सेतो पुतली आतंक- गण्डकी - कान्तिपुर समाचार

सेतो पुतली आतंक

१८ वर्षे युवाको गुम्यो ज्योति, ५–१५ वर्षका बालबालिका बढी पीडित
लालप्रसाद शर्मा, घनश्याम खड्का, अगन्धर तिवारी

पोखरा/म्याग्दी/पर्वत — म्याग्दीको बेनी–७ बेनीबजारका १८ वर्षीय अमृत पुनको देब्रो आँखामा भदौ १३ मा सेतो पुतलीको झुस परेर समस्या भयो । उपचारका लागि उनी बेनी अस्पताल पुगेपछि तुरुन्तै पोखराको हिमालय आँखा अस्पताल रेफर गरियो । तर उनको आँखाको ज्योति भने फर्केन । बेनी अस्पताल आँखा उपचार शाखाकी नेत्र सहायक प्रकृति ढुंगनाले भनिन्, ‘अमृतको आँखाको रेटिना पूरै खत्तम भइसकेकाले ज्योति गुम्न गयो ।’ ढिला उपचारका कारण उनले ज्योति गुमाउन पुगेका हुन् । 

पोखराको हेम्जा फेदीका ७ वर्षीय विशेष गौतमको गत सोमबार एक्कासि दाहिने आँखा रातो भयो । नानीमा खत पनि देखियो । तुरुन्तै हिमालय आँखा अस्पतालमा लगियो । चिकित्सकले उनलार्ई ‘सापु’ भएको बताए । एक/दुई दिनअघि मात्रै सेतो पुतली घरमा देखिएको बाबु शिवले बताए । त्यस्तै पोखरा–११ फूलबारीका ११ वर्षीय युवा हाङराइको पनि सोमबार आँखा दुख्यो । रातो हुँदै आयो । उनको आँखामा पनि सापु भएको छ । तर घरमा पुतली भने नदेखेको आमा ताराले बताइन् ।

बागलुङको ताराखोला–५ हिलेका ७ वर्षका दिनेश पुनको एक आँखामा पनि सापु देखिएपछि ५ दिनदेखि अस्पतालमा छन् । अहिले भने उनको आँखा ठीक हुँदै गएको छ । दुईपटक अप्रेसन भयो । पछिल्लो एक महिनामा मात्रै कास्कीका २० सहित विभिन्न जिल्लाका गरी ३४ जना सापुका बिरामी हिमालय आँखा अस्पतालमा आएका छन् । कतिपय काठमाडौं वा अन्यत्र पनि गएकाले संख्या बढी हुन सक्छ । सुरुमा आँखा रातो भएर दृष्टि गुम्नेसम्मको खतरा रहेको उक्त रोगको अधिकांश स्रोत सेतो पुतली रहेको छ । २०३२ (सन् १९७५) मा पहिलोपटक पोखराको लामाचौरमा आँखा रोग विशेषज्ञ मदनप्रसाद उपाध्यायले यो रोग पत्ता लगाएका थिए । त्यतिबेलादेखि नै यसलाई सिजनल हाइपरसुट पन्युवाइटिस (एसएचएपीयू–सापु) नामकरण गरिएको थियो । सापु गण्डकी प्रदेशमै बढी देखिएको छ ।

उपाध्यायका अनुसार ७० प्रतिशत सापु सेतो पुतलीको कारण हुने गरेको छ । बाँकी ३० प्रतिशतमा के कारणले हुन्छ भन्ने यकिन छैन । ‘सेतो पुतलीको रोकथाम गरी त्यसबाट बच्ने उपाय नै ठूलो हो,’ उनले भने, ‘पछिल्लो समय एक/दुईवटा केस अन्य पुतलीबाट पनि भएको आएका छन् ।’

मध्यपहाडी भेगमा बढी र अन्यत्र आक्कलझुक्कल रूपमा देखिएको उक्त रोग नेपालबाहेक अरू देशमा कुनै पनि रिपोर्ट नरहेको उनले बताए । विशेषगरी नेपाली क्यालेन्डरको जोर र अंग्रेजीको बिजोर वर्षमा अगस्ट, सेप्टेम्बर र अक्टोबरमा सेतो पुतली र सापु बढी देखिने गरेको छ । अहिलेसम्म १५ सय बिरामी चिकित्सकको सम्पर्कमा आइसकेका छन् । तर विश्व स्वास्थ्य संगठन र नेपालका चिकित्सकले भने यस्ता बिरामी १५ हजार जति रहेको अनुमान गरेका छन् ।

सेतो पुतलीका कारण आँखामा लाग्ने रोग ‘सापू’ फेरि फैलँदै, कसरी बच्ने ?

