२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

लोक्पामा निरन्तर पहिरो

दुई वडाका २० गाउँको आवातजावात ठप्प, गाउँभरि छैन चामल
हरिराम उप्रेती

गोरखा — खाद्यान्न अभाव भएपछि चुमनुब्री–६ र ७ का बासिन्दाले प्रदेश सरकार र संघीय सरकारलाई गुहारे । आश्वासनपछि चामल आउने आशामा छन् । 

लोक्पामा निरन्तर पहिरो

चुमनुब्रीको लोक्पामा पहिरो खसेको एक महिना पुग्यो । तर, एक महिनासम्म चुमभ्यालीअन्तर्गत छेकम्पार र चुम्चेतमा न हेलिकोप्टरबाट खाद्यान्न पुग्यो न त पैदलमार्ग नै सञ्चालनमा आयो । दुई वडा पुग्ने एकमात्र पैदलमार्गअन्तर्गत लोक्पामा एक महिनादेखि निरन्तर खसेको पहिरो रोकिएको छैन । लोक्पाबाट एक किलोमिटरको फरकमा रहेको सर्दिभीरको क्यान्टिलिभर (भीर खोपेर बनाइएको) पुललाई पहिरोले क्षति पुर्‍याएको छ । पदमार्ग अवरुद्धले दुई वडाका २० गाउँका स्थानीय घर छाडेर तल्लो क्षेत्र झर्न पाएका छैनन् । घरमा रित्तिएको दैनिक उपभोग्य सामग्री खरिद गर्न गाउँपालिका केन्द्र फिलिमलगायत बजार झर्ने बाटो छैन ।

‘पहिरोले नाकाबन्द भयो,’ छेकम्पारका तेन्जिङ लामाले भने, ‘तल–माथि गर्नै पाएका छैनौं । लगातारको सुक्खा पहिरोले पदमार्ग भएर हुने आवातजावात ठप्प बनेको उनले बताए । लोक्पामा भदौ १ यता पाँच–सात मिनेटको फरकमा दिनदिनै पहिरो खसिरहेको स्थानीय बताउँछन् । महिना दिनसम्म बाटो नखुल्दा समस्यामा परेकाहरू मंगलबार जोखिम मोलेर छेकम्पार र चुम्चेत पुग्ने प्रयास गरे । लोक्पा पुगेर पहिरो हेर्दै बसेकाहरू गन्तव्यमा नपुगी फर्किएका छन् । तेन्जिङले भने, ‘पाँच–सात मिनेटको फरकमा गइरहन्छ, ज्यान नै माया मारेर कसरी अघि बढ्नु ।’

वैकल्पिक बाटो नहुँदा गाउँमा खाद्यान्न संकट सुरु भएको हो । दुई वडामा एक महिनादेखि दैनिक उपभोग्य सामग्री ढुवानी हुन सकेको छैन । सडक सञ्जालले नजोडेको उक्त क्षेत्रमा खच्चड पनि लोक्पाबाट कट्न सकेका छैनन् । लोक्पामा यही पहिरोले १२ खच्चड पुरेको थियो । पहिरोको आकार अझै बढेकाले खच्चड, मान्छे कोही पनि हिँड्न सक्ने अवस्था नरहेको स्थानीय बताउँछन् ।

बाटो अवरुद्ध हुँदा गाउँमा खाद्यान्न र सरसामान सकिएको चुमनुब्री–७ छेकम्पारका वडाध्यक्ष पासाङ फुञ्जो लामाले सुनाए । छेकम्पार र चुम्चेतमा ६ सय ३ घर छन् । ‘सबैका घरमा चामल, चिनी, खुर्सानी सकिएको छ,’ उनले भने, ‘यो वर्ष फापर राम्रो फलेन, पोहोरकै पिठो खाएर गुजारा चलेको छ ।’ सेनाको हेलिकोप्टरमार्फत खाद्यको चामल पुर्‍याउन पहल भइरहेको उनले बताए । ‘नेता, सीडीओ, मन्त्री सबैलाई भनिसक्यौँ,’ उनले भने, ‘चामल नदेखेको एक महिना भयो ।’

तीन दिनअघि हेलिकोप्टरबाट चामल ल्याउन पहल भए पनि मौसमले साथ नदिएको उनले बताए । छेकम्पार र चुम्चेतमा चामल ढुवानीका लागि प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । ‘७६ क्विन्टल चामल ढुवानीका लागि स्वीकृत भएको छ,’ उनले भने, ‘सेनाको हेलिकोप्टरमार्फत चुम्चेतको चुम्लिङमा दुई उडान र छेकम्पारको लामागाउँमा दुई उडान गर्ने तयारीमा छौँ । बुधबार पनि मौसमले साथ नदिँदा पठाउन सकिएन ।’ भौगर्भिक अध्ययन गरी पहिरो नियन्त्रणको प्रयास थाल्नुपर्ने चुमनुब्री–७ का निमा लामाले बताए ।

प्रकाशित : भाद्र ३१, २०७८ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?