कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

अनुदान र श्रमदानमा पदमार्ग

प्रकाश बराल

बागलुङ — गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले प्रदान गरेको होमस्टे प्रवर्द्धन कार्यक्रममा दोब्बर रकम थपेर यहाँका बासिन्दाले पदमार्ग बनाएका छन् । काठेखोला गाउँपालिका–७ को रेसमा पाहुना आकर्षित गर्न होमस्टे र पार्क निर्माण गरिएको हो । रेशस्थित डोठेदेउराली होमस्टे व्यवस्थापन समितिले पाएको १० लाख रुपैयाँमा झन्डै उत्तिकै रकम बराबरको श्रमदान र चन्दा संकलन गरेर पदमार्ग बनाइएको वडा अध्यक्ष प्रेम लामिछानेले बताए ।

अनुदान र श्रमदानमा पदमार्ग

प्रदेशको पर्यटन मन्त्रालयबाट पाएको १० लाखमा वडाको ५ लाख रुपैयाँ थपिएको हो । उपभोक्ताले पनि ५ लाख बराबरकै श्रमदानसमेत गरेका थिए । पदमार्गबाट आकर्षक माहुरी झरनामा पुग्न सकिन्छ । झरना नजिकै सानो सत्तलसमेत बनेको छ । यो स्थानमा वनभोजस्थलसमेत बनाइएको हो ।

खोलामा फलामे पुललगायतका संरचना बनेका छन् । यहाँ ढुंगेसाँघुसमेत छ । ‘यी सबै संरचनाले पर्यटक आर्कषण गर्छ, भोलिका दिनमा गाउँमा अधिकतम पाहुना भित्र्याउन सहयोग गर्छ,’ लामिछानेले भने, ‘गाउँलेले पनि पर्यटनका कार्यक्रममा लगानी गर्न सहमत भए ।’ लगानीपछि डोठेदेउराली होमस्टेमा पुग्ने पाहुनाले पदमार्गमा यात्रा गर्नसमेत थालेका छन् । उक्त पदमार्ग घुम्न गएकाले पुल तरेर सबै स्थानको दृश्यावलोकन गर्न सक्छन् ।

‘घुम्न गएका थियौं, निकै आकर्षक रहेछ, होमस्टेमा बस्न जानेले पनि रमाइलो मानेका छन्,’ स्थानीय ललिता थापाले भनिन्, ‘एक/दुई घण्टा रमाइलो गरी भुल्ने स्थान बनेको रहेछ ।’ शीतल र आनन्द लाग्ने स्थान भएको उनले बताइन् । केही युवा र आमा समूहले उक्त स्थानमा वनभोजसमेत गरिसकेका छन् । यहाँको होमस्टेमा ८ घरमा पाहुना राख्ने व्यवस्था छ । २० जनासम्मको समूहलाई अर्ग्यानिक खाना खुवाएर राख्न सक्ने गरी होमस्टे निर्माण भएको हो । ‘सबैले घरआँगन चिटिक्क पार्न थालेका छन्, खानेपानीको पनि राम्रो प्रबन्ध छ,’ लामिछानेले भने, ‘हाम्रो सानो लगानीमा स्थानीयले धेरै काम गरेका छन् ।’ उचाइमा रहेकाले यो होमस्टेबाट धौलागिरि र माछापुच्छ्रे हिमाली शृंखला पनि देख्न सकिन्छ ।

वडा कार्यालयले गत वर्षको बजेटबाट ५ लाख लगानी गरेर मदन भण्डारी पार्कसमेत बनाएको छ । पार्कमा घुम्ने र बसेर दृश्यावलोकन गर्ने स्थान बनाइएको छ । धौलागिरि र अन्नपूर्ण हिमाल हेर्न आउनेले यो पार्कमा घुम्छन् । पर्वतको केही खण्डदेखि बिहुँ, भीमापोखरा, पञ्चकोट र संसारकोट समेत यहाँबाट स्पष्ट देख्न सकिन्छ । ‘किसानलाई समेत आराम गर्ने स्थानको रूपमा यो पार्क विकास भएको छ,’ स्थानीय किसान रनमाया थापाले भनिन्, ‘रमाइलो र आनन्द लाग्ने स्थान बनेको छ ।’ यो पार्कले डोठेदेउरालीको मुहारै फेरिदिएको उनले बताइन् ।

पदमार्गमा आकर्षक बार लगाइएको छ । पार्कमा कम्पाउन्ड घेरिएको छ । बीचमा पोखरी र पानीको फोहोरा राखिएकाले आर्कषक बनेको हो । प्राकृतिक रूपमा फोहोरा बनाएकाले कृत्रिम काम गर्नु नपरेको वडा सदस्य कृष्णबहादुर थापाले बताए । वडाअध्यक्ष लामिछानेले अन्य धार्मिक र पर्यटकीय क्षेत्रको समेत विकास गर्न गुरुयोजना बनाएको बताए । यहाँबाट चापाखर्क र गाजादहसमेत सडकसमेत बनेको छ ।

प्रकाशित : आश्विन ४, २०७८ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?