हिमालय आँखा अस्पतालकी मेडिकल डाइरेक्टर डा. इलिया श्रेष्ठले १५ जनामा सेतो पुतलीको झुस परेको तर सापु नभएको केस पनि आएको बताइन् । ‘भाइरस, ब्याक्टेरिया वा अरू कुन कारणले यस्तो हुन्छ भन्ने यकिन छैन,’ उनले भनिन्, ‘तत्कालै उपचार गरेमा निको हुन्छ भन्ने सचेतना फैलाउनु आवश्यक छ ।’ गण्डकीमा मात्र देखिएको सापु यसपटक भने भैरहवा र गुल्मीमा पनि भेटिएका छन् ।

हिमालय आँखा अस्पतालका अनुसार बुधबारसम्म ३४ सापुका बिरामी अस्पताल आएका छन् । तीमध्ये १५ जना अस्पतालमा भर्ना भएर उपचार गराए । बुधबारसम्म १० बालबालिका र वयस्कसमेत अस्पतालमा भर्ना भएर उपचाररत छन । ५ जनाको क्रिटिकल केस छ । विशेषगरी ५ देखि १५ वर्षभित्रका बालबालिका बढी पीडित छन् ।

सापुको लक्षणमा सुरुमा आँखा रातो हुने, चिप्रा नलाग्ने तर उज्यालोमा हेर्न सकिँदैन । आँखाको दृष्टिमा कमी हुन्छ । नानी सेतो हुँदै जान्छ । पिप जम्छ । ‘यसको उपचार भनेकै जतिसक्दो छिटो पिप निकाल्नु हो,’ श्रेष्ठले भनिन्, ‘४८ घण्टाभित्र उपचार भए निको हुन सक्छ ।’

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले प्रदेशमा सेतो पुतली र सापु बढेकाले यसविरुद्ध सचेतना अभियान चलाइएको बताए । म्याग्दीमा सेतो पुतलीको आतंकसँगै झुस आँखामा परेपछि समस्या भई आँखा उपचार केन्द्र बेनीमा उपचारका लागि आउने बढेका छन् । भदौ १३ पछि कम्तीमा १० जना सेतो पुतलीको झुसले संक्रमीत भएका छन् । उनीहरूमध्ये बेनी अस्पतालबाट ४, नेत्र ज्याति संघ आँखा उपचार केन्द्रबाट ४ गरी ८ जनालाई पोखरा रेफर गरिएको थियो । २ जनाको बेनीमै उपचार भइरहेको छ । ‘चारै जनाको आँखाको नानीमा पुतलीको धेरै झुस गाडिएका थिए । आँखा सुक्खा भइसकेकोले पोखरा रेफर गरेका हौं,’ नेत्रज्योति संघ आँखा उपचार केन्द्रका नेत्र अधिकृत दिनेश बानियाँले भने ।

पर्वत सदरमुकाम कुश्मा बजार र ग्रामीण क्षेत्रमा पनि भदौ पहिलो सातादेखि सेतो पुतलीको आतंक छ । साँझ बत्ती बाल्ने समयमा देखा पर्ने पुतलीको बाक्लो झुन्ड बिहान उज्यालो भएसँगै हराउने गरेको सर्वसाधारण बताउँछन् । यसको झुसका कारण हालसम्म पर्वत अस्पतालको आँखा उपचार केन्द्रमा ३ जना बिरामी आएको अस्पतालले जनाएको छ ।

अस्पतालमा उपकरण अभाव

हिमालय आँखा अस्पतालमा आँखामा पिप भए/नभएको पत्ता लगाउने अल्ट्रासाउन्ड (बि स्क्यान) मेसिन पुरानो हुँदा उपचारमा समस्या भएको छ । ‘मेसिन पुरानो भएकाले बेलाबेलामा बिग्रने गर्छ,’ मेडिकल डाइरेक्टर डा.इलियाले भनिन्, ‘मर्मत गरी चलाइएको छ । समयमै काम हुन सकेको छैन ।’

प्रकाशित : भाद्र ३१, २०७८ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्

लोक्पामा निरन्तर पहिरो

दुई वडाका २० गाउँको आवातजावात ठप्प, गाउँभरि छैन चामल
हरिराम उप्रेती

गोरखा — खाद्यान्न अभाव भएपछि चुमनुब्री–६ र ७ का बासिन्दाले प्रदेश सरकार र संघीय सरकारलाई गुहारे । आश्वासनपछि चामल आउने आशामा छन् । 

