कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दमौली अस्पताललाई जग्गा अभाव

सम्झना रसाइली

तनहुँ — सदरमुकामस्थित दमौली अस्पतालको स्तरोन्नतिका लागि जग्गा अभाव भएको छ । आफ्नै स्रोतसाधन प्रयोग गरी ५० शय्याको अस्पताल सञ्चालन गर्न अनुमति पाए पनि जनशक्ति व्यवस्थापन, भवन, सेवासुविधा र आवश्यक उपकरण तथा जग्गाको व्यवस्थापन गर्न नसक्दा स्तरोन्नति हुन सकेको छैन । २०३४ मा स्वास्थ्यचौकी, २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्र र २०५९ मा जिल्ला अस्पतालका रूपमा स्तरोन्नति भएको थियो । 

दमौली अस्पताललाई जग्गा अभाव

अस्पतालमा सेवा लिन आउनेको संख्या बढ्दै गए पनि सहज रूपमा उपचार सेवा दिन नसकिएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । १५ शय्या क्षमताको अस्पताललाई ५० शय्यामा विस्तार गर्न जग्गा मुख्य कारण बन्दै आएको समितिका अध्यक्ष प्रदीपराज अधिकारीले बताए । ‘अस्पताल स्तरोन्नतिका लागि आवश्यक जग्गा व्यवस्थापन गरिदिन पटकपटक सम्बन्धित निकायलाई भने पनि उपलब्धि भएको छैन,’ उनले भने, ‘अस्पताल आसपासका कृषि ज्ञान केन्द्र र भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रको केही जग्गा उपलब्ध गराइदिन प्रदेश सरकारसँग माग गरे पनि सुनवाइ भएको छैन ।

अस्पतालको नाममा डेढ रोपनी क्षेत्रफल मात्र जमिन छ । हाल १९ रोपनी क्षेत्रफल जग्गाको व्यवस्थापन गरी सेवा प्रवाह गर्दै आए पनि अन्य सेवासुविधा विस्तारका लागि जग्गा नहुँदा सामान्य रोगको उपचारका लागि पनि जिल्लावासी अन्यत्र जानुपर्ने बाध्यता छ । अध्यक्ष अधिकारीका अनुसार जिल्ला विकास समितिलगायत सरकारी कार्यालय र विभिन्न संस्थाले उपलब्ध गराएको जग्गाको पनि अस्पतालको नाममा लालपुर्जा छैन । जग्गाकै कारण अस्पतालको स्तरोन्नति रोकिएपछि व्यास नगरपालिकाले कृषि ज्ञान केन्द्रको जग्गा र भवन दमौली अस्पताललाई उपलब्ध गराउन गण्डकी प्रदेश सरकारसँग आग्रह गरेको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।

‘अस्पताल व्यवस्थापनका लागि सिमाना जोडिएको कृषि ज्ञान केन्द्रको जग्गा र भवन अस्पताललाई उपलब्ध गराएर केन्द्रलाई अन्यत्र व्यवस्थापन गर्न अनुरोध गरेका छौं’, उनले भने, ‘दमौली अस्पताल र कृषि ज्ञान केन्द्र व्यवस्थापनका लागि पहल गर्ने निर्णय भएको छ ।’

यसअघि पनि अस्पतालसँगै जोडिएका कृषि ज्ञान केन्द्र र भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको जग्गा अस्पताललाई प्रदान गर्न जनप्रतिनिधि एवं सरोकारवालाले थुप्रैपटक प्रदेश सरकारसँग अनुरोध गरिएको अस्पतालले जनाएको छ । समितिले कृषि ज्ञान केन्द्रको स्वामित्वको जग्गामध्येबाट ५ रोपनी र भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्वामित्वको जग्गामध्येबाट ८ रोपनी जग्गा अस्पताललाई उपलब्ध गराउन माग गर्दै आएको छ ।

अहिले अस्पतालबाट ४२ शय्यामा सेवा प्रवाह भइरहेको छ । जग्गा पाए उपकरण हुँदाहुँदै रोकिएको कल्चर, फिजियोथेरापी लगायत सेवा सञ्चालनमा सहज हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल पौड्यालले बताए ।

प्रकाशित : आश्विन १, २०७८ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?