चन्दा उठाएर स्कुल बस

आश गुरुङ

लमजुङ — सुगम गौली कक्षा ९ मा पढ्छन् । सुन्दरबजार नगरपालिका–४ अर्चल्यानी दुराडाँडाको संस्कृति सदन मावि पुग्नमात्रै उनलाई डेढ घण्टा लाग्छ । सुन्दरबजार–३ लामीखेत घर भएका उनी बस चढेर स्कुल आउजाउ गर्न थालेका छन् ।

चन्दा उठाएर स्कुल बस

उनीमात्रै होइन, गाउँमा कक्षा ५ सम्म अध्ययन गरी पास भएपछि कक्षा १० सम्म पढ्न विद्यार्थी बसबाटै एकतर्फी डेढ घण्टाको बाटो करिब आधा घण्टादेखि ४५ मिनेटमै स्कुल पुगेका छन् । ‘कक्षा ६ मा पढ्न थालेपछि उकालो–ओरालो गरियो । कतै लडियो, खुट्टा ठोकियो । आफ्नो आधा तौलजतिको किताबकापी बोकेर हिँड्दा गाह्रो थियो । बस चलेपछि खुसीको सीमा छैन,’ उनले सुनाए ।

उनीमात्रै होइन, चन्द्रेश्वर फेदी, सत्रसय फाँट, दुराडाँडाको तल्लो क्षेत्र, किरिञ्चेबेंसी, वडा नम्बर १० धुसेनीलगायतका विद्यार्थी बसबाट स्कुल आउने–जाने गरेका छन् । विद्यालयले शुक्रबारदेखि ३६ सिट क्षमताको बस सञ्चालनमा ल्याएपछि टाढा–टाढाका विद्यार्थीलाई सुविधा पुगेको छ । विद्यालयका प्रधानाध्यापक शिवशंकर तिवारीका अनुसार टाढाबाट पैदल हिँडेर आउने–जाने विद्यार्थीलाई सहज भएको छ । टाढाका विद्यार्थीलाई निकै सहज भएको छ ।

‘अभिभावक भेलामा पढ्ने ठाउँ टाढा हुँदा बालबालिकाले निकै दुःख पाए भनेर एक जना अभिभावक निकै रुनुभयो । हामीलाई पनि लाग्यो, पढ्ने विद्यार्थीले हिँडाइका कारण मानसिक तनाव बेहोरेका छन्, अभिभावकलाई पनि समस्या छ,’ उनले भने, ‘बरु बस चढेको पैसा तिर्छौं समेत भनेपछि चन्दा उठाएरै भए पनि बस किन्नुपर्छ भन्ने लाग्यो र सफल भइयो ।’

विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्णप्रसाद अधिकारीले बस सञ्चालन गर्न घरघरै चन्दा संकलन गरिएको बताए । उनका अनुसार चन्दा अभियानमा १ सयदेखि एक/डेढलाख रुपैयाँसम्म सहयोग गर्ने भेटिए । तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ लाख रुपैयाँ प्रदेश सरकारबाट छुट्याए । सुन्दरबजार नगरपालिकाले ५ लाख रुपैयाँ छुट्यायो । वडा नम्बर ४ ले १२ लाख ५० हजार विनियोजन गर्‍यो । उनले भने, ‘बस सञ्चालनार्थ रकम मुद्दतीमा पनि राखेका छौं ।’

विद्यालयका अनुसार स्थानीयबाट ३८ लाख ८१ हजार १ सय ३९ रुपैयाँ चन्दा संकलन भएको छ । शिक्षकले १ महिनाको तलब सहयोग गरेका छन् । अझै कम्तीमा ७ लाख रुपैयाँ उठ्ने विद्यालयले जनाएको छ । कुल ६३ लाख २१ हजार ८ सय ४४ रुपैयाँ संकलन भएकोमा २७ लाख ९१ हजार ६ सय ९१ रुपैयाँमा बस खरिद गरिएको छ । बैंक मुद्दतीमा ३० लाख रुपैयाँ राखिएको छ । यसको ब्याज बस चालक र मर्मतमा खर्च हुनेछ । चल्ती खातामा ५ लाख ३० हजार १ सय ५३ रुपैयाँ छ ।

सुन्दरबजार नगरपालिका प्रमुख जनकराज मिश्रले बस सेवाको सुरुवात गरे । भने, ‘ग्रामीण भेगका बालबालिका भौतिक दूरीकै कारण पढाइबाट वञ्चित हुनु हुँदैन । सहज बनाउने हामीले नै हो,’ उनले भने, ‘बालबालिकालाई शिक्षा दिने वातावरण सबैले मिलाउनुपर्छ । यसमा स्थानीय सरकार प्रतिबद्ध छ ।’ उनले विद्यालयसम्म सडक निर्माण, विद्यार्थीलाई स्कुलसम्म पुर्‍याउने वातावरण र गुणस्तरीय शिक्षामा नगरपालिकाले सहयोग गरिरहेको दाबी गरे ।

वडा नम्बर ४ का अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज खनियाँले बालबालिकाको समस्या र अभिभावकको मागबमोजिम स्कुल बस सञ्चालन गर्न सकिएको बताए । वडा नम्बर ३ का वडा सदस्य डम्मर गुरुङले स्कुल बस सञ्चालन हुँदा सबैभन्दा बढी आफ्नो गाउँ लामीखेतबासीमा खुसी छाएको बताए । ‘हाम्रा बालबालिका कतिले विद्यालय टाढा भएकाले पढाइ छाडे । कोही बिग्रिए । कोही स्कुलै नपुगी बाटैमा खेल्ने गरे । बस चलेपछि अब यो समस्या रहेन,’ खुसी हुँदै उनले भने ।

प्रकाशित : आश्विन २, २०७८ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?