चुमनुब्रीको लोक्पामा पहिरो खसेको एक महिना पुग्यो । तर, एक महिनासम्म चुमभ्यालीअन्तर्गत छेकम्पार र चुम्चेतमा न हेलिकोप्टरबाट खाद्यान्न पुग्यो न त पैदलमार्ग नै सञ्चालनमा आयो । दुई वडा पुग्ने एकमात्र पैदलमार्गअन्तर्गत लोक्पामा एक महिनादेखि निरन्तर खसेको पहिरो रोकिएको छैन । लोक्पाबाट एक किलोमिटरको फरकमा रहेको सर्दिभीरको क्यान्टिलिभर (भीर खोपेर बनाइएको) पुललाई पहिरोले क्षति पुर्‍याएको छ । पदमार्ग अवरुद्धले दुई वडाका २० गाउँका स्थानीय घर छाडेर तल्लो क्षेत्र झर्न पाएका छैनन् । घरमा रित्तिएको दैनिक उपभोग्य सामग्री खरिद गर्न गाउँपालिका केन्द्र फिलिमलगायत बजार झर्ने बाटो छैन ।

‘पहिरोले नाकाबन्द भयो,’ छेकम्पारका तेन्जिङ लामाले भने, ‘तल–माथि गर्नै पाएका छैनौं । लगातारको सुक्खा पहिरोले पदमार्ग भएर हुने आवातजावात ठप्प बनेको उनले बताए । लोक्पामा भदौ १ यता पाँच–सात मिनेटको फरकमा दिनदिनै पहिरो खसिरहेको स्थानीय बताउँछन् । महिना दिनसम्म बाटो नखुल्दा समस्यामा परेकाहरू मंगलबार जोखिम मोलेर छेकम्पार र चुम्चेत पुग्ने प्रयास गरे । लोक्पा पुगेर पहिरो हेर्दै बसेकाहरू गन्तव्यमा नपुगी फर्किएका छन् । तेन्जिङले भने, ‘पाँच–सात मिनेटको फरकमा गइरहन्छ, ज्यान नै माया मारेर कसरी अघि बढ्नु ।’

वैकल्पिक बाटो नहुँदा गाउँमा खाद्यान्न संकट सुरु भएको हो । दुई वडामा एक महिनादेखि दैनिक उपभोग्य सामग्री ढुवानी हुन सकेको छैन । सडक सञ्जालले नजोडेको उक्त क्षेत्रमा खच्चड पनि लोक्पाबाट कट्न सकेका छैनन् । लोक्पामा यही पहिरोले १२ खच्चड पुरेको थियो । पहिरोको आकार अझै बढेकाले खच्चड, मान्छे कोही पनि हिँड्न सक्ने अवस्था नरहेको स्थानीय बताउँछन् ।

बाटो अवरुद्ध हुँदा गाउँमा खाद्यान्न र सरसामान सकिएको चुमनुब्री–७ छेकम्पारका वडाध्यक्ष पासाङ फुञ्जो लामाले सुनाए । छेकम्पार र चुम्चेतमा ६ सय ३ घर छन् । ‘सबैका घरमा चामल, चिनी, खुर्सानी सकिएको छ,’ उनले भने, ‘यो वर्ष फापर राम्रो फलेन, पोहोरकै पिठो खाएर गुजारा चलेको छ ।’ सेनाको हेलिकोप्टरमार्फत खाद्यको चामल पुर्‍याउन पहल भइरहेको उनले बताए । ‘नेता, सीडीओ, मन्त्री सबैलाई भनिसक्यौँ,’ उनले भने, ‘चामल नदेखेको एक महिना भयो ।’

तीन दिनअघि हेलिकोप्टरबाट चामल ल्याउन पहल भए पनि मौसमले साथ नदिएको उनले बताए । छेकम्पार र चुम्चेतमा चामल ढुवानीका लागि प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । ‘७६ क्विन्टल चामल ढुवानीका लागि स्वीकृत भएको छ,’ उनले भने, ‘सेनाको हेलिकोप्टरमार्फत चुम्चेतको चुम्लिङमा दुई उडान र छेकम्पारको लामागाउँमा दुई उडान गर्ने तयारीमा छौँ । बुधबार पनि मौसमले साथ नदिँदा पठाउन सकिएन ।’ भौगर्भिक अध्ययन गरी पहिरो नियन्त्रणको प्रयास थाल्नुपर्ने चुमनुब्री–७ का निमा लामाले बताए ।

प्रकाशित : भाद्र ३१, २०७८ ११:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×