१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

मध्यपहाडी लोकमार्गमा पहिरोले २५ करोडको क्षति

पर्वत — पहिरोका कारण पर्वत खण्डमा निर्माणाधीन मध्यपहाडी राजमार्गमा २५ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) आयोजना कार्यालयकाका अनुसार सडक खुलाउन मात्रै आठ दिनसम्ममा करिब ५ करोड रुपैयाँ खर्च भएको छ । 

मध्यपहाडी लोकमार्गमा पहिरोले २५ करोडको क्षति

दुई लेनको सडक कालोपत्र भएर हस्तान्तरण हुने समयमा भदौ १७ को राति खसेको पहिरोले साढे ८ किमि सडक क्षतविक्षत बनाएको हो । धौलागिरिकै लाइफलाइन सडकका रूपमा रहेको उक्त सडक खण्ड २०४७ सालमा चीन सरकारको सहयोगमा निर्माण भएको थियो । उतिबेला सिंगल लेनमा बनेको सडकमा पछिल्लो समय सवारी चाप बढेसँगै मध्यपहाडी लोकमार्ग आयोजनामा समेटिँदै दुई लेनमा बिस्तार गर्नेगरि डिजाइन भयो । डिजाइन अनुसार २०७५ सालमा पर्वत खण्डको करिव २५ किलोमिटर बिस्तार, स्तरोन्नती र कालोपत्रको जिम्मा लामा कन्स्ट्रक्सनले लिएको थियो । दुई वर्षमा सक्ने गरी काम भइरहेको भए पनि कोभिडका कारण भएको निषेधाज्ञामा काम रोकियो । सम्झौताअनुसार काम सम्पन्न भएको भए गत भदौ मसान्तभित्रै उक्त सडक मध्यपहाडी राजमार्ग (पुष्पलाल मार्ग) आयोजना कार्यालयलाई लामाले हस्तान्तरण गरिसक्नुपर्ने थियो ।

एक वर्ष थपिँदा चालु वर्ष पनि अपेक्षित काम हुन सकेन । पर्वतको २५ किलोमिटरमध्ये कास्कीको सिमाना नयाँपुलदेखि कुश्मा–८ चुवासम्मको सबैजसो खण्ड बिस्तार गरि कालोपत्र सकिएको थियो । कुश्मा–७ खरेहा तथा बजारक्षेत्रको समेत गरी करिब ३ किलोमिटर सडक मात्रै सक्न ६ महिना थप्न प्रस्ताव गरेको थियो । त्यसका लागि आयोजना कार्यालय पनि सकारात्मक थियो । ‘पहिरो नखसेको भए सबै काम सकेर मंसिरभित्रै हामीले हस्तान्तरण गर्ने प्लानिङमा थियौं,’ लामा कन्स्ट्रक्सनका प्रबन्धक गोबिन्द भुसाल भन्छन्, ‘अब उक्त सडक सबै पुनर्निर्माण गर्नुपर्ने छ । कति समय लाग्ने हो यकिन छैन ।’

आयोजना कार्यालयका अनुसार पुनर्निर्माण तथा अहिले बाटो खुलाउँदा भएको खर्चसमेत हिसाब गर्दा करिब २५ करोड रुपैयाँ बढी क्षति भएको छ । आयोजना कार्यालयका प्रमुख मेघराज मरासिनीका अनुसार क्षतिको पूर्ण विवरण आइसकेपछि सडक पुनर्निर्माण सुरु हुनेछ । ‘पहिरोले बिग्रिएको कालोपत्रको सबै विवरण प्राविधिक रूपमा आइसकेको छैन,’ उनले भने, ‘सडकलाई राम्रोसँग स्टेबल बनाउँदा २० देखि २५ करोड रुपैयाँ लाग्ने अनुमान छ । पहिरो फाल्दा कति खर्च भयो त्यो सबै विवरण आइसकेको छैन ।’ क्षति भएका संरचना निर्माणको जिम्मा सम्बन्धित व्यवसायीले नै लिनुपर्ने उनले बताए । व्यवसायीले निर्माण सकेका संरचनाको जिम्मा कार्यालयको नहुने आयोजनाले जनाएको छ । ‘जुन संरचना व्यवसायीले जिम्मा लिएको हुन्छ । ती बनाइएका संरचना भत्किएमा बनाउने जिम्मा पनि उसैको हो,’ उनले भने, ‘बाँकी संरचना बनाए समझदारीमा जिम्मा लगाउँछौं । नत्र छुट्टै ठेक्का निकाल्नुपर्ने हुन्छ ।’ सडक गत बिहीबार साँझदेखि एकतर्फी सञ्चालनमा आएको छ ।

प्रकाशित : भाद्र २८, २०७८ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?