लमजुङका सबै विद्यालय खुले

आश गुरुङ

लमजुङ — कोरोना कहर मत्थर भएपछि जिल्लाका प्रायः विद्यालयले नियमित पठनपाठन थालेका छन् । केहीले भने बिहान र दिउँसोको सत्र मिलाएर पढाइ थालेका छन् । कोरोना जोखिम कायमै भए पनि संक्रमण घट्न थालेको भन्दै स्थानीय तहले विद्यालय खोल्न अनुमति दिएका हुन् । स्थानीय तहको शिक्षा शाखाले भौतिक दूरी कायम गर्न, मास्क र सेनिटाइजर प्रयोग गर्न भनेको छ ।

लमजुङका सबै विद्यालय खुले

मर्स्याङ्दी गाउँपालिकामा मंगलबारदेखि विद्यालय खुलेका छन् । खुदीस्थित अमर माविका प्रधानाध्यापक तीर्थबहादुर बस्नेतले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरी पठनपाठन थालिएको बताए । ‘गाउँपालिकाको निर्णय र निर्देशनअनुसार हामीले सिकाइ सहजीकरण थालेका छौं । भौतिक दूरी कायम छ । विद्यार्थीलाई मास्क लगाएर आउन भनेका छौं,’ उनले भने, ‘विद्यालयले साबुनपानी साथै सेनिटाइजरको व्यवस्था गरेको छ ।’

बेंसीसहर नगरपालिका, दोर्दी, क्व्होलासोंथर र दूधपोखरी गाउँपालिकाका विद्यालय भदौ पहिलो साताबाटै खुलेका थिए । क्व्होलासोंथरका शिक्षा शाखा प्रमुख दीपक पौडेलका अनुसार कोरोना जोखिम कम भएकोले कम विद्यार्थी भएका र सहरबाट प्रत्यक्ष सम्पर्कमा नरहेका गाउँमा भदौ १ बाटै विद्यालय खुलेका हुन् ।

सुन्दरबजारका शिक्षा शाखा उपसचिव ठाकुरजी तिवारीका अनुसार भदौ २२ देखि नगरका विद्यालयमा भौतिक रूपमै सिकाइ सहजीकरण थालिएको छ । ‘जोखिम यथावत् छ । संक्रमण भने घटेको छ । न्यून विद्यार्थी भएका विद्यालय साविकझैं खुल्न थालेका छन् । धेरै विद्यार्थी भएका विद्यालयमा आलोपालो सहजीकरण गर्न भनेका छौं,’ उनले भने । राइनासमा भदौ २३ देखि विद्यालय खुलेका छन् । मध्यनेपाल नगरपालिकामा बुधबारदेखि विद्यालय खुल्दै छन् ।

प्याब्सन लमजुङका अध्यक्ष मेनबहादुर घलेका अनुसार संस्थागत विद्यालयले करिब ३ महिना अनलाइन कक्षा सञ्चालन गरे । त्यसपछि त्रैमासिक परीक्षासमेत सकाएको उनले बताए । ‘परीक्षा सकेपछि हामीले भौतिक उपस्थितिमै विद्यार्थीलाई सिकाइ सहजीकरण थालेका छौं । यसका लागि अभिभावकसँग अनलाइन बैठक राखेर अघि बढेका थियौं,’ उनले भने, ‘सोहीअनुसार प्रथम त्रैमासिक सक्यौं । अहिले हाम्रा विद्यार्थी विद्यालय पोसाकमै उपस्थित हुन थालेका छन् ।’ उनका अनुसार दैनिक ३ सत्रमा पठनपाठन भइरहेको छ ।

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख वीरबहादुर गुरुङले विद्यालयमा सिकाइ सहजीकरण थालिएको बताए । सरकारी निर्देशन अगावै विद्यालयमा भौतिक रूपमै सिकाइ सहजीकरण गरिएको जानकारीमा आएको उनले बताए । जिल्लामा ३ सय ३५ सामुदायिक र ३३ संस्थागत विद्यालय छन् ।

प्रकाशित : भाद्र ३०, २०७८ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?