ट्रिय गौरवको अन्तरदेशीय बेनी–जोमसोम–कोरोला सडकमा ५ वर्षदेखि यात्रुले एउटा खोला तर्ने फड्के पनि नपाउनु दुर्भाग्य मात्र होइन बेइज्जती हो ।’ सदरमुकाम बेनीदेखि ११ किमि उत्तर बेनी–जोमसोम सडक अन्तर्गत बेगखोलामा २०७३ भदौ १५ गते राति आएको बाढीले ११ वटा घरसमेत बेलिब्रिज र सँगैको झोलुंगे पुल बगाएको थियो ।

बाढीले बगाएको मोटरेबल तथा झोलुंगे पुल ५ वर्षसम्म पनि निर्माण नहुँदा बर्खायाममा यात्रुले बेगखोलाको भेलमा ज्यान जोखिममा हालेर वारपार गर्नुपर्ने बाध्यता आएको हो । असार–असोज ४ महिना ठूला मालवाहक गाडीले पानी नपरेको बेला खोलामा जबर्जस्त हालेर तर्छन् । पैदल यात्रु र मोटरसाइकल वाहक भने ट्र्याक्टरमा चढेर तर्छन् ।

पानी परेको बेला खोलामा बहाव बढ्दा ठूला गाडी पनि तर्न नसक्ने हुन्छ । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी बेगखोलामा अस्थायी साँघु राख्ने स्रोत नभएको र ठाउँ पनि उपयुक्त नभएको बताउँछन् । ‘यात्रुले साह्रै कष्ट पाएका छन् । बेगखोलामा यो वर्ष पनि यात्रुले सास्ती भोग्नुको विकल्प छैन,’ उनले भने, ‘दिउँसो खोलाको पानी फिँजारेर गाडी तार्ने, यात्रु तार्ने र फसेका गाडीको उद्धार गराउन बेनी–जोमसोम सडक निर्माणमा संलग्न डोजर गुहार्ने गरेका छौं ।’

‘डिजाइन एन्ड बिल्ड’ मोडेलमा पुल निर्माण हुने

कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजनाले ५ वर्षसम्म बेगखोलामा पुलको डिजाईन गर्न सकेन । सडक विभाग पुल महाशाखाले हस्तक्षेप गरी ठेकदारकै तजबिजको डिजाईनमा पुल निर्माण गर्ने गरी ‘डिजाइन एन्ड विल्ड’ मोडेलमा पुल बनाउन बिकोइ हिमालयन जेभीलाई ठेक्का दिएको छ । ८ करोड ५० लाख रुपैयाँमा उक्त पुल बन्ने छ ।

सडक विभाग मातहतकै कालीगण्डकी करिडोर र पुल महाशाखाबीच पुल कसले निर्माण गर्ने भन्ने हानथापले पनि बेगखोला पुल निर्माण अलमलमा परेको हो । ‘हामीले ३३ महिनाभित्र पुलको डिजाइन र निर्माण गर्ने गरी ठेक्का लिएका छौं । तीन महिना बित्यो, माटोको परीक्षणपछि एनलाइसिस भइरहेको छ । मनसुन कमजोर भएकाले अब काममा फर्कन्छौं,’ ठेकेदार कम्पनीका प्रमुख आत्मराम सापकोटाले भने, ‘कालीगण्डकी र ठाडो गेग्रान ल्याउने खहरे खोलाको दोभान रहेकाले लोकेसन क्रिटिकल छ ।’

उनका अनुसार पुल महाशाखा मातहतको ३ नम्बर सेक्टर पाल्पाले हेर्ने गरी पुलको ठेक्का लगाइएको हो । सडक विभाग पुल महाशाखा पाल्पा सेक्टरले कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजना अन्तर्गतका बेखखोलाबाहेक तिप्ल्याङ–महभीर र पोखरे–तोपानी जोड्ने कालीगण्डकी नदीमाथी पनि पुल निर्माण गरिरहेको छ । बेगलोखामा निर्माण हुने पुल ७० मिटर लामो हुने छ । पुलदेखी दायाँ–बायाँ २–२ सय मिटर लिङ्क सडक हुनेछ ।

‘ओल्लो–पल्लो र बीचगरी तीनवटा पिलर रहने गरी पुलको डिजाइन गरिरहेका छौं । तीन वटा पिलर कसरी राख्ने भन्ने समस्या हो,’ सापकोटाले भने, ‘माथिबाट आउने खहरेको बाढी र कालीगण्डकीको बहावको तालमेल नमिले डुबानको जोखिम बढ्छ ।’ गण्डकी प्रदेश सरकारले बेगखोलामा झोलुंगे पुल बनाउन ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको भए पनि डीपीआर बनाउने कन्सल्टेन्टले समयमा काम नगर्दा यो वर्ष झोलुंगे पुल निर्माण हुन नसकेको जिल्ला समन्वय समितिले जनाएको छ ।

प्रकाशित : आश्विन ४, २०७८ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?