१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

गोरखामा बढ्यो राजनीतिक गतिविधि

दिनहुँजसो विभिन्न पार्टीका भेला तथा प्रशिक्षण कार्यक्रम भइरहेका छन् । एकअर्का पार्टीका कार्यकर्ता तान्ने लहर नै चलेको छ ।
हरिराम उप्रेती

गोरखा — महाधिवेशनमा होमिएका कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मात्र नभई अन्य राजनीतिक दलले समेत सहरबजार र गाउँगाउँमा पार्टीका भेला, प्रशिक्षण र संगठन विस्तारलाई तीव्रता दिएका छन् । जसका कारण राजनीतिक माहोल एकाएक बढेको छ ।

गोरखामा बढ्यो राजनीतिक गतिविधि

गाउँगाउँमा दिनहुँजसो पार्टीहरूका भेला तथा प्रशिक्षण हुने गरेको छ । एकअर्का पार्टीका कार्यकर्ता तान्ने र आफ्नो पार्टीमा प्रवेश गराउने लहर चलेको छ । काठमाडौंकेन्द्रित रहने जिल्ला तहका नेता पनि गाउँ फर्किएका छन् । प्रतिनिधिसभा निर्वाचनपछि फाट्टफुट्ट हुँदै आएका राजनितिक गतिविधि अहिले ह्वात्तै बढेको पालुङटार नगरपालिका–३ का सोमप्रसाद देवकोटा बताउँछन् । ‘चुनावपछि नेताहरू गाउँ कमै आए, अहिले फेरि नेतालाई गाउँ चाहिएर आउन थालेका छन्,’ उनले भने, ‘पार्टी अधिवेशन, नजिकिँदो चुनाव र एमसीसीले पनि होला, अहिले चौतारामा बसेर राजनीतिक कुराकानी पनि धेरै नै हुन थालेका छन् ।’

सोमबार एकैदिन ३ पार्टीका छुट्टाछुट्टै भेला र प्रशिक्षण कार्यक्रम आयोजना भए । केन्द्रीय नेताका भाषण सुन्न कार्यकर्ता बस रिजर्भ गरेर सदरमुकाम झरेका थिए । एमालेको बृहत् कार्यकर्ता भेलालाई केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङले सम्बोधन गरे । सोही समयमा गोरखा बजारमै भएको कार्यकर्ता भेलालाई जनता समाजवादी पाटीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराइले पनि प्रशिक्षण दिँदै थिए । राप्रपाको पनि अधिवेशन चल्दै थियो ।

वडा तहको अधिवेशन सकेको कांग्रेस नगर र गाउँपालिका अधिवेशनमा सक्रिय छ । नेताहरू कार्यकर्ता भेटघाटमा व्यस्त छन् । उम्मेदवारका आकांक्षी क्षेत्रीय प्रतिनिधिसँग मत माग्न गाउँ र टोल पुगेका छन् । केहीले सामाजिक सञ्जालबाटै उम्मेदवारी घोषणा गर्दै मतदाता रिझाउने योजना अघि सारिरहेका छन् । नेता गाउँ फर्किएपछि चिया पसल, चौतारो राजनीतिक बहस गर्ने थलो बनेको छ । अधिवेशनले अमूक व्यक्तिलाई पदमा पुर्‍याउनु मात्र नभई थप उर्जा र रक्तसञ्चार पनि गरेको कांग्रेस जिल्ला सचिव नन्दप्रसाद न्यौपाने बताउँछन् । ‘अधिवेशन कुनै व्यक्ति चुन्नेमा मात्र सीमित रहदैन, पुनर्ताजगी पनि बनाउछ । पार्टीलाई थप बल पुग्छ,’ उनले भने, ‘अधिवेशनले अहिले पार्टीलाई उर्जाशील बनाएको छ ।’

