कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

सिद्धार्थ राजमार्गको बिजोग

मर्मत अभावमा बढ्यो जोखिम
नाली व्यवस्थित नहुँदा सडकमै बग्छ खोला
प्रतीक्षा काफ्ले

कास्की — जता हेर्‍यो उतै खाल्डो छ । राजमार्गको अधिकांश खण्ड जीर्ण छ । राम्रो, चिल्लो र पिच सडक कस्तो हुन्छ भन्ने देख्नै मुस्किल भयो,’ पोखरा–स्याङ्जा चल्ने माइक्रो बस चालक दिलीप रानामगरले भने, ‘अब त कहाँनेर कति ठूलो खाल्डो छ ? कुन खाल्डोमा गाडी पास गर्न सकिँदैन भन्नेसमेत सबै थाहा भइसक्यो ।’
सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा सडकखण्ड पछिल्लोसमय खाल्डाखुल्डीमा परिणत भएको छ । ‘वर्षामा हिलो र हिउँदमा धुलो यहाँको विशेषता नै हो,’ चालक रानाले भने । उनले सडककै कारण सवारीसाधनको आयु पनि घट्दै गएको गुनासो गरे ।

सिद्धार्थ राजमार्गको बिजोग

राजमार्गको स्याङ्जा खण्ड कुभिन्डेदेखि राम्दीसम्म ८२ किमि पर्छ । सडकको अधिकांश भाग जोखिमपूर्ण रहेको पुतलीबजार नगरपालिका–१२ का राजेन्द्र शर्माले बताए । ‘राजमार्ग भन्नै नहुने अवस्था छ,’ उनले भने, ‘भल बग्ने पनि सडकमाथि नै, सवारी चलाउने पनि सडकमाथि नै ।’ उनले राजमार्गको पहिरोसमेत विगतका वर्षदेखि नपन्छाइएको बताए । सडकको पहिरो पन्छ्याउने र पानीलाई नालीबाटै बग्ने व्यवस्था मिलाए मात्र पनि सडकको केही अवस्था सुध्रिने शर्माले भने ।

‘खानेपानीको पाइप गाड्ने भनेको छ, बाटो चक्लाउने रे, विभिन्न बहना बनाउँदै सडक खन्दा खाल्डाखुल्डी मात्रै बनेका छन्,’ पोखरा पृथ्वीचोककी माया पोखरेल भन्छिन्, ‘छेउछेउ हिँड्न पनि डरमर्दो छ । सडक खाल्डाका कारण मोटरसाइकल, स्कुटर पेटीमै कुदाउँछन् ।’

खाल्डाकै कारण सवारी दुर्घटना पनि बढी हुने अर्का चालक बाबुराम पोखरेल बताउँछन् । ‘पानीले खाल्डो भरिएको हुन्छ, अनुमानका भरमा गाडी हाल्ने हो,’ उनले भने, ‘त्यसैले पनि जुनसुकै बेला दुर्घटनाको डर रहन्छ ।’ जोखिमसँगै गाडी मर्मतको खर्च पनि बढ्ने उनले बताए । स्थानीय तहले सडक विस्तारमा डोजर लगाए पनि ढुंगा, माटोको व्यवस्थापन नगर्ने गरेको स्थानीयको आरोप छ ।

राजमार्ग संघीय सरकारको भन्दै स्थानीय सरकार पन्छिने गरेको शर्माले बताए । जिल्ला पूर्वाधार विकास कार्यालय स्याङ्जाका प्रमुख लक्ष्मी भण्डारीले राजमार्गको तुलनामा भित्री सडक धेरै राम्रा बनेको बताए । ‘गाउँमा बरु अहिले सडक चिल्ला छन् । राजमार्गको कन्तविजोग छ,’ उनले भने ।

स्याङ्जाको भीरकोट नगरप्रमुख छायाराम खनालले राजमार्ग विस्तार गर्ने भनेर संघीय सरकारले पटकपटक सम्बोधन गरे पनि अहिलेसम्म सडकको अवस्था जस्ताको तस्तै रहेको बताए । उनले भने, ‘स्थानीय तहसँग बजेट छैन, संघले सुन्दैन ।’

राजमार्गमा पछिल्लो समय दुर्घटना पनि बढी हुन थालेको उनको भनाइ छ । ‘राजमार्गको यात्रामा निकै जोखिम छ,’ उनले थपे ।

प्रकाशित : भाद्र २६, २०७८ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?