जनता समाजवादी पार्टीले पनि संगठन विस्तार र कार्यकर्ता भेलाको योजना बनाएको छ । ५ वर्षयता सक्रिय राजनीतिबाट टाढा रहेका यानप्रसाद भट्ट (सरोज) पुनः पार्टीको जिल्ला नेतृत्व सम्हाल्दै राजनीतिमा फर्किएका छन् । ‘राजनीतिबाट टाढा थिइनँ, व्यक्तिगत समस्याका कारण पेसा व्यवसायमा लागिएकोले जिम्मेवार पदको जिम्मा नलिएको मात्र हो,’ भट्ट भन्छन्, ‘अब पूर्णकालीन पार्टीमा लाग्नेछु ।’ पार्टीलाई थप सुदृढ बनाउन संगठन विस्तार र कार्यकर्ता भेटघाटलाई तीव्रता दिएको उनले बताए ।

एमाले र माओवादी केन्द्र पनि संगठन विस्तार र पहुँच बढाउन जिल्लाकेन्द्रित बनेका छन् । नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) ले पनि २ दिनअघि जिल्ला तहको प्रशिक्षण सकेको छ । नगर, गाउँ, वडातहको सम्म संगठन विस्तारको योजना बनाएर अघि बढेको एकीकृत समाजवादी जिल्ला अध्यक्ष यादव बस्नेतले बताए । एकीकृत समाजवादी र एमालेमा कार्यकर्ता आउजाउ गर्ने क्रम पनि चलिरहेको छ ।

एमालेले पालिकास्तरमा कार्यकर्ता भेला तथा प्रशिक्षणको कार्यतालिका सार्वजनिक गरेको छ । प्रमुख दलको महाधिवेशन र नजिकिँदै गरेको स्थानीय तहको चुनावले पनि राजनीतिक माहोल चलायमान बनेको एमाले प्रदेश कमिटी सदस्य बाबुराम थापा बताउँछन् । ‘संसदीय राजनीतिमा अन्तिम लक्ष्य भनेको निर्वाचन हो, अहिले प्रमुख दलहरू महाधिवेशनको तयारीमा छन्,’ उनले भने, ‘स्थानीय तहको निर्वाचन नजिकिँदो छ, पार्टीको गठन, पुनर्गठनपछि नेतृत्वले पनि चुनावमा प्रभाव पार्छ । यी दुवै कुराले राजनीतिक चेतना सामाजिक सेवामा सलबलाएको छ ।’

यस्ता गतिविधिले आन्तरिक पार्टी पनि चलायमान बन्ने भन्दै उनले कार्यकर्ता प्रशिक्षण, जनभेटघाटले नेता र कार्यकर्ताको सम्बन्ध पनि नजिकिने बताए । एकता महाधिवेशनको तयारीमा रहेको राप्रपाले नगर र गाउपालिका, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेसभा निर्वाचन क्षेत्रको अधिवेशन गरी नेतृत्व चयन गरेको छ । मंगलबारबाट जिल्ला अधिवेशन चलिरहेको छ । अधिवेशनपछि संगठनलाई ध्यान दिएर गतिविधि अघि बढाउने राप्रपाका केन्द्रीय कार्यसम्पादन समिति सदस्य मोहन श्रेष्ठले बताए । ‘आगामी स्थानीय तह निर्वाचनका लागि पाटी संगठन चुस्त दुरुस्त र व्यवस्थित बनाएर अघि बढ्छौं,’ उनले भने ।

माओवादी केन्द्रका नेता लेखबहादुर थापाले संगठन निर्माणको काम भइरहेको बताए । ‘कोरोना महामारीका कारण दुई वर्ष सक्रिय हुन सकेनौ,’ उनले भने, ‘नेकपाले पूर्णता नपाउँदै फुट्न पुग्यो, फेरि पूर्ववत् अवस्थामा पार्टी निर्माणलाई तीव्रता दिएका छौँ ।’ संगठन सदस्यता नवीकरण, विभिन्न संगठनको अधिवेशन पनि चलिरहेको उनले बताए ।

प्रकाशित : भाद्र ३०, २०७८